अर्थ

महिन्द्राद्वारा ‘प्लस न्यू एक्सयुभी ५००’ सार्वजनिक

काठमाडौं – महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नयाँ गाडी ‘प्लस न्यू एक्सयुभी ५००’ सार्वजनिक गरेको छ। नक्सालस्थित महिन्द्रा सोरुममा आइतबार सार्वजनिक गरिएको यो गाडी अग्नि इन्कर्पोरेटेडको वितरक सञ्जालमार्फत नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अन्तर्राष्ट्रिय विभाग (दक्षिण एसिया) का उपाध्यक्ष सञ्जय जादवले सन् २०११ मा बजारमा आएको एक्सयुभी ५०० एसयुभी समूहको उत्कृष्ट वाहनको रूपमा रहेको बताए। नयाँ एक्सयुभी ५०० आकर्षक नयाँ डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त रहेको उनले बताए । ‘यो गाडीले उत्कृष्ट एक्सयुभी (स्पोर्टस् युटिलिटी भेइकल) समूहमा एउटा नयाँ मापदण्ड कायम गरेको छ,’ उनले भने, ‘उन्नत लचिलोपना तथा शान्त क्याबिनले अझ आरामदायी यात्राको अनुभूति दिन्छ ।’ एमहवक १५५ इन्जिनजडित नयाँ एक्सयुभी ५०० ले एक सय ५५ हर्सपावर र तीन सय ६० एनएम टर्कको शक्ति दिने कम्पनीको भनाइ छ।

महिन्द्रा समूह २०.७ अर्ब अमेरिकी डलर मूल्यांकन गरिएको कम्पनीको समूह हो । जनोपयोगी वाहनहरू, सूचना प्रविधि, वित्तीय सेवा र बिदा स्वामित्वको क्षेत्रमा महिन्द्रा समूह भारतमा नेतृत्वदायी स्थानमा छ। बिक्रीको परिमाणकोआधारमा यो विश्वको सबैभन्दा ठूलो ट्याक्टर कम्पनी हो। भारतमा मुख्य कार्यालय रहेको यस कम्पनीले सय देशमा दुई लाख ४० हजारभन्दा बढी व्यक्तिलाई रोजगारी दिएको छ।

प्रकाशित: १२ भाद्र २०७५ ०५:३८ मंगलबार

महिन्द्रा_एन्ड_महिन्द्रा गाडी