अर्थ

खाद्य वस्तुको गुणस्तर परीक्षण ‘ठाउँको ठाउँ’

काठमाडौं - सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ (ठाउँको ठाउँ) गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्याबसहितको प्रविधि प्रयोग गर्न लागेको हो।

बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्ट्याउन घुम्ती ल्याबसहितको भ्यान सञ्चालन गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । होटल तथा रेस्टुरेन्टका खाना, खाजा, दूध, मिठाइ, तेल, घिउ, पानी, मासु, तरकारी, फलफूल लगायत खाद्य वस्तु, खाद्य वस्तुमा प्रयोग हुने रङको नमूना संकलन गरेर तत्कालै ल्याब परीक्षण गरिनेछ ।

ती वस्तुमा भएको विषादी, रसायन घुम्ती ल्याबमा परीक्षण हुन्छ । ठाउँको ठाउँ खाद्य वस्तु परीक्षण गरेर नतिजा दिने प्रविधिसहितका उपकरण जडित तीनवटा भ्यान विभागले ल्याएको छ । दैनिक खाद्यवस्तु ठाउँको ठाउँ परीक्षण गर्न लागिएको विभागका महानिर्देशक सन्जिवकुमार कर्णले बताए । ‘खाद्यवस्तु गुणस्तरीय (खानयोग्य) भए, नभएको तुरुन्त पत्ता लगाउन सक्ने उपकरणसहितका भ्यान खरिद गरेका छौं,’ उनले भने, ‘घुम्ती ल्याबमा परीक्षण गरेर नतिजाको आधार उपभोक्ता ठग्नेलाई तत्काल कारबाही गर्छौं ।’ खाद्य वस्तुमा हुनुपर्ने मात्रा भए, नभएको पत्ता लाग्ने भएकाले उपभोक्तामा सचेतना जगाउन पनि सजिलो हुन्छ । विभागको टोली विभिन्न नगरपालिका, गाउँपालिका, बजार, नाका क्षेत्रमा घुम्ती ल्याबमार्फत अनुगमन गर्छ । त्यहीँ परीक्षण गरेर रिपोर्ट सार्वजनिक गर्ने योजना छ।

विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले करिब ६ करोड रुपैयाँ लगानीमा उपकरणसहित गाडी ल्याएको छ । गाडीमा उपकरण जडान भइरहेको महानिर्देशक कर्णले बताए । कर्णका अनुसार साउन महिनादेखि नै घुम्ती ल्याबसहित अनुगमन सुरु गर्ने तयारी छ । ‘उपकरण जडान र जनशक्तिलाई तालिम दिने काम गरिरहेका छौं,’ उनले भने, ‘अब उपभोक्ता ठग्नेलाई तुरुन्त कानुनी दायरामा ल्याउछौं ।’बजार अनुगमनमा जाने विभागको टोलीले नमुना संकलन गरेर परीक्षणको लागि अफिस आउनुपर्ने बाध्यता अन्त्य हुने विभागले जनाएको छ । उपत्यकासहित विराटनगर, धनगढी लगायत प्रमुख सहरमा घुम्ती अनुगमन सुरु गर्ने विभागको तयारी छ । ‘विभागले भ्यानमा प्राविधिकसहित कर्मचारी खटाएर अनुगमन गर्छ,’ कर्णले भने, ‘उपभोक्तालाई गुणस्तरहीन खाद्यान्न उपभोगबाट जोगाउनु मुख्य ध्येय हो।’

भ्यानमा सुरक्षित खानाका पाँच सन्देश पनि लेखिएको छ । यसबाट उपभोक्ता ठगिइरहेको बेला अनुगमन गरेर तत्काल कारबाही गर्न सहयोग पुग्नेछ । बजारमा गुणस्तरहीन वस्तु बिक्री वितरण भएको गुनासो आइरहेको बेला प्रभावकारी सघन अनुगमन गरेर छिटो–छरितो नतिजा दिने विभागको तयारी हो ।गुणस्तर मापदण्डका आधारमा हरेक खाद्य वस्तुको परीक्षण हुन्छ । यसले दूषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्नेलाई कानुनी दायरामा ल्याउन सहज हुनेछ।

यसअघिका अनुगमनमा खाना पकाउने तेलसहित खाद्यान्न, तरकारी, फलफूल, पेय पदार्थ, मासु, पानी, दूध, मिठाइमा पनि मानव स्वास्थ्यमा असर पार्ने विभिन्न रसायन मिसावट गरेर बिक्री–वितरण गरेको भेटिएको छ । होटल तथा रेस्टुरेन्टले अखाद्य खाना खुवाउँदा, झाडापखाला, गुणस्तरहीन तेल प्रयोग गर्दा झाडापखलासहित टाइफाइड, कमलपित्त, पाचन प्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने चिकित्सक बताउँछन् ।विभागका अनुगमनमा चाउचाउमा चिल्लोको एसिड भ्यालु बढी, ड्रिङकिङ वाटरमा मेसोफिलिक काउन्ट, पानीमा पिए बढी, दूधमा दिसामा हुने तत्व कोलिफर्म भेटिएको छ । तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ, बिस्कुट दूषित र गुणस्तरहीन भेटिएपछि विभागले उत्पादकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दासमेत दायर गरेको छ।

तरकारीको नमुना संकलन गरेर विषादीको मात्रा मापन गरी खानयोग्य छ, छैन सिफारिस गर्नुपर्ने विभागले काठमाडौंको कालीमाटीमा मात्र तरकारी परीक्षण गरेकोमा अब अन्यत्र पनि परीक्षण गर्न सजिलो भएको छ । तरकारी, खाद्यान्न, कुखुरामा प्रयोग हुने विषादीले विभिन्न प्रकारका रोग निम्त्याएको चिकित्सक बताउँछन् ।विभागले विगतमा गरेको अनुगमनका क्रममा बजारमा बिक्री–वितरण हुने दैनिक उपभोग्य वस्तु १० प्रतिशत अखाद्य भेटिएका थिए । मानव स्वास्थ्यमा असर पुर्याउने खाद्य वस्तु बिक्री गर्नेलाई कठोर दण्ड नदिँदा दोषीको मनोबल बढेको सरोकारवाला बताउँछन् । सबै नाफा कमाउने ध्येयमा लाग्दा मानव स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने क्रम बढेकोले कडाइ गर्न लागेको विभागले जनाएको छ । अखाद्य वस्तु उत्पादन गर्नेलाई पनि निरुत्साहित गर्ने विभागको रणनीति छ।

उपत्यका भित्रिने नाकामा दूधको परीक्षण
बजारमा बिक्री भइरहेको दूधको गुणस्तरको विषयमा प्रश्न उठिरहेको बेला सरकारले काठमाडौं भित्रिने दूधको परीक्षण सुरु गरेको छ ।

खाद्य प्रविधि तथा गुणस्तर विभागले काठमाडौंमा दूध आउने प्रमुख चार नाकामा घुम्ती टोली खटाएर परीक्षण गरेको छ ।थानकोट, ललितपुर, नुवाकोट, काभ्रेबाट आउने नाकामा परीक्षण सुरु गरेको महानिर्देशक कर्णले बताए । ‘काठमाडौं उपत्यकामा भित्रिने दूधको गुणस्तर कायम गर्ने विभागको उद्देश्य हो,’ उनले भने, ‘कच्चा दूध परीक्षण सुरु गरेका छौं ।’ विभागले दूध बजारलाई व्यस्थित गर्न निर्देशिका पनि जारी गर्ने तयारी गरेको छ ।

 

 

 

प्रकाशित: १८ श्रावण २०७५ ०२:१२ शुक्रबार

खाद्य वस्तुको गुणस्तर परीक्षण ठाउँको ठाउँ