अर्थ

विशाखापट्टनमबाट ट्रान्ससिप मोडल

काठमाडौं - नेपालले तेस्रो मुलुकबाट सामान आयात गर्दा भारतको भन्सारमा भोग्नु पर्ने कागजी झन्झटबाट मुक्त हुन प्रयोग गरिने ट्रान्ससिप मोडललाई वशाखापट्टनमबाट लागु गरिने भएको छ । नेपाले पहिलेदेखि माग गर्दै आएको यस मोडललाई विशाखापट्टनमबाट लागु गर्न भारतीय पक्षले सूचना जारी गरिसकेको छ।

 ‘पहिलो पटक विशाखापट्टनमबाट ट्रान्ससिप मोडल लागु गर्न लागिएको छ,’ उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भने, ‘एक ढेड महिना परीक्षण गरेर यसलाई पूर्णरुपमा लागु गरिने छ ।’ यो मोडल लागु भएपछि विशाखापट्टनमबाट कुनै पनि कागजी झमेलाविना सामानहरू सिधै वीरगन्ज आउने पाउनेछन् ।
यस प्रणालीबाट सामान आउने भएपछि विशाखापट्टनमा आयात कर्ताले भारतीय भन्सारसँग कुनै पनि समस्या भोग्नु पर्ने छैन ।

‘नेपालको सामान हो भन्ने प्रमाणित गर्ने बाहेक कुनै पनि अरु कागज पेश गर्नु पर्नेछैन्,’ सैंजुले भने, ‘भारतीय पक्षले भन्सारमा कुनै पनि कागजपत्र पेश नगरी वीरगन्जसम्म ल्याउन सकिने भनेर नोटिफिकेसन जारी गरेको छ ।’ अब यो नियमपछि सक्कली कागजपत्र पेश गर्नु पर्ने नियम हट्दै सामानको एक फोटोकपी पेश गरे पुग्ने छ ।यसअघि तेस्रो मुलुकबाट आएको सामालाई भारतीय भन्सारमा विभिन्न कागजहरू पेश गर्नु पर्ने थियो । यसरी कागज पेश गर्दा सानो अक्षर नमिले पनि लामो समय लाग्ने,  त्यहाँका एजेन्टसँग भर पर्नु पर्ने र उनीहरूले धेरै समय लगाइदिने जस्ता अनेकौ समस्या आयातकर्ताले भोग्दै आएका छन्।

 यो नियम पूर्णरुपमा लागु गर्न सर्भिस प्रोभाइडले पनि व्यवस्थापन पक्षलाई मिलाउनु पर्ने छ । सर्भिस प्रोभाइडलरले पनि जतिछिटो सुरु गर्न आग्रह गरिहरका छन् ।आयात कर्ताले धेरै समस्या भोग्दै आएपछि नेपालले धेरै अगाडीदेखि ट्रान्ससिप मोडल लागु गर्न माग गरिरहेको थियो । भारतसँग यसलाई मोडालिटीका रुपमा लागु गर्ने भनेर सहमति भएको हो । यो प्रारम्भिक चरणमा रहेको सैैंजुले बताए । एक ढेड महिनामा परीक्षण अवधि हुने छ । त्यस अवधिमा देखिएका अनुभवलाई र समस्यालाई हेरेर यस सम्बन्धी केही प्रावधान परिवर्तन गर्नु पर्ने छ भने परिवर्तन गरेर पूर्ण रुपमा लागु गर्ने तयार गरिन्छ ।

यसअघि ‘इलेक्ट्रिक कार्गो ट्राकिङ सिस्टम’लाई कलकत्ताबाट परीक्षण गर्ने भनिएको भए पनि अहिले त्यो लागु हुन नसकेको सैैंजुले बताए । ‘त्यहाँ ठूलो संजाल भएका कारण लागु गर्न नसकिएको हो,’ सैंजुले भने, ‘त्यहाँ लागु गर्न नसकिए पनि अन्य ठाउँमा लगाउने प्रयास भइरहेको छ ।’  ‘इलेक्ट्रिक कार्गो ट्राकिङ सिस्टम’ भनेको सामान बोकेको कन्टेनर वा ट्रक कुन ठाउँमा आइपुगेको छ भनेर एक कोठाबाटै थाहा पाउन सकिने प्रणाली हो । यो प्रणाली लागु भएपछि समयलाई घटाउने छ भने अन्य झन्झटलाई हटाउने छ । अन्तत नेपाललाई इलेक्ट्रिक ट्रयाकिङ सिस्टममा चाहिएकाले भारत मनाउन आवश्यक भएको उनले बताए।

कलकत्ता यो प्रणाली लागु नहुनेभएपछि विशाखापट्टनमबाट ट्रान्ससिप मोडालिटीलाई परीक्षणको रुपमा सुरु गर्न नेपालले भारतलाई अनुरोध गरेको थियो । नेपालको अनुरोधलाई भारतले स्वीकार गरेपछि विशाखापट्टनममा ट्रान्ससिप मोडल सुरु हुन लागेको हो ।यो प्रणालीलाई यसपछि अरु ठाउँमा पनि यो लागु गर्ने योजना रहेको उनले बताए । नेपालले भारतसँग अरु पोर्टहरू पनि मागिरहेको छ । पूर्व र पश्चिमका केही पोर्टमा मागेको र यसको लागि समूह पठाएर अध्ययन गर्ने तयारी भइरहेको सैंजुले बताए । सहमति गरेपछि ति पार्टमा पनि यही सिस्टम लागु गर्ने उनको भनाइ छ ।

प्रकाशित: २४ श्रावण २०७५ ०१:३८ बिहीबार

#विशाखापट्टनम #ट्रान्ससिप मोडल #