अर्थ

दैनिक साढे सात करोडको सुन अपुग

फाइल फाेटाे

काठमाडौं - राजधानीको न्युरोडस्थित हमाल जेम्स एन्ड ज्वेलर्सले ग्राहकसँग गहना अर्डर नलिएको दुई साता भयो। बजारमा ढिका सुन किन्न नपाएपछि उसले ग्राहकलाई फिर्ता पठाइरहेको छ।

माग अनुसार बैंकबाट सुन नपाउँदा अर्डर लिन नसकेको यसका सञ्चालक दाना हमालले बताइन्। ‘तिज आउन लागेकाले गहनाको माग बढ्दो छ,’ उनले भनिन्, ‘बैंकले मागे जति सुन नदिएपछि १५ दिनदेखि अर्डर लिएका छैनौं।’ ठूला व्यवसायीले स्टक राखे पनि साना व्यापारी मर्कामा परेको हमाल बताउँछिन्। ‘लगानी गर्न सक्नेले एक–दुई किलो स्टक राख्छन्,’ उनले भनिन्, ‘साना व्यवसायी निकै समस्यामा छौं।’

वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन बिक्री गर्छन्। तिज नजिकिँदै जाँदा सुनको माग बढेर प्रतिदिन ४० किलो पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्य बताउँछन्। बैंकले बिक्री गर्ने २० किलोको अतिरिक्त पाँच किलो सुन पुराना गहना बेच्नेहरुबाट आए पनि १५ किलो सुन नपुग भएको शाक्यले बताए। ‘सुन सस्तिएको र चाडबाड सुरु भएकाले माग ह्वात्तै बढेको हो,’ शाक्यले भने, ‘दैनिक साढे सात करोड रुपैयाँको सुन अपुग छ।’

एक किलो सुनको करिब ५० लाख रुपैयाँ पर्ने शाक्यले बताए । सुनको कोटा बढाउन पटक–पटक आग्रह गरे पनि कसैले नसुनेको शाक्य बताउँछन्। ‘माग बढेको छ, आपूर्ति बढेन,’ उनले भने । तेजमिन ज्वेलरीका सञ्चालक रहेका शाक्यले ग्राहकको चित्त बुझाउन हम्मे परेको बताए।

पछिल्लोपटक धमाधम गैरकानुनी सुन पक्राउ पर्न थालेकाले बजारमा अभाव भएको बताइन्छ । पक्राउको डरले चोरबाटोबाट सुन ल्याउनेहरु हच्किएका छन् । सुनको भाउ सस्तिँदा माग बढेको छ । सस्तिएका बेला प्रयोगकर्ताले सुन बिक्री गर्दैनन् । बैंकले दिने सुनले बजारको माग धान्दैन।

मागअनुसार आपूर्ति नहुँदा बजारमा सुन अभाव भएको हो । राजधानीमात्र नभएर जिल्ला–जिल्लामा सुनको अभाव छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ५६ हजार एक सय रुपैयाँ थियो।

सुन अभाव भएपछि कालोबजारी हुन थालेको अन्नपूर्ण ज्वेलर्स, बागलुङका सञ्चाल अनिष खातीले बताए। ‘सुन नपाएपछि कारोबार ठप्प छ,’ खातीले नागरिकसँग टेलिफोनमा भने, ‘स्टक सुन पनि सकिएपछि समस्या भएको हो ।’ खातीले प्रतितोला दुई हजार रुपैयाँ बढीमा कारोबार हुन थालेको बताए। ‘केहीले ब्ल्याकमा पनि बिक्री गरिरहेका छन्,’ उनले भने, ‘मोफसलका व्यापारी मर्कामा प-यौं।’

बजार माग अनुसार आपूर्ति गर्न नसक्नु राज्यको कमजोरी भएको व्यवसायी बताउँछन्। सुनको कोटा बढाउनुपर्ने रत्न व्यवसायी महासंघ नेपालका कोषाध्यक्ष कृष्णबहादुर हमालले बताए। बैंकबाट ल्याएको सुन आफ्ना सदस्यलाई पु¥याउन नसकेर हैरान भएको हमाल बताउँछन्। ‘सुन नपाएपछि ५०–५० ग्राम बाँडेर चित्त बुझाउछौं,’ हमालले भने, ‘जिल्लाबाट आउने साथीहरु पनि रित्तै फर्किएका छन्।’ काठमाडौंका व्यवसायीले सुन नपठाएपछि जिल्लाका व्यवसायी सुन लिन काठमाडौं आएका छन्। ठूला व्यापारीले स्टक राखेर बेचे पनि साना व्यवसायी मर्कामा परेको हमालले बताए।

हरेक वर्ष सुनको माग बढ्दै गए पनि नेपाल राष्ट्र बैंकले कोटा बढाएको छैन। राष्ट्र बैंकले २२ वटा वाणिज्य बैंकलाई सुन आयातको अनुमति दिएको छ । नेपाल बैंकर्स संघमार्फत कोटा वितरण गरेर आर्थिक वर्ष ०७४/७५ मा बैंकिङ प्रणालीबाट ३५ अर्ब ४७ करोड रुपैयाँको सुन आयात भएको थियो। आर्थिक वर्ष ०७३/७४ को तुलनामा तीन अर्ब ९३ करोडभन्दा बढीको सुन आयात भएको थियो । यो तथ्यांकले हरेक वर्ष बजारमा सुनको माग बढ्दै गएको देखाउँछ।  गत आर्थिक वर्षमा सात हजार दुई सय ६० किलो सुन बैंकिङ प्रणालीबाट आयात भएको नेपाल बैंकर्स संघले जनाएको छ। आव ०७३/७४ मा ६ हजार चार सय ५५ किलो आयात भएको थियो। प्रति १० ग्राम सुनको मूल्य ४८ हजार आठ सय ४७ रुपैयाँले हिसाब गर्दा उक्त रकम बराबरको आयात भएको हो। वार्षिक रुपमा ५० अर्बको सुनको कारोबार हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: २७ श्रावण २०७५ ०४:२५ आइतबार

#बजार #सुन