अर्थ

सहकारीमार्फत समृद्धि सम्भव

काठमाडौं – सहकारीका सरोकारवालाले सहकारीमार्फत मुलुकको आर्थिक समृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। सहकारीको माध्यमबाट विचौलियाको अन्त्य गर्दै विपन्न समुदाय र उपभोक्तालाई राहात दिनुपर्ने बताए।

राष्ट्रिय सहकारी विकास बोर्डले सञ्चालकलाई विदाई गर्न सोमबार आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताले सहकारीले गरिबी न्यूनिकरण गर्दै मुलुकको समृद्धि हुने बताए।

कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीको विकासमा राज्यले पनि ध्यान दिनुपर्नेमा जोड दिए। ‘बोर्डले सहकारीको नीति निर्माणमा योगदान गर्दै आएको छ,’ पौडेलले भने, ‘सबै क्षेत्र मिलेर सहकारीको विकास र विस्तारमा सघाउनु पर्छ।’ मुलुकको आर्थिक रुपान्त्रणका लागि सहकारी माध्यम बन्ने पौडेलको धारणा थियो।

उक्त कार्यक्रममा सहकारी अभियान्ता उमा दाहालले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्नुपर्ने बताइन्। ‘नाफा व्यक्तिले खाने र घाटा संस्थालाई देखाउने चलन पनि छ,’ दाहालले भनिन्, ‘सहकारी क्षेत्रमा देखिएको व्यक्तिवादी प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ।’ दाहालले सहकारीले बजार र उपभोक्ताको दुरी घटाउन टेवा पु¥याएको बताइन्। ‘सहकारीले विचौलियाको अन्त्य गर्न सघाउनु पर्छ,’ उनले भनिन्।

कार्यक्रममा सेवा निवृत्त हुन लागेका बोर्डका निर्देशक शिव घिमिरेले सहकारी विकास बोर्ड राजनीतिक चपेटामा परेको बताए। सहकारी अभियानले ठूलो अपेक्षा गरे पनि अपेक्षित काम गर्न नसकेको बताए। बोर्डले निर्देशक घिमिरेलगायतका सञ्चालकको विदाई गरेको थियो।

प्रकाशित: १८ मंसिर २०७५ ०६:५० मंगलबार

सहकारी आर्थिक_समृद्धि विपन्न_समुदाय