अर्थ

स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नति गरिने

रसुवा - रसुवागढी नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडकको स्तरोन्नति गरिने भएको छ। चीन सरकारको सहयोगमा सडकको स्तरोन्नति गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। सडक सीमाभित्र रहेका घर टहरा हटाउने, विद्युत्का पोल सार्ने लगायतका काम भइरहेको छ।

यो काम सकिएपछि वैशाख तेस्रो साताबाट स्तरोन्नति सुरु गरिने योजना प्रमुख सुबोधकुमार देवकोटाले बताए। ‘यो सडक चीन सरकारको सहयोगमा चिनियाँ टोलीले नै स्तरोन्नति गर्नेछ’, उनले भने, ‘हामीले यसमा समन्वय मात्रै गर्र्छौं।’ यो सडक खण्डको दूरी १६ किलोमिटर छ। सडक साँघुरो तथा जटिल भएकाले स्तरोन्नतिको काम गर्न लागिएको हो। जटिल भौगोलिक संरचना भएकाले यो सडक स्तरोन्नति गर्न चीनले तीन वर्षको समय मागेको छ। चीनले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सडक विभागले स्वीकृत गरिसकेको छ।

सडक साँघुरो तथा जटिल भएकाले स्तरोन्नतिको काम गर्न लागिएको हो।

सोही सडकको मैलुङ–स्याफ्रु खण्डको स्तरोन्नति भने सुस्त भएको छ। गएको पुसबाट स्तरोन्नतिको काम सुरु भएको भए पनि कामले गति लिन सकेको छैन। यो सडकको सात महिनाअघि ट्र्याक खोलिएको थियो। ‘सडकमा ठूलाठूला ढुङ्गा खसेका कारण ब्लास्टिङ गरिरहेका छौं’, देवकोटाले भने, ‘धेरै ठाउँमा ब्लास्टिङ गर्नुपर्दा ढिलाइ भएको छ।’ सडक स्तरोन्नतिको काम जारी रहेकाले कहिलेसम्ममा सडक सञ्चालन हुन्छ भन्न नसकिने उनको भनाइ छ। गल्छीदेखि रसुवागढीसम्म तीन चरणमा काम हुँदै छ। गल्छीदेखि मैलुङसम्म, मैलुङदेखि स्याफ्रुबेंसीसम्म र स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म छुट्टाछुट्टै काम भइरहेको छ।

यसअघि वर्षाको समयमा सडक सञ्चालन गर्न रसुवागढी जलविद्युत् आयोजनाले पहिरो पन्छाउने काम गरेको थियो। स्तरोन्नतिपछि यो सडक दुई लेनको हुनेछ। सडक स्तरोन्नति भएपछि व्यापारिक कारोबारमा सहज हुने अपेक्षा गरिएको छ। हाल चीनसँगको स्थल मार्ग भएरहुने कारोबार रसुवागढी नाकाबाट मात्रै भइरहेको छ।

प्रकाशित: १९ माघ २०७५ ०२:२१ शनिबार

रसुवागढी नाका स्याफ्रुबेंसी–रसुवागढी_सडक चीन_सरकार