अर्थ

‘सात पम्पलार्इ पेट्रोल रोक्नू’

काठमाडौं – बजारमा पेट्रोलियम पदार्थ अभाव भएको मौका छोपी पेट्रोल लुकाएर कालोबजारी गर्ने सात पेट्रोल पम्पमाथि सरकारले कारबाही सुरु गरेको छ । पेट्रोलमा कालोबजारी गर्ने काठमाडौं र भक्तपुरका सात पम्पलाई इन्धन आपूर्ति रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको हो।

ट्यांकर चालकले पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध गरी बजारमा अभाव भएको मौका छोपी कृत्रिम अभाव सिर्जना गरेकाले कारबाही सुरु गरेको मन्त्रालयले जनाएको छ । ‘बजारमा इन्धन अभाव भएपछि अनुगमन गर्दा कृत्रिम अभाव सिर्जना गरेको फेला परेकाले ती सात पम्पलाई इन्धन आपूर्ति रोक्नू,’ मन्त्रालयका उपसचिव उर्मिला केसीले विभागमा पठाएको पत्रमा लेखिएको छ।

इन्धनमा कृत्रिम अभाव सिर्जना गर्नेमा वागमती पेट्रोलियम डिलर्स एसोसिएसन, अध्यक्ष अच्युतबहादुर खड्काको बाँसबासी, काठमाडौंस्थित खड्का आयल सप्लायर्स पनि छ । अनुगमनमा खड्का आयल सप्लायर्सले पेट्रोल हुँदाहुँदै छैन भनी उपभोक्तालाई नबेची लुकाएर राखेको भेटिएको थियो । उक्त पम्पमा ६ हजार सात सय ७५ लिटर पेट्रोल लुकाएको भेटिएको थियो। 

राजधानी पेट्रोल पम्पले पनि पेट्रोल हुँदाहुँदै उपभोक्तालाई नबेची भित्रको सानो पम्पबाट पानीको बोतलमा बेचेको अनुगमन टोलीले जनाएको छ । एभरेस्ट  एभरेस्ट फ्युल डिस्ट्रिब्युटर–चाबहिल, बराल आयल स्टोर्स–जोरपाटी, त्रिलोचन इन्टरप्राइजेज–महाराजगन्जले अनुगमन टोली पुग्दा पम्प बन्द गरेर हिँडेको भेटिएपछि कारबाहीको निर्देशन दिएको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर तथा नापतौल विभागको टोलीले गरेको अनुगमनमा काठमाडौंको सामाखुसीस्थित एक पेट्रोल पम्पले पेट्रोल लुकाएको भेटिएको थियो । आकाश जोगिनी इन्टरप्राइजेजमा लुकाएर राखेको दुई हजार चार सय लिटर पेट्रोल जफत गरेर बिक्री गरिएको थियो।

चालकले इन्धन ढुवानीमा अवरोध गरेपछि यसै साता राजधानीलगायत मुलुकभर पेट्रोलियम पदार्थको अभाव भएको थियो । बजार माग धान्न नसकेपछि निगमले कोटा प्रणाली लागू गरेको थियो । चालकको आन्दोलन फिर्ता भएसँगै बजारमा पेट्रोयिम पदार्थ आपूर्ति सहज भएको छ। 

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन आपूर्तिमा असहज हुँदा वा इन्धन ढुवानीमा सामान्य अवरोध हुँदा बजारमा पेट्रोलको अभाव हुने गरेको छ । यही मौका छोपेर पम्प सञ्चालकले कालोबजारी गर्दै आएका छन्।

यता नेपाल आयल निगमले आफैं ट्यांकर सञ्चालन गर्ने विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । ट्यांकर चालकले पेट्रोलियम पदार्थ ढुवानीमा पटक–पटक अवरोध खडा गरेपछि निगमले ट्यांकर सञ्चालन गर्ने मोडालिटी तयार गर्न समिति गठन गरेको हो । निगम सञ्चालक समितिले वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको संयोजकत्वमा एक समिति गठन गरेको छ।

समितिको सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र निगमका प्रवक्ता वीरेन्द्र गोइत छन् । निगमले ट्यांकर खरिद गरेर सञ्चालन गर्ने रणनीति बनाएको हो । विभिन्न बहाना बनाएर उपभोक्तालाई दुःख दिने काम दोहोरिएपछि करिब ५० ट्यांकर खरिद गरेर सञ्चालन गर्ने तयारी अघि बढाएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । अहिलेसम्म निजी क्षेत्रका ट्यांकरले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका छन् । निगमले सेक्युरिटी लकिङ सिस्टम लागू गरेपछि अवरोध गर्ने गरेको निगमका भट्टराईले बताए।

प्रकाशित: ११ आश्विन २०७५ ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App