अर्थ

सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन प्रस्ताव

काठमाडौं – भारतबाट पेट्रोलियम पदार्थ ल्याउन मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माणले तीव्रता पाइरहेका बेला नेपाल आयल निगमले अर्को पाइपलाइन परियोजनाको प्रस्ताव गरेको छ। अहिले निर्माणाधीन पाइपलाइनले मुलुकमा खपत हुने पेट्रोलियम पदार्थको पूरै माग धान्न नसक्ने भएपछि निगमले प्रदेश नं १ लाई लक्ष्य गरेर अर्को पाइपलाइन परियोजना निर्माण गर्ने तयारी गरेको हो।

भारतको सिलगुडीबाट झापासम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्न इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग छलफल सुरु भएको नेपाल आयल निगमले जनाएको छ। प्रदेश नं १ मा पेट्रोलियम पदार्थ आपूर्ति गर्न सिलगुडीबाट पाइपलाइन ल्याउँदा सस्तो पर्ने भएकाले आइओसीलाई प्रस्ताव गरेको निगमले जनाएको छ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार प्रारम्भिक अध्ययनमा सिलगुडीदेखि झापासम्म पाइपलाइन निर्माण गर्न उपयुक्त देखिएको छ। ‘सिलगुडीदेखि झापासम्म पेट्रोलियम पाइप लाइन निर्माणबारे आइओसीसँग छलफल सुरु गरेका छौं,’ भट्टराईले भने, ‘छोटो दुरी पर्ने भएकाले ढुवानी खर्च बचत हुन्छ। यो परियोजना उपयुक्त देखिएको छ।’

निगमका अनुसार सिलगुडीदेखि झापासम्म ४० किलोमिटर छ। सिलगुडीदेखि नेपालको बोर्डरसम्म ३२ किलोमिटर र बोर्डरबाट झापाको चारआली डिपोसम्म आठ किलोमिटर छ। पाइपलाइन परियोजना निर्माण गर्न प्रतिकिलोमिटर करिब आठ करोड रुपैयाँ खर्च लाग्छ। यसलाई आधार बन्दा यो परियोजना निर्माण गर्न सवा तीन अर्ब रुपैयाँ खर्च लाग्नेछ।

निगमले अहिले पनि प्रदेश नं १ का लागि चाहिने पेट्रोलियम पदार्थ भारतको बरौनी र सिलगुडीबाट ढुवानी गर्दै आएको छ। बरौनीबाट इन्धन ढुवानी गरेर ल्याउँदा निकै महँगो पर्छ। बरौनीभन्दा सिलगुडीबाट सस्तो पर्ने भएकाले सिलगुडीबाट ढुवानी बढाउँदै गएको छ।

रक्सौल–अमलेखगन्ज पाइपलाइनले वीरगन्ज, जनकपुर, अमलेखगन्ज, काठमाडौं, पोखरा, चितवन लगायत क्षेत्रको माग  धान्छ। निर्माणाधीन रक्सौल–अमलेखगन्ज पाइपलाइनबाट ल्याएको इन्धन प्रदेश नं १ मा नजाने भएकाले छुट्टै पाइलाइन आवश्यक भएको निगमले जनाएको छ। पूर्वका लागि बरौनी र सिलगुडीबाट इन्धन ढुवानी गरेकाले सोही क्षेत्रबाट पाइपलाइन परियोजना अघि बढाउन लागेको हो।

मुलुकमा खपत हुने कुल इन्धनको १६ प्रतिशत प्रदेश १ मा खपत हुने भट्टराईले बताए। ‘पूर्वका लागि तेल ढुवानी गर्न नयाँ पाइपलाइन परियोजना आवश्यक छ,’ भट्टराईले भने, ‘यो परियोजनामा आइओसी पनि सकारात्मक देखिएको छ।’ निगमले झापामा इन्धन भण्डारणस्थल बनाउन जग्गा किनिसकेको छ। ‘रणनीतिक रुपमा पनि यो पाइपलाइन महत्वपूर्ण छ,’ उनले भने, ‘सरकारसँग छलफल गरेर कार्यान्वयनका लागि पहल गर्छौं।’

इन्धन ढुवानी खर्च कटौतीका लागि सिलगुडीदेखि झापासम्म नयाँ पाइपलाइन आवश्यक रहेको रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना संयोजक भानुभक्त खनालले बताए। ‘यो रुट छोटो र सस्तो पर्छ,’ खनालले भने।
पहिलो चरणको रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण सम्पन्न भएपछि यो परियोजना अघि बढाउने निगमको तयारी छ। खनालका अनुसार रक्सौल–अमलेखगन्ज परियोजनाको साढे २२ किलोमिटर पाइप बिछ्याउने काम सम्पन्न भएको छ। ‘अब डेढ महिनामा पर्सा वन्यजन्तु आरक्षको क्षेत्रमा पर्नेबाहेक सबै पाइप बिछ्याउने काम सम्पन्न हुन्छ,’ खनालले भने।

करिब दुई दशकयता छलफलमा रहेको मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माण सुरु भएको सात महिनामा आधाभन्दा धेरै काम सम्पन्न भएको छ। अमलेखगन्जसम्म निर्माण सम्पन्न गरेपछि उक्त पाइपलाइन चितवनसम्म विस्तार गर्ने तयारी छ। त्यसैगरी, खाना पकाउने(एलपी) ग्यास र प्राकृतिक ग्यास पनि पाइपबाट ल्याउने तयारी अघि बढेको छ।

पाइपलाइनबाट पेट्रोलियम ढुवानी गर्दा लागत सस्तो हुने, चोरी, चुहावट र मिसावट, तेल ट्यांकर हिँड्दाको ट्राफिक जाम जस्ता समस्या हल हुन्छ। अहिले करिब १९ सय ट्यांकरले आइओसीका विभिन्न डिपोबाट तेल ढुवानी गर्दै आएका छन्। पाइपलाइन बनेपछि आइओसी पुगेर ट्यांकरले ढुवानी गर्दा लाग्ने लागतसहित वातावरण प्रदूषणसमेत घट्छ। ढुवानीको लागि प्रयोग हुने डिजेल, ढुवानी भाडा लगायतका अन्य खर्च बचत हुन्छ।

प्रकाशित: ११ मंसिर २०७५ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App