अर्थ

तरकारी १३५ प्रतिशतसम्म महँगियो

काठमाडौं – २०७४ भदौ २४ : सेतो आलु– ३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायो साग– ६५ रुपैयाँ प्रतिकिलो ।
२०७५ भदौ २४ : सेतो आलु – ६८, काउली – १ सय २५, बोडी – ८५, रायो साग– १ सय २५ रुपैयाँ प्रतिकिलो ।

यो तथ्यांकले गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य बढेको देखिन्छ । गत वर्ष आइतबार (भदौ २४ गते) कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्री भएको तरकारीको खुद्रा मूल्यलाई यो वर्ष सोही दिनसँग तुलना गर्दा एक सय ३५ प्रतिशतसम्म भाउ बढेको छ। 

चाडबाड नजिकिँदै जाँदा तरकारीको भाउ अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन् । बर्खाले तरकारी उत्पादनमा गिरावट आएपछि महँगिएको व्यवसायी बताउँछन् । भारतलगायत मुलुकबाट आउने तरकारीको भाउ पनि बढेकाले त्यसको असर तरकारी मूल्यमा परेको छ।

तरकारीका पकेट क्षेत्रमा उत्पादन कम भएकाले मूल्य बढेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । ‘वर्षादको पानीले उत्पादनमा गिरावट आएको छ,’ उनले भने, ‘भारतबाट आउने तरकारी पनि महँगिएको छ।’ 

चाडवाडमा माग अनुसार सप्लाई नहुँदा त्यसको प्रभाव स्वतः मूल्यमा पर्नेे घिमिरे बताउँछन् । घिमिरेका अनुसार भारतबाट आलुमात्र दैनिक ५० टन आयात भइरहेको छ । गत वर्ष ३५ रुपैयाँ किलोमा बिक्री भएको सेतो आलुको मूल्य ९४ प्रतिशत बढेर ६८ रुपैयाँ किलो पुगेको छ । काउलीको मूल्य १ सय ६० प्रतिशतले बढेको छ । ६५ रुपैयाँको काउली १ सय २५ रुपैयाँ पुगेको छ । मूलाको मूल्यमा पनि ५७ प्रतिशतले बढेको छ । मूला  ३५ बाट ५५, बोडी ६५ बाट ८५, भन्टा लाम्चो ३५ बाट ५५, तिते करेला ३५ बाट ५५ रुपैयाँ किलो पुगेको छ । गाजरको मूल्य १ सय ३३ प्रतिशतले बढेर ७५ बाट १ सय ७५ रुपैयाँ पुगेको छ।

लौका ५५ बाट ६३, घिरौंला ४५ बाट ५५, भिन्डी ५५ बाट ६५ रुपैयाँ किलो पुगेको छ । रायो साग ६५ बाट १ सय २५, लसुन १ सय ५ बाट २ सय ५ पाँच रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । गत वर्ष मात्र नभएर गत सातासँग तुलना गर्दा पनि मूल्य निकै बढेको छ । केही दिनअघि कालीमाटी र बल्खु तरकारी बजारमा अनुगमन गरेपछि तरकारीको भाउ घटेको सरकारी अधिकारीले दाबी गरे पनि यथार्थमा मूल्य बढेको छ। 

उपत्यकाका मुख्य तरकारी बजार कालीमाटी , टुकुचा, बल्खु, कुलेश्वर, बानेश्वर, बालाजु, लगनखेल, बानेश्वरबाट तरकारी बिक्री हुन्छ । ती बजारमा व्यापारीले लगेपछि अन्य खुला बजारमा अझ निकै महँगोमा बेच्ने गरेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजारमा मात्र दैनिक साढे ६ सय टन तरकारी बिक्री हुन्छ।

ग्रामीण क्षेत्रबाट बजारमा कम तरकारी आएको व्यवसायी बताउँछन् । वर्षाले कच्ची सडकमा गाडी नपुगेपछि बोकेर ढुवानी गर्नुपर्दा पनि त्यसको असर मूल्यमा परेको उनीहरुको भनाइ छ  । तरकारी अचाक्ली महँगिएपछि उपभोक्तालाई भान्सा चलाउन हम्मे परेको छ । उपत्यकामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुरको दामन लगायत क्षेत्रमा उत्पादित तरकारी बिक्री हुन्छ । बर्खामा उत्पादन पनि कम हुने र यही मौका छोपेर खुद्रा व्यापारीले धेरै नाफा राख्ने गरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। 

बर्खामा तरकारी छिटो बिग्रिने गरेकाले व्यापारी समेत मर्कामा रहेको टुकुचा तरकारी बजारका व्यवसायी प्र्रमोद श्रेष्ठले बताए । १–२ दिन स्टक रहे सबै कुहिएर मूल लगानी पनि नउठ्ने उनले बताए । ‘सबैभन्दा जोखिम तरकारी व्यापारमा छन्,’ उनले भने, ‘धेरै नाफा राखेको आरोप लगाउनु ब्यर्थ छ।’

तिज नजिकिँदै जाँदा तरकारीको भाउ बढेपछि उपभोक्तालाई गाह्रो परेको छ । निम्न वर्गीय परिवार, विद्यार्थी, ज्यालादारी काम गरेर खर्च चलाउनेलाई समस्या छ । तरकारीको भाउ बढ्दा चाडपर्व नै खल्लो हुने टुकुचामा तरकारी किन्दै गरेकी प्रमिला रोकाले बताइन् । ‘चेलिबेटी बोलाएर खुवाउन पनि कठिन भयो,’ रोकाले भनिन्, ‘तरकारीको भाउ छोइनसक्नु भएको छ।’

सरकारले तरकारी उत्पादन बढाउने बताए पनि व्यावसायिक तरकारी खेती नहुँदा उपभोक्ता सधैं महँगो मूल्य तिर्न बाध्य छन् । ठूलो मात्रामा तरकारी खेती नहुँदा उत्पादन कम भएकाले भाउ बढी हुने गरेको छ । यहाँको तरकारी बजार भारतीय उत्पादनबाट पनि प्रभावित हुन्छ । आर्थिक वर्ष ०७४–७५ मा ११ अर्ब ६० करोड रुपैयाँको तरकारी आयात भएको छ । यसले हाम्रो उत्पादन कमजोर रहेको प्रस्ट हुन्छ। 

प्रकाशित: २५ भाद्र २०७५ ०८:२१ सोमबार

तरकारी मुल्य_वृद्धि