अर्थ

नहरमा साँघुरो र अपर्याप्त निकासले वर्षेनि क्षति

आयोजनाले कचनापुरस्थित पश्चिम मूल नहरमा चुरे क्षेत्रको पानी बगाउन छाडेको साँघुरो निकास ।    तस्बिरः अर्जुन/नागरिक

नेपालगन्ज – सिक्टा सिँचाइ आयोजनाले बाँकेको अगैयामा हेडवक्र्स बनाइसकेपछि जब पश्चिम मूल नहर निर्माणको काम थाल्यो, त्यतिबेला नै नहरबाहिरको पानी निकास साँघुरो बनाइएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका थिए।

पूर्व–पश्चिममा फैलिएको मूल नहरलाई चुरे क्षेत्रबाट बगेर आउने पानीले भविष्यमा ठूलो क्षति पुर्याउन सक्ने र त्यसले गाउँ प्रभावित हुन सक्ने भन्दै धेरैभन्दा धेरै र ठुल्ठूला पानीको निकास दिनुपर्ने सुझाव दिएका थिए । स्थानीयको सुझावलाई आयोजनाका तत्कालीन निर्देशक र परामर्शदाताले चासो दिएनन् । बरु आयोजनाले झन् चुरे क्षेत्रबाट बगेर आउने खोलाको प्राकृतिक निकास बन्द गरिदियो । नहरभन्दा उत्तरतिरको जंगलमा संकलन भएको पानी पनि प्राकृतिक रुपले बग्नै पाएन । आयोजनाले थोरै मात्रामा पानीको निकास छाड्यो, त्यो पनि अत्यन्त साँघुरा। 

पानीको निकास सहज रुपले हुन नसकेपछि बर्खामा बर्सेनि पश्चिम मूल नहर भत्किने क्रम चल्दै आएको छ । आयोजनाले पश्चिम मूल नहर निर्माण गर्दा डिजाइनमा गरेको यही कमजोरीले बर्सेनि ठूलो क्षति पुर्याइरहेको छ । चुरे र सोको ‘फोटिल’ क्षेत्रबाट निर्मित नहरको रेखांकनमा अत्यधिक संख्यामा उत्तर–दक्षिण बग्ने खोला नाला पर्छन् । पानी निकासका लागि साँघुरो खालको ‘साइफन’ र ‘सुपर प्यासेज’ निर्माण भएका कारण चुरेको पानी सहज रुपमा बग्न पाएको छैन । सोही कारण बर्सेनि नहरका संरचना भत्काउने गरेको सम्बद्ध क्षेत्रका विज्ञ बताउँछन्। 

‘नहर निर्माण गर्दा बाहिरको पानीलाई निकास गर्न धेरैभन्दा धेरै ‘सुपर प्यासेज’ बनाउनुपथ्र्यो । तर नहरमा एकदमै कम मात्रामा, त्यो पनि साँघुरो खालका बनाइएको छ,’ सिँचाइ डिभिजन कार्यालयका एक इन्जिनियरले नागरिकसँग भने, ‘जंगलमै संकलन भएको अकासे पानी निकास हुन नपाएर बर्सेनि नहरमा क्षति पुगिरहेको छ।’ 

कमसल रुपले निर्माण गरिएको उक्त नहर एकातिर परीक्षणकै क्रममा भत्किने गरेको छ भने अर्कोतिर अकासे पानीको निकास नहुँदा बर्खामा पनि क्षति पुग्ने गरेको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा यति धेरै कमजोरी रहेको आफूले कल्पनासमेत नगरेको उनी बताउँछन् । ‘नहर निर्माणको काम सुरु हुनुअघि नै अध्ययन गरिएको होला, तर उहाँहरु कसरी चुक्नुभएछ, जानी–जानी गल्ती गर्नुभयो वा अन्जानमा भयो,’ उनले थपे।

परीक्षणमै भत्किने नहरलाई बर्खाको पानीबाट जोगाउन झन् कठिन भएको ती इन्जिनियर बताउँछन् । ‘कतै माटोको समस्याले नहर भत्केको छ, कतै पानीको निकास नबनाइँदा भत्केको छ,’ उनले भने, ‘सरकारले यही बेला गम्भीर रुपले अध्ययन नगरे फेरि पनि नहर भत्किने समस्या दोहोरिन्छ।’ 

सर्भे, डिजाइन गर्ने क्रममा गरेको गल्तीले राष्ट्रिय गौरवको आयोजनामा बारम्बार समस्या आएको सम्बद्ध क्षेत्रका इन्जिनियर बताउँछन् । पानी प्राकृतिक रुपले बग्न नपाउँदा नहरलाई सहजै भत्काउने सम्बद्ध क्षेत्रका विज्ञको भनाइ छ । पश्चिम नहरको आइसिबी–१ अन्तर्गत हेडवक्र्सदेखि १७.७ किलोमिटरसम्मको पहिलो खण्ड र आइसिबी–२ अन्तर्गत १७.७ देखि ३५ किलोमिटरसम्मको दोस्रो खण्डमा उत्तरतिरबाट बग्ने पानीको सहज निकास हुन सकेको छैन । प्राकृतिक रुपले बग्न नपाउँदा सिधै नहरको डिलमा पानी ठोक्किएर भत्किने गरेको पाइएको छ। 

बर्खाको सामान्य पानीलाई पनि सिक्टा नहरले थेग्न नसकेको भन्दै स्थानीय बासिन्दाले पश्चिम मूल नहरको डिजाइनमै कमजोरी भएको जिकिर गर्दै आएका छन् । ‘चुरे क्षेत्रबाट बगेर आउने पानीको निकास नहरको निकै कम ठाउँमा राखिएको छ । नहर बन्दा नै हामीले निकास धेरै कम भयो, साँघुरा पनि भए भनेर भन्दा वास्तै गरेनन्,’ कचनापुरका स्थानीय एवं पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले भने, ‘उत्तरतिरबाट बगेर आएको पानी सहज रुपमा बग्न पाउँदैन । पानी डिलमा आएर ठोक्किन्छ अनि नहर भत्काउँछ।’ 

सिक्टामाथि छानबिन गरिरहेका निकायले यो कमजोरीलाई पनि राम्ररी छानबिन गर्नुपर्ने पूर्वमन्त्री भण्डारीको सुझाव छ । डिजाइनकै कमजोरीले गर्दा नहरमा पानीको निकास कम र साँघुरो गरी बनाइएको उनले बताए । सिटिसिई कालिका जेभीले उक्त नहरलाई कमसल हिसाबले निर्माण गरेका कारण पटक–पटक समस्या दोहोरिरहेको राप्रपाका नेतासमेत रहेका पूर्वमन्त्री भण्डारीको जिकिर छ। 

राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले पूर्व–पश्चिमा निर्मित नहरलाई पार गरेर बग्ने पानीको निकास अत्यन्तै साँघुरो बनाइएकाले बर्खामा मूल नहर भत्किने समस्या आइरहेको सुनाइन् । ‘कमसल निर्माण हुँदा नहरले राप्ती नदीको ४ क्युमेक्स पानी नै थेग्न सकिरहेको छैन, पटक–पटक परीक्षणकै क्रममा भत्किरहेको छ,’ उनले भनिन्, ‘अर्कोतिर नहर पार गरेर बग्ने पानीको निकास छैन । कतै साँघुरा खालका छन्, कतै खोला नै थुन्ने काम भएको छ । प्राकृतिक रुपले पानी बग्न नपाएपछि नहरलाई भत्काउने नै भयो ।’ हरेक वर्ष बर्खामा नहर भत्किनुमा डिजाइनमै लापरबाही भएको गाउँपालिका उपाध्यक्ष खत्रीको जिकिर छ। 

२०७४ साउन अन्तिम साता भएको वर्षाका क्रममा पानीको सहज निकास नहुँदा राप्तीसोनारी–२ कचनापुरमा पश्चिम मूल नहर नै भत्किएको थियो । सो क्रममा गाउँमा बाढी पस्दा २८ घर परिवार विस्थापित भएको पूर्वमन्त्री भण्डारीले सुनाए । ‘पानीको सहज निकास भएको भए नहर भत्किने नै थिएन,’ उनले भने, ‘उत्तरतिरबाट बग्ने पानी थुनियो, एक्कासि नहर फुटेर आएको पानीले गाउँमा क्षति पुर्यायो।’

प्राविधिकका अनुसार नहरभन्दा मुनि र माथिबाट निर्मित पानीको निकास कतै अत्यन्त साँघुरा र कतै कमजोर छन् । सोही कारण बर्खाको पानीले पनि नहरमा बर्सेनि करोडौंको क्षति पुर्याउने गरेको छ । गत वर्षमात्रै पश्चिम मूल नहरमा बर्खाको पानीले करिब पाँचदेखि सात करोड रुपैयाँ बराबरको क्षति पुर्याएको थियो । विगत केही वर्षदेखि लगातार बर्खाको पानीले नहरमा करोडौंको क्षति गर्दै आएको छ । आयोजनाले पनि पूर्व–पश्चिममा फैलिएको मूल नहर चुरे र सोको ‘फोटिल’ क्षेत्रबाट भएर गएको तथा नहरको रेखांकनमा अत्यधिक संख्यामा उत्तर–दक्षिण बग्ने खोलानाला भएकाले समस्या थपिएको जनाएको छ । पश्चिम मूल अन्तर्गत २० देखि ३५ किलोमिटरसम्मको नहर अत्यधिक कटान र पटान रहेको, मूल नहरको उक्त  खण्डमा विषम प्रकृतिको घुलनशील (डिसपर्सिभ) माटो प्रयोग भएको उल्लेख गरेको छ।  

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रवीण श्रेष्ठले बर्खाको पानीले नहरमा क्षति पुर्याउनुमा डिजाइन कमजोरी नभएको दाबी गरेका छन् । ‘नहर डिजाइन गर्दा चुरे क्षेत्रबाट बगेर आउने पानीको मात्रालाई अध्ययन गरेर नै उचित मात्रामा निकास राखिएको हो,’ उनले भने ‘पहिलेको अवस्थाभन्दा अहिले धेरै फरक भइसकेको छ । खोलामा बग्ने पानी जंगलमा पसेर त्यही पानीले नहर भत्काउने काम गरिरहेको छ।’ 

पहिले चुरे क्षेत्रबाट छरिएर बग्ने पानी अचेल एकै ठाउँबाट बग्दा नहरमा क्षति पुर्याउने गरेको श्रेष्ठले जिकिर गरे । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि चुरे क्षेत्रका खोलामा गिट्टी र बालुवा थुप्रिएको र खोलामा बग्ने पानी जंगलमा आउँदा पश्चिम मूल नहरमा क्षति पुर्याउन थालेको उनले बताए। 

सरकारको उच्च प्राथमिकतामा रहेको सिक्टा निर्माणको करिब १२ वर्षको अवधिमा झन्डै ५५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।  सरकारले आयोजनाका लागि बर्सेनि एकदेखि डेढ अर्ब रुपैयाँ विनियोजन गर्दै आएको छ।

आयोजनामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ । आर्थिक वर्ष २०७६–०७७ सम्म आयोजना सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने सरकारको अनुमान छ । आयोजनाको कुल ४५.२५० किलोमिटर पश्चिम (दायाँ) मूल नहरमार्फत ३३ हजार ७ सय ६६ हेक्टर तथा साढे ५३ किलोमिटर पूर्वी (बायाँ) मूल नहरमार्फत नौ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने सरकारको लक्ष्य छ। 

प्रकाशित: १३ भाद्र २०७५ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App