अर्थ

इलाममा लगानी सम्मेलन हुने

इलाम - इलाम नगरपालिकाले आउँदो पाैष २० गते शुक्रबार सदरमुकाममा लगानी सम्मेलन आयोजना गर्दैछ। आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजन गरिने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

स्थानीयको आम्दानी बढाउँदै समृद्धिको गन्तव्यमा पुग्न नगरले देशभरका मुख्य लगानीकर्ताको भेला आयोजना गर्न लागेको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख महेश बस्नेतले लगानी सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, संघीय सरकार र प्रदेश सरकारका मन्त्री, राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरूलगायतको समेत सहभागिता रहने जानकारी दिए।

सम्मेलनमा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनी, जलविद्युत् लगानीकर्ता, निजी विद्यालय सञ्चालक, उद्योगी–व्यवसायीलगायतको सहभागिता रहने प्रमुख बस्नेतले बताए। लगानी सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ् कमर्स, नेपाल उद्योग परिसंघ, गैरआवसीय नेपालीको संस्था, होटल महासंघ, नेपाल पत्रकार महासंघलगायत संघ–संस्थाका प्रतिनिधिसमेत सहभागी हुनेछन्। 

‘इलाम नगरपालिकामा लगानीका क्षेत्र पहिचान गर्दै देशभरका ठूला उद्योगीलाई नगरभित्र विभिन्न क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्न लगानीकर्ताको सम्मेलन आयोजना गर्न लागिएको हो,’ प्रमुख बस्नेतले भने, ‘लगानीकर्ताले यहाँ गरेको लगानीले इलामबासीको जीवनस्तर उकास्दै नगरपालिकाको समृद्धिमा ठूलो भरथेग गर्ने आशा छ।’

मेयर बस्नेतका अनुसार सदरमुकामको गौतमबुद्ध सभागृहमा सम्मेलन उद्घाटनपछि विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन्। केही व्यक्तित्वले सम्बोधन गर्नेछन्। ‘त्यसपछि एउटा निष्कर्षमा पुगेर इलामका विभिन्न क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्ने तयारी छ। सम्मेलनबाट जे निष्कर्ष आउँछ, त्यसैमा आधारित रहेर थप कार्यक्रम अघि बढ्नेछन्,’ उनले भने, ‘सम्मेलनमा प्रस्तुत गर्नेगरी इलाम नगरपालिकाका कम्तीमा ५ वटा लगानी क्षेत्र निर्धारण गरेका छौं।’ कृषिमा आधारित उद्योग–व्यवसाय, पर्यटन, स्वास्थ्य, शिक्षा र जडीबुटीको क्षेत्रमा लगानी गर्ने इलाममा पर्याप्त आधार रहेको उनले जनाए।

प्रधानमन्त्रीको अभिनन्दन, कांग्रेसद्वारा विरोध
इलाम नगरपालिकाले प्रधानमन्त्री ओलीको अभिनन्दन गर्ने तयारी गरेको छ। सम्मेलन उद्घाटन अवसरमा प्रधानमन्त्री ओलीलाई इलाममा अभिनन्दन गरिने नगरले जनाएको छ। नगरले प्रधानमन्त्री ओलीले स्वाधीनता, राष्ट्रियता र समृद्धिपथमा गरेको योगदानको कदर गर्दै उनलाई अभिनन्दन गर्न लागिएको प्रमुख बस्नेतले बताए। ‘हामीले ५ विषयलाई आधार बनाएर प्रम ओलीलाई अभिनन्दन गर्न लागेका हौं,’ बस्नेतले भने, ‘संविधान निर्माण र जारी गर्नमा निर्वाह गरेको भूमिका, नेपाली राजनीतिक इतिहासमा गरेको योगदान, यसअघि प्रधानमन्त्री भएका बेला भारतले गरेको नाकाबन्दीमा बचाएको राष्ट्रियता, चीनसँगको नाका खुला गरेर नाकाबन्दी युगको अन्त्य गरेको र समृद्धिपथमा देशलाई डोर्‍याएको योगदानलाई कदर गर्न खोजिएको हो।’

तर, जिल्लास्थित नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिनन्दनप्रति विरोध जनाएको छ। कुनै व्यक्तिको निहीत राजनीतिक स्वार्थ पूरा गर्न मात्रै प्रमको अभिनन्दन गर्न लागिएको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ। पार्टी जिल्ला सभापति हिमालय कर्माचार्यले हस्ताक्षर गरेको विज्ञप्तिमा खस्कँदो शान्ति सुरक्षा, अनियन्त्रित हत्या, बलात्कार, तस्करी र संस्थागत भ्रष्टाचार वृद्धि भएका बेला प्रधानमन्त्रीलाई अभिनन्दन गर्नुले जिल्लाबासीको भावना कदर नहुने उल्लेख छ।

प्रकाशित: १८ पुस २०७५ ११:०१ बुधबार

इलाम_नगरपालिका लगानी_सम्मेलन