अर्थ

‘वैदेशिक ऋण लिएर विकास गर्ने पक्षमा छैन’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक ऋण लिएर विकास गर्ने पक्षमा आफू नरहेको बताएका छन्। विदेशी दाताले निब्र्याजी दिए पनि ऋण लिन नहुने उनले बताए।

‘ऋण लिएको केही वर्षमा डलरको मूल्य बढेर तिर्ने बेलामा साँवाभन्दा ब्याजमा बढी रकम जान्छ,’ शुक्रबार राष्ट्रिय योजना आयोगको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दिनेलाई सित्तैमा दिएजस्तो, लिनेलाई चर्को परिरहेको छ। त्यसैले अब निब्र्याजी भए पनि वैदेशिक ऋण लिनुहुन्न भन्ने पक्षमा छु।’

प्रधानमन्त्री ओलीले नेपाललाई विश्वकै सबैभन्दा तीव्र गतिमा विकसित हुने मुलुकको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए। ‘त्यो सामथ्र्य राख्ने मुलुकको हैसियतमा हामी पर्छौं। हामीसँग स्रोत–साधन पर्याप्त छ। अन्य मुलुकले गरेको विकासको अनुभव पनि हामीसँग छ,’ उनले भने।

आफैंले बनाएको योजना लिएर मुलुक समृद्ध बनाउने उनको भनाइ छ। ‘हामी यो वर्ष अल्मलियौं, किनभने अरुले बनाएको योजनामा बाध्यात्मक रुपमा हिँड्नुपरेको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘अब हामी ‘यस्तो पो मुलुक’ भन्ने गरी विकास गर्न तीनवटा योजना एकैसाथ लिएर आउँदैछौं।’

आयोगका अध्यक्षसमेत रहेका ओलीले  शान्त, सुरक्षित र सभ्यताले युक्त मुलुक बनाउने खाका लिएर आएको बताउँदै १५औं आवधिक योजना बहुआयामिक विकास बोकेर आएकाले मुलुकका निम्ति ‘टर्निङ प्वाइन्ट’ हुने विश्वास व्यक्त गरे।
सबै क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्न आग्रह गर्दै उनले भने, ‘हातले खाना खाने गर्नुभएको छ भने आजैदेखि चम्चा प्रयोग गरौं। सूचना सञ्चारको क्षेत्रमा दुनियाँमा क्रान्ति भइरहेको छ। अब हामी छेउमा उभिएर हेर्ने होइन, हाम फालेपछिमात्र अरुभन्दा अगाडि पुग्न सक्छौं।’

आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आयोगले तयार गरेका विभिन्न योजनाका खाकामाथि रचनात्मक सुझाव दिन सरोकारवालासँग आग्रह गरे। आयोगले १५औं योजना, दिगो विकास लक्ष्यमैत्री कार्यक्रमको खाका र २५ वर्षे दीर्घकालीन सोचपत्र निर्माण गरिरहेको जानकारी दिए।

बैठकमा उपाध्यक्ष कँडेलले नेपालको दीर्घकालीन सोच र १५औं योजनाको तयारी अवस्थाबारे प्रस्तुति राखेका थिए। त्यसैगरी सदस्य कृष्णप्रसाद ओलीले दिगो विकास लक्ष्य : आवश्यकता, पहिचान, लागत अनुगमन तथा वित्तीय रणनीति र अर्का सदस्य रामकुमार फुयालले राष्ट्रिय तथ्यगत विवरणको तयारी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: २३ मंसिर २०७५ ०८:३२ आइतबार

प्रधानमन्त्री वैदेशिक_ऋण