अर्थ

कालीमार्सी घट्दै, उन्नत धान बढ्दै

उन्नतजातको धान भित्र्याउदै जुम्लाका किसान ।    तस्बिरः डिबी/नागरिक

जुम्ला – पछिल्लो समयमा जुम्लामा कालीमार्सी धानको क्षेत्र फल घट्दै जाँदा उन्नत जातको धान खेती फस्टाउन थालेको छ। मार्सी धानमा रोककिराको संक्रमण बढेकोले उन्नत जातको धान उत्पादनलाई जोड दिन थालिएको किसान बताउँछन।

स्थानीय जातको मार्सी धान असिना, पानी सहन सक्दैन्,तर उन्नत जातको धान असिना, पानी, र जलवायु सबै सहन सक्ने भएकोले मार्सीधानको भन्दा उन्नत जातको धानको क्षेत्रफल वर्षेनी फस्टाउँदै गएको हो। कृषि अनुसन्धान केन्द्र विजयनगरले दशक अघिदेखि चन्दननाथ १–३ र लेकाली १–३ जातको उन्नत जातको धान सिफारीस गरेपछि अहिले कालीमार्सी धान संकटमा पर्न थालेको हो।

चन्दननाथ नगरपालिकाका किसान मयालाल देवकोटा मार्सीधान यहाँको पहिचान भएपनि उत्पादकत्व हराउँदै जाँदा किसानमा निराशा छाएको बताउँछन। उनले भने,“मार्सीधान पहिचान हो, यो जोगाउन सकिने अवस्था छैन, उन्नतजातको धान पहिचानसँग जोडिएको छैन, तर यसलाई हुर्काउन सहज छ, त्यसैले उन्नत जातको धान खेतीमा किसानको नजर पुगेको छ।” उनले भने, “यहाँका धानखेतमा पहिले मार्सीधानको हालीमुहाली थियो, अहिले उन्नत जातले  जरा गाडिसक्यो, मार्सीधानको संरक्षणमा कसैको चासो जान सकेको छैन।” संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौर ज्युलोमा उत्पादन हुने मार्सीचामलको अहिले सवत्र चर्चा छ। तर रोगको संक्रमणले मार्सी चामल थला परिसकेको छ।

चन्दननाथ बाबाले भारतको कास्मिरदेखि परिक्षणका रुपमा जुम्ला ल्याएर उत्पादन थालिएको भनिएको मार्सीधान यहाँको सस्कृतिसँग जोडिएको छ। सिजा, चौधविस, पानसय र असी क्षेत्रका सबै ज्युलोमा अहिले उन्नत जातको धान लगाउनको संख्यामा वृद्धि भइरहेको छ।

अहिले मार्सीधानको उपचार विधी अपनाएर लोप हुन नदिनको लागि किसानले माग गरेका छन। पहिले यहाँको मार्सीधानको चामल राजा रजौटालाई दैनिक हुलाकबाट पठाइन्थ्यो। राजा महाराको दैनिक भोजन नै मार्सीचामलको भात हुन्थ्योे। तर देशमा व्यवस्था परिवर्तन भएसँगै यहाँको मार्सीधानको महत्व समेत घटेको किसान बताउँछन्। यो चामल स्वादिलो, अडिलो र पोसिलो हुने गर्छ। 

कृषि ज्ञान केन्द्र जुम्लाका कृषि अर्थविज्ञ बालक राम देवकोटा यो वर्ष मार्सीधान उत्पादनमा खासै वृद्धि नभएको बताउँछन। उनले भने, “मार्सिधान पुरानै रफ्तारमा देखिन्छ। उन्नत जातको धान भने गत वर्षको तुलनामा २० प्रतिशतले उत्पादन वृद्धि भइरहेको छ। जुम्लामा मार्सीधान १ हजार एक सय हेक्टरमा रोपिएकोमा उन्नत जातको धान एक हजार ७ सय हेक्टरमा रोपिएको थियो। 

प्रकाशित: ४ कार्तिक २०७५ ०८:४२ आइतबार

धान जुम्ला