अर्थ

एक अर्बको लगानीमा चाउचाउ उद्योग

झापा – झापाका एक अर्बको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा एक अर्ब रुपैयाँ लगानीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको हो। 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक अजय अग्रवालले झापामा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले चाउचाउ उद्योग सञ्चालनमा ल्याएका बताए । ‘सरकारले एक घर एक रोजगारीको अवधारणा ल्याएको छ, रोजगारी सिर्जनाका लागि पनि उद्योग स्थापना गरेका छौं,’ उनले भने । उद्योग पूर्ण क्षमतामा सञ्चालन आएपछि करिब तीन सयले रोजगारी पाउने उनले बताए। 

उद्योगमा पर्शुराम अग्रवाल, ओमप्रकाश अग्रवाल, गणेश प्याकुरेल र अजय अग्रवालले संयुक्त लगानी गरेका छन् । मनषा थाई फुड्स मेची अञ्चलमै पहिलो तयारी चाउचाउ उद्योग रहेको सञ्चालक पर्शुरामले जानकारी दिए । पहिलो चरणमा उद्योगबाट उत्पादित चाउचाउ नेपालका सातै प्रदेश र भारतीय बजारमा निर्यात गर्ने लक्ष्य रहेको जनाइएको छ । सञ्चालक ओमप्रकाशले भने, ‘निकट भविष्यमै अमेरिका र अस्ट्रेलियासमेत निर्यात गर्ने योजना छ।’

उद्योगमा हालसम्मकै अत्याधुनिक प्रविधि र मेसिन प्रयोग गरेर चाउचाउ उत्पादन सुरु गरिएको अर्का सञ्चालक प्याकुरेलले बताए । ‘क्षमताको हिसाबले हाम्रो उद्योग नेपालमै पहिलो हो,’ सञ्चालक प्याकुरेलले भने, ‘उद्योगबाट दैनिक साढे सात लाख प्याकेट तयारी चाउचाउ उत्पादन गर्न सकिन्छ ।’ कम्पनीले कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई ब्रान्ड एम्बेसडर बनाएको छ । उद्योगबाट मगमग, प्यारी, रेलिमाई, गट्टुबट्टु ब्रान्डमा चाउचाउ र चिजबल, चिजरिङ, कुटुकुटु, पोटेटो क्य्राकर, कर्न फ्लेक्स, चोकोस लगायत स्न्याक्स उत्पादन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। (रासस)

 

प्रकाशित: ३ आश्विन २०७५ ०३:२६ बुधबार

चाउचाउ_उद्योग झापा