अर्थ

‘हाइटेक’ प्रविधि प्रयोग गरेर पेट्रोल पम्पद्वारा ठगी

काठमाडौं - पेट्रोल पम्प सञ्चालकले उच्च प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको भेटिएको छ। काठमाडौं सानो भ-याङको बंगलामुखी आयल स्टोर्सले ‘हाइटेक’ प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको हो।

अनुगमनको क्रममा डिजिटल पम्पको मदरबोर्डको सफ्टवेयरमा तेल कम दिने ‘प्रोग्राम इन्स्टल’ गरेर कम तेल दिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘हाइटेक प्रविधि प्रयोग गरेर पेट्रोलियम पदार्थमा उपभोक्ता ठगेको नयाँ तथ्य भेटिएको छ,’ पुडासैनीले भने, ‘३–४ प्रतिशतसम्म कम तेल दिएको रहेछ।’

यसअघि पम्पभित्रै चिप्स प्रयोग गरेर तेल चोरी गरेपछि तीन वर्षअघि प्रहरीको अपरेसनमा एक दर्जनभन्दा बढी पेट्रोल पम्प सञ्चालक पक्राउ परेका थिए।

तेल ठगीमा प्रयोग गरेको यो प्रविधि पहिलोपटक भेटिएको पुडासैनीले बताए । ‘डिजिटल पम्पको मदरबोर्डमै प्रयोग गरेकाले पत्ता लगाउन निकै हम्मे प-यो,’ उनले भने, ‘तेल ठगी गर्ने नयाँ तरिका पत्ता लाग्यो ।’ यही प्रविधि प्रयोग गरेर केही दिनअघि बाराका तीन पम्पले उपभोक्ता ठगेको भेटिएको पुडासैनीले बताए।

पम्प सञ्चालकले नयाँ प्रविधि प्रयोग गरेको सूचना आए पनि प्रमाण जुटाउन निकै समय लागेको पुडासैनीले बताए । यो प्रविधिमा पम्पको नोजलले सवारी साधनमा तेल भर्न सुरु गरेर एकपटक रोक्नासाथ कम परिमाण तेल जाने सफ्टवेयर इन्स्टल गरेको पुडासैनीले बताए । ‘पम्पको नोजल रन गरेर स्टप गरी फेरि तेल भर्दा कम जान्छ,’ उनले भने, ‘पावर अन गर्दा करेक्ट मोड । पुनः अन गर्दा इनकरेक्ट हुने सफ्टवेयर प्रयोग गरेको पाइएको छ।’

तेल ठगीमा नयाँ प्रविधि पहिलोपटक फेला पारेकाले अन्य पम्पले पनि यही प्रविधिबाट ठगिरहेको हुन सक्ने पुडासैनीले बताए । ‘अन्य क्षेत्रमा पनि अनुगमनलाई तीव्रता दिन्छौं,’ उनले भने।

उपभोक्ता ठग्ने बंगलामुखी आयल स्टोर्सका सञ्चालकलाई कारबाही गर्ने उनले बताए । विभागको टोलीले उक्त पम्पमा सिल गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।

केही समयअघि मापदण्डभन्दा कम पेट्रोलियम पदार्थ बिक्री गर्ने काठमाडौं गोठाटारको भद्रकाली आयल स्टोर्सलाई कारबाही गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख जरिवानासहित पेट्रोलिय पदार्थ बिक्रीमा रोक लगाएको थियो । उपभोक्ता संरक्षण ऐन २०७५को दफा १६ को खण्ड (ख) बमोजिम निषेधित एवं अनुचित व्यापारिक क्रियाकलापमा संलग्न भएकाले कारबाही गरेको विभागले जनाएको छ।

निगमले पेट्रोल पम्प चलाउने
पेट्रोल पम्प सञ्चालन अनुमति तथा नियमन गर्दै आएको नेपाल आयल निगमले आफैं पम्प सञ्चालन गर्ने भएको छ । निगमले पहिलोपटक आफ्नै स्वामित्वमा सातै प्रदेशमा पम्प सञ्चालन गर्ने निर्णय गरेको हो।

अहिलेसम्म निजी क्षेत्र, नेपाली सेना, सशस्त्र प्रहरी, साझा सहकारीले पम्प सञ्चालन गर्दै आएका थिए । नमूना पम्प सञ्चालन गर्ने तयारी गरेको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘निजी क्षेत्रले मात्र सञ्चालन गर्दा कहिलेकहीँ विभिन्न बहानामा अवरोध गर्ने काम भयो,’ भट्टराईले भने, ‘उपभोक्तालाई सेवा दिन पम्प सञ्चालन गर्ने निर्णयमा पुगेका हौं ।’  निगमले डिपोनजिक पम्प सञ्चालन गर्ने रणनीति बनाएको छ । मुलुकभर करिब १५ सय पम्प सञ्चालनमा छन्।

प्रकाशित: २६ कार्तिक २०७५ ०५:२८ सोमबार

पेट्रोल_पम्प