अर्थ

हेटौंडा उपमहानगरको आम्दानी एक अर्ब ४२ करोड

मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष ०७४–७५ मा आन्तरिक आय र बाह्य गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । वार्षिक लक्ष्यभन्दा नौ प्रतिशत बढी आम्दानी गर्न सफल भएको शुक्रबार पत्रकार समेलन गर्दै उपमहानगरपालिकाले जनाएको छ।

नगरपालिकाले एक अर्ब २४ करोड तीन लाख बाह्य र १८ करोड ९२ लाख ८९ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्न सफल भएको हो । आम्दानी गरेको रकममध्ये उपमहानगरपालिकाले एक अर्ब १५ करोड नौ लाख रुपैयाँ मात्र खर्च गरेको जनाएको छ।

गत आर्थिक वर्षमा विभिन्न साना, ठूला गरी ६ सय ५२ योजना रहेकामा चार सय ६८ योजना सम्पन्न भएको र एक सय ८३ चालु रहेको उपमहानगरका सूचना अधिकारी डा. शंकरप्रसाद उपाध्यायले बताए । उनका अनुसार सामाजिक विकासतर्फ एक सय ६३ योजनामध्ये एक सय ३७ योजना सम्पन्न भएका छन् भने २६ वटा चालु रहेको छ।

यसैबीच, उपमहानगरपालिकाको न्यायिक समितिमा गत आवमा १९ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये दुईवटा मिलापत्र भएको र तारेख छाडेका कारण १० वटा मुद्दा खारेज भएको उपमहानगरले जनाएको छ । उपमहानगरपालिकामा आधारभूत सामुदायिक २९, माध्यामिक विद्यालय सामुदायिक ५२, संस्थागत विद्यालय ४७ र इसिइडी विद्यालय एक सय १६ गरी दुई सय ४४ वटा विद्यालय रहेको मेयर हरिबहादुर महतले बताए।

उपमहानगरपालिकाले गत आवमा १९ वटै वडामा गरी ४९ हजार नौ सय ५७ वटा सिफारिस गरेको समेत गरेको जनाएको छ । उपमहानगर कार्यालयबाट र वडा कार्यालयबाट नागरिकताका लागि सिफारिस, नागरिकता प्रतिलिपि सिफारिस, चौहद्धी सिफारिस, नाता प्रमाणित, खानेपानी धारा जडान, बिजुली जडान सिफारिस, जग्गा नामसारी सिफारिस, नाता सम्बन्ध, जन्म प्रमाणितको सिफारिस, अन्य विभिन्न किसिमका सिफारिससहित झन्डै ५० हजार सिफारिस गरिएको जनाइएको छ।

 

प्रकाशित: १७ आश्विन २०७५ ०४:१४ बुधबार

हेटौंडा_उपमहानगरपालिका नौ_प्रतिशत_बढी_आम्दानी