अर्थ

‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’

काठमाडौं - भृकुटीमण्डपमा शुक्रबारदेखि जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ। ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूलनाराका साथ उक्त राष्ट्रिय औद्योगिक प्रदर्शनी भइरहेको छ। फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुका सबै उत्कृष्ट उत्पादन एउटै छानामुनि व्यवस्थापन गरेको जनाएको छ। 

आयोजकले भव्य पेभिलियनसहित एक सय ९१ स्टल प्रतिस्पर्धात्मक रुपमा राखेको छ। प्रदर्शनी अवधिभर उपभोक्ताले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका वस्तुहरु अवलोकन गरी मूल्यांकन एवं तुलनात्मक रुपमा छनोट गरी सुपथ मूल्यमा वस्तुहरु खरिद गर्ने अवसर पाउनेछन्।  यस औद्योगिक प्रदर्शनीमा उद्योगले प्रयोग गर्ने कच्चा पदार्थहरु समेत प्रदर्शनीमा राखिने हुनाले उपभोक्तालाई स्वदेशी उत्पादनको गुणस्तरप्रति विश्वास दिलाउनसमेत प्रत्यक्ष सहयोग पुग्ने आयोजकको विश्वास छ। 

प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ता, चप्पल र वस्तुहरुमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा एक सय ४० स्टल राखिएको छ। प्रदर्शनीका सन्दर्भमा व्यवसायीसँग नागरिकले गरेको कुराकानी :

स्वदेशी जुत्तामा आत्मानिर्भर
कृष्ण कुमार फुयाल, अध्यक्ष
फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल 

यो प्रदर्शनी भनेको मार्केटिङ तथा ब्रान्डिङका लागि गरिएको मेला हो। मेलामा स्वदेशी वस्तुको अभिरुचि राख्ने वर्गको उल्लेख्य मात्रामा सहभागी छ। मेलामा उपभोक्ताले सकारात्मक सुझावसहित उत्कृष्ट जुत्ता चप्पल खरिद गरिरहेका छन्।प्रदर्शनीमार्फत स्वदेशी जुत्ता चप्पलमा देशलाई आत्मनिर्भर गराउने व्यवसायीको मुख्य उद्देश्य हो। सीमानाकाबाट आयातित जुत्ता चप्पल निरुत्साहित गर्दै स्वदेशी जुत्ता चप्पललाई आत्मनिर्भर गराउने उद्देश्यका साथ औद्योगिक प्रदर्शनी आयोजना गरिएको हो। 

बजारमा विभिन्न देशमा उत्पादन गरिएका धेरै उद्योग तथा ब्रान्डका जुत्ता चप्पल छन् तर, कुन नामको जुत्ता स्वदेशी तथा कुन विदेशी हो भन्ने उपभोक्तालाई थाहा हुँदैन। यसकारण स्वदेशी ब्रान्ड छुट्याउनका लागि पनि मेलाले सहयोग पुग्ने छ। 

व्यवसायीले नेपाली उपभोक्ताको क्रय शक्तिको आधारमा उत्पादन गर्ने हो। दूरदराजमा रहेका उपभोक्तालाई पनि प्राथमिकता दिने हो। सबै वर्गलाई लक्षित गरेर जुत्ता चप्पल उत्पादन गरेर नेपाललाई आत्मानिर्भर बनाउने हो। मेरो ब्रान्डभन्दा पनि समग्र व्यवसायी र ब्रान्डका लागि काम गरिरहेको छ। फुटवेयर क्षेत्रमा देखिएका समस्या समाधानको विकल्पको अभियान पनि हो। निर्वाचनमा राजनीतिक नेतृत्वले गरेका प्रतिबद्धता र दायित्व पनि पूरा गर्ने र गराउने हो। यो क्षेत्रबाट समस्याको समाधान गर्ने हो। 

इटालियन टेक्नोलोजीको गुणस्तरीय उत्पादन 
डिल्ली प्रसाद सुवेदी,सेल्स म्यानेजर 
एक्सन पोलिमर्स प्रालि

काठमाडौं र नेपालको फुटवयेर इन्डस्ट्रीमै पहिलो पटक इटालियन टेक्नोलोजी प्रयोग गरी मिलानो ब्रान्डका जुत्ताहरु बजारमा ल्याएका छौं। एक्सन पोलिमर्स प्रालिद्वारा उत्पादित मिलानो ब्रान्डका उत्पादन ७७ जिल्लामा उपल्बध छन्। 
हामीले नेपालको फुटवयेर इन्डस्ट्रीमा कम समयमा आफ्नो पहिचान स्थापित गर्न सफल भएका छौं। करिब एक सयभन्दा बढी भेराइटीका आकर्षक जुत्ता तथा चप्पल उत्पादन गर्दै आएका छौं। 

मिलानोका उत्पादन बच्चादेखि जेष्ठ नागरिकसम्मका व्यक्तिहरुलाई समेत उपयुक्त हुने साइज र डिजाइनमा कम्पनीले उपलब्ध गराएको छ। कम्पनीले नेपालमै पहिलो पटक महिला र पुरुष दुवैका लागि पियु कन्भर्स र पियु सोलका उत्पादनहरु बजारमा ल्याएको छ।  

अधिकतम उपभोक्ताको रुचि र चाहनालाई मध्यनजर गर्दै क्वालिटी र कम्फर्टेबल बनाउन कम्पनीले ध्यान दिएको छ। विश्वविख्यात इटालियन टेक्नोलोजी नेपाल भिœयाएका छौं। नेपाली फुटवयेर इन्डस्ट्रीमा चाइनिज वा इन्डियन टेक्नोलोजीको प्रयोग बढी छ। जसले गुणस्तरीय र आकर्षक डिजाइनमा उत्पादन गर्न मद्दत गर्छ। विश्व स्तरीय डिजाइन र उत्कृष्ट नमुना ल्याउने श्रेय पनि उक्त ब्रान्ड मिलानोले गरेको छ। जसलाई उपभोक्ताले सहजै रुचाएका छन्।
उत्कृष्ट नमुना र आकर्षक भेराइटीका उत्पादन गर्नसक्ने कम्पनीको दैनिक सात हजार पियर उत्पादन क्षमता रहेको छ। अलग पहिचान बनाउने उद्देश्यले मिलानोका प्रोडक्टलाई अझै बलियो र विस्वसनीय बनाउँदै लैजाने तयारीमा छौं। 
गुणस्तरयुक्त कच्चा पदार्थ प्रयोग गरेर आफ्नो माइलेज लाखौं उपभोक्ताको पाइलामा पुर्‍याउने विस्वास राखेका छौं। नवलपरासी जिल्ला रामग्राम नगरपालिकास्थित फ्याक्ट्रीबाट उत्पादन गरिरहेका छौं। 

क्वालिटी र प्राइजमा मन जितेका छौं 
इराज श्रेष्ठ 
मार्केटिङ म्यानेजर, गोल्ड स्टार 

यस पटकको मेला मार्केटिङ र सेल्सको कम्बाइन हो। हरेक वर्षको मेलामा गोल्ड स्टार कम्पनीले सहयोग गर्दै आएको छ। सेल्स पहिलो प्रायोरिटी होइन। हामी अझ उपभोक्तामाझ नजिक हुने अभियानमा छौं। 
गोल्ड स्टारको आफ्नै मन्त्र छ। बेस्ट ए वान क्वालिटी अफरटेबल प्राइज सुज हो। यसकारण उपभोक्ताले गोल्ड स्टारका उत्पादन सहजै किन्ने गरेको पाइन्छ। गोल्डस्टारको उत्पादन पहलिेदेखि नै कारोबार राम्रो छ। मेड इन नेपाल गोल्ड स्टारले उपाधि जस्तै पाएको छ। 
हामीले कसैलाई प्रतिस्पर्धिको रुपमा हेरेका छैनौं। गोल्ड स्टारको केही मोडल कपी भएको पाइएको छ। यसमा कम्पनीले आपत्ति जनाएको छैन। किनकी स्वदेशी जुत्ताले बजार पाउनुपर्छ भन्ने मान्यताका कारण कुनै उद्योगीमाथि आरोप समेत लगाएका छैनौं। 
भारतमा आफ्नै फ्याक्ट्री र टिम छ। हाम्रा उपभोक्ताहरु भारतमा पनि मेड इन नेपालको जुत्ता खोजिरहेका हुन्छन्। हामी भारतमा टप टेन जुत्ता उद्योगमा पर्छौं। नेपालमा ३५ र भारतमा ६५ प्रतिशत गोल्ड स्टारको व्यापार भइरहेको छ। 

योङ जेनेरेसनका लागि रन सुज 
रुद्र न्यौपाने  
अध्यक्ष, रन सुज

राज्यको नीति भनेको समृद्ध नेपाल, सुखी नेपाली रहेको छ। यस नीतिमा छाला जुत्ता चप्पल उत्पादन क्षेत्रले नेपालको अर्थतन्त्रमा आत्मनिर्भरतालाई आत्मसाथ गरेको छ। 

अहिलेको सन्दर्भमा यस्तै भएको छ। नेपाली उत्पादन आमउपभोक्ताको विश्वास कायम गरेर ब्रान्ड स्थापित गरेका छौं। यसका लागि क्वालिटीलाई प्रमोसन गर्न यस पटकको मेला आयोजना गरेका छौं। 
नेपालमा उत्पादन भएका जुत्ता चप्पलको डिजाइन, फेसन, मोडल, ब्रिफिङ गर्ने थलो हो मेला। उपभोक्ता र व्यवसायी एकै ठाउँमा भेला भएका कारण मेला फलदायी भएको छ। 

रन सुज युवा पुस्ताका लागि तयार गरिएको छाला जुत्ता हो। छालाको कालो जुत्ता मात्रै आइरहेका बेला युवा पुस्तालाई लक्षित गरेर रन सुज बजारमा ल्याइएको हो। योङ जेनेरेसनका लागि रन सुज उपयुक्त छ। क्वालिटीमा सात वर्षदेखि प्रतिबद्ध छौं।  

जुत्ताको मोडलबारे तालिम गर्नेछौं 
महासचिव तथा मेला संयोजक 
टाकुरा ब्रान्ड, अध्यक्ष तथा म्यानेजर  
नवराज गौतम 

यस वर्षको मेला प्रदर्शनमा केन्द्रित छौं। नेपाली बजारमा गुणस्तरीय स्वदेशी जुत्ता उत्पादनलाई पहिलो प्राथमिकतामा राखेका छौं। जुत्ता व्यवसायीको अवस्था विगतमाभन्दा अहिले गुणात्मक रुपमा सुदृढ भइसकेको छ। यहि अनुरुप व्यवसायीले थप लगानी गरिरहेको अवस्था छ। 

मेलामा ४० वटा ब्रान्डका छाला जुत्ता चप्पल उपलब्ध छन्। यसमा फरक फरक विशेषता र गुणस्तर रहेको छ। हामीसँग भएका केही कमी कमजोरीलाई सुधारेर नयाँ ढंगले व्यवसाय अगाडि बढाउँदै लगेका छौं। यसका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग समेत समन्वय गरेर नयाँ जुत्ताको मोडलबारे तालिम आयोजना गर्दैछौं। यसका लागि विदेशबाट विशेषज्ञ ल्याएर तालिम गर्ने तयारीमा छौं। 

हिमाली गुणस्तरीय उत्पादन दिन्छौं 
शंकर कुमार गौतम
निर्देशक
हिमाली टाइगर सुज एन्ड स्लिपर प्रालि

स्वदेशी जुत्ता तथा चप्पल उद्योगमा हाम्रो कम्पनी तीन वर्षदेखि बजारमा सक्रिय छ। देशका मुख्य सहर काठमाडौं, बुटवल, वीरगन्ज, नेपालगञ्ज लगायत क्षेत्रमा कारोबार सुरुवाती चरणदेखि नै राम्रो छ। मेलामा भने पहिलो पटक हामीले प्रदर्शनी गरेका छौं। कारोबारभन्दा पनि ब्रान्डिङका लागि उपस्थित भएका छौं। 

काठमाडौंको तार्केश्वर नगरपालिकामा कम्पनीको उद्योग सञ्चालन छ। कम्पनीले हाइफाइभन्दा पनि गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिएका छौं। कम्पनीमा एक सय नेपाली कालीगढहरु नै अनुवन्धित रहेको छ। मेलामा सेलभन्दा पनि स्पेसल ब्रान्डिङका लागि स्टल लिएका हौं। बजारमा हिमाली टाइगर कम्पनीको इभा, पियु र हवाइस नामका प्रडक्ट रहेको छ। सर्वसाधरणका लागि दुई २० देखि तीन सय ५० रुपैयाँसम्मको प्रोडक्ट छ। मेलामा सोमबारसम्म दुई हजार जोर बिक्री गरिसकेका छौं।

कम्पनीको नयाँ योजना भनेको एक्सिस जुत्ता सार्वजनिक गर्ने हो। कम्पनीले छालाको नभएर मेन्योलको उत्पादन गर्छ। कम्पनीले चप्पल बनाउनका लागि चीन र जापानबाट केमिकल र ‘र मेटिरियल’ ल्याउनु पर्ने अवस्था छ। 

१२ मोडलको जुत्ता सार्वजनिक 
चिनकाजि श्रेष्ठ
अध्यक्ष तथा एमडी
ब्लाक हर्स सुज

बजारमा हाम्रो छुट्टै प्रभाव छ। हामी फरक विशेषताका साथ बजारमा आएका थियौं। अहिले उपभोक्ताको विश्वास झन बढेको छ। यसकारण यस पटकको मेलामा थप १२ वटा मोडलका जुत्ता सार्वजनिक गरेका छौं। विशेषगरी ब्रान्डिङकै लागि नयाँ मोडल सार्वजनिक गरेका हौं। उपभोक्तालाई ब्ल्याक हर्स सुजको क्वालिटी, यसको मोडल र मूल्यका विषयमा जानकारी दिन फोकस गरेका छौं। 

मेलालाई व्यापारभन्दा पनि विज्ञापनका रुपमा लिएका छौं। यो सस्तो मेला र स्टक क्लियरेन्स मेला होइन। मात्रै स्वदेशी जुत्ताको गुणस्तरीय ब्रान्डका लागि मेला आयोजना गरिएको हो। हामी विगत १४ वर्षदेखि नेपाली बजारमा सक्रिय छौं।

प्रकाशित: १७ पुस २०७५ ०४:१२ मंगलबार

औद्योगिक_प्रदर्शनी_मेला समृद्धि छालाजन्य_वस्तु स्वदेशी_उत्पादन