अर्थ

३४ लाख लिटरका ट्यांकलाई पेट्रोलमा परिणत गर्दै निगम

काठमाडौं - बजारमा मट्टीतेलको खपत घटेपछि नेपाल आयल निगमले मट्टीतेल भण्डारण गर्ने ट्यांकलाई पेट्रोल ट्यांकमा परिणत गर्न सुरु गरेको छ । निगमसँग पेट्रोल भण्डारण क्षमता कम भएपछि यो कदम चालेको हो।

निगमको थानकोट डिपोमा ४२ लाख लिटरका मट्टीतेल राख्ने दुई ठूला ट्यांकलाई ‘कन्भर्जिङ’ गरेर पेट्रोल भण्डारण गर्ने परियोजना सफल भएपछि निगमले अन्य डिपोमा पनि मट्टीतेल ट्यांकलाई धमाधम पेट्रोलमा रुपान्तरण गर्न थालेको छ।

निगमले चार डिपोका ३४ लाख १० हजारका मट्टीतेल ट्यांकलाई पेट्रोलमा परिणत गर्न सुरु गरेको छ । निगमका सबै डिपोमा पेट्रोल भण्डारण क्षमता थोरै भएकाले मट्टीतेल ट्यांकलाई प्रयोगमा ल्याउन लागिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘निगमसँग मुलुकभर पेट्रोल स्टक क्षमता पाँच दिनलाई मात्र पुग्ने छ,’ भट्टराईले भने, ‘स्टोरेज बढाउन मट्टीतेललाई धमाधम पेट्रोलमा रुपान्तरण गर्न लागेका छौं।’

निगमको भण्डारण क्षमता
– पेट्रोल पाँच दिन
– डिजेल आठ दिन 
– हवाई इन्धन १० दिन 
​– कुल ७१ हजार ७ सय ९ किलोलिटर

विराटनगरका १५ सय १० किलोलिटरका दुई मट्टीतेल ट्यांकलाई पेट्रोलमा रुपान्तरण गर्न लागिएको छ । त्ससैगरी, नेपालगन्ज र पोखरा प्रत्येकका सात सय ६० किलोलिटर र भैरहवाको तीन सय ८० किलोलिटरका मट्टीतेल ट्यांकलाई कन्भर्जिङ गर्न लागिएको हो ।

विराटनगर र भैरहवाको लागि टेन्डर आह्वान गरिसकेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । ‘पहिलो चरणमा दुई डिपोको सम्पन्न गरेपछि थप दुईको टेन्डर गर्छौं,’ गोइतले भने।

पेट्रोलियम पदार्थ आयातमा सामान्य अवरोध हुनासाथ स्टक कम भएकाले पेट्रोल भर्न उपभोक्ता घन्टौं लाइन बस्नुपर्ने बाध्यता छ । नेपाल बन्द, बाटो बन्द, एक–दुई दिन बिदा हुनासाथ बजारमा पेट्रोल अभाव हुन्छ।

बजारमा पेट्रोल दैनिक १५ सय किलोलिटर र डिजेल करिब ३५ सयदेखि चार हजार किलोलिटर खपत हुन्छ । उपत्यकामा मात्र दैनिक ६ लाख लिटर पेट्रोल खपत हुन्छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मागेजति  पेट्रोल दिए पनि राख्ने ठाउँ नहुँदा निगमले सहज आपूर्ति गर्न सकेको छैन।

निगमका अनुसार पेट्रोल पाँच दिन, डिजेल आठ दिन र हवाई इन्धन १० दिनलाई स्टक राख्न सक्ने क्षमता छ । निगमसँग मुलुकभर पेट्रोलियम पदार्थ भण्डारण क्षमता ७१ हजार सात सय ९ किलोलिटर मात्र छ। 

प्रदेश नं १ को विराटनगर र झापामा ११ हजार नौ सय ७४ किलोलिटर, प्रदेश नं २ को अमलेखगन्ज, वीरगन्ज, जनकपुरमा २३ हजार चार सय ७०, प्रदेश नं ३ को काठमाडौं थानकोट र सिनामंगलमा २२ हजार आठ सय ९७ किलोलिटर क्षमता छ। प्रदेश नम्बर ४ को पोखरामा तीन हजार चार सय ५४ किलोलिटर, प्रदेश ५ को रुपन्देही भलवारी, नेपालगन्ज, दाङमा सात हजार एक सय ९९, प्रदेश ६ को सुर्खेतमा एक सय पाँच र प्रदेश ७ को धनगढी, दिपायलमा दुई हजार ६ सय १० किलोलिटर भण्डारण क्षमता छ।

मुलुकमा मासिक साढे दुई लाख किलोलिटर इन्धन खपत हुन्छ । आर्थिक वर्ष ०७३÷७४ को तुलनामा गत आव ०७४/७५ मा पेट्रोल २०, डिजेल २३, मट्टीतेल १५, हवाई इन्धन १८ र एलपिजी ग्यास १८ प्रतिशतले खपत वृद्धि भएको छ । अघिल्लो आवमा चार लाख दुई हजार दुई सय ७८ किलोलिटर पेट्रोल खपत भएकोमा गत आवमा चार लाख ८४ हजार सात सय ८१ किलोलिटर खपत भएको छ।

पछिल्ला पाँच वर्षमा इन्धन खपत शतप्रतिशत बढेको छ । जनसंख्या वृद्धिसहित सवारी साधनको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थ खपत बढेको हो । यही दरमा इन्धनको माग बढ्दै जाँदा अबको आठ वर्षपछि आर्थिक वर्ष ०८२/८३ मा १० लाख आठ हजार सात सय ६९ किलोलिटर पुग्ने निगमले जनाएको छ । ०८१/८२ मा पुग्दा भण्डारण क्षमता घटेर पेट्रोलको तीन दिन, डिजेल पाँच दिन, हवाई इन्धनको ६ दिनमा झर्ने निगमको प्रक्षेपण छ।

सन् २००५ मा एसियाली विकास बैंकको सहयोगमा भण्डारण क्षमता बढाएयता क्षमता बढाउनेतर्फ कुनै प्रगति भएको छैन। प्रधानमन्त्री केपी ओलीको बेइजिङ भ्रमणमा चीनले भण्डारण क्षमता बढाउन सहयोग गर्ने आश्वासन दिए पनि कार्यान्वयन भएको छैन। निगमले आफ्नै लगानीमा इन्धन भण्डारण क्षमता बढाउन एक सय १७ अर्ब रुपैयाँको महत्वाकांक्षी योजना बनाए पनि जग्गा खरिदमा अनियमितता भएपछि रोकिएको छ।

प्रकाशित: १४ आश्विन २०७५ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App