अर्थ

प्रचूर सम्भावना, शून्य उपलब्धि

भू–स्वर्ग मानिने प्राकृतिक सौन्दर्यले भरिएको खप्तड। तस्बिर : जगत खड्का/नागरिक

धनगढी - प्रदेश ७ मा मनोरञ्जन, धार्मिक, साहसिक, सांस्कृतिक, जैविक लगायत पर्यटनका प्रचूर सम्भावना रहेका छन्। भू–स्वर्ग मानिने ऐतिहासिक, धार्मिक तथा रमणीय स्थल खप्तड, बढीमालिका, रामारोशन, सात बहिनी देवीका मन्दिर, बाह्रसिंगेका बथान देखिने शुक्लाफाँटा, घोडाघोडी लगायत थुप्रै महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु यहीँ छन्। यति धेरै सम्भावना भएर पनि पर्यटक भिœयाउन नसक्दा अहिलेसम्म उपलब्धि शून्य छ।

‘प्रदेश ७ मा पर्यटनका प्रशस्त सम्भावना छन्, राज्यले पर्यटन प्रवद्र्धनमा ध्यान नदिँदा उपलब्धि शून्य छ,’ सुन्दर सुदूरपश्चिम अभियान थालेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वसदस्य गोपाल हमाल भन्छन्, ‘हामीले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई २१ केजीको माला पहि¥याएर माग राखेको १४ वर्ष भइसक्यो। १४ वर्षसम्म यस प्रदेशमा समान्य पर्यटन कार्यालयसम्म स्थापना गरिदिएन, अरुको कुरा नै छाडौं।’

प्रचारप्रसार नहुनु, भौतिक पूर्वाधारको अभाव, पर्यटकलाई बस्न, खान समस्या, सुरक्षा महसुस नदिलाइनु जस्ता कारणले पर्यटक आउन नसकेको नगारिक समाजका अगुवा धर्मराज पाठक बताउँछन्। ‘हामीकहाँ पर्यटनमा धेरै सम्भावना छन् भन्दै गरेको दशक भइसक्यो, यी सम्भावना छन् भनेर मात्र कहिलेसम्म भनिराख्ने,’ उनी भन्छन्, ‘अहिलेसम्म पर्यटकको खल्तीको पैसा हाम्रो खल्तीमा ल्याउन सकेका छैनौं।’ यस प्रदेशबाट तीन सयदेखि चार सय किलोमिटर दुरीमा रहेको भारतको राजधानी नयाँ दिल्ली लगायत थुप्रै सहरहरु रहेका छन्। करिब ३० करोड जनसंख्या यस प्रदेशमा सात–आठ घन्टाको सडक यात्राको दुरीमा छन्। यहाँका पर्यटनको सम्भावनालाई भजाउन सके भारतबाट ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने देखिन्छ। यहाँबाट भारतको नयाँदिल्ली, गुडगाउँ, लखनउ, रुद्रपुर, कानपुर, देहरादुन, बरेली लगायत करिब आधा दर्जन सहर नजिक छन्।

‘सीमा जोडिएको भारतको दुदुवा नेसनल पार्कमा पर्यटकको भिड लागेको हुन्छ, त्योभन्दा बढी आकर्षक शुक्लाफाँटा सुनसान जस्तै हुन्छ,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक हेमराज पन्त भन्छन्, ‘सम्भावना भएर पनि भारतीय पर्यटक भिœयाउन सकिएको छैन।’ यो प्रदेशबाट सात–आठ घन्टाको सडक दुरीमा रहेका भारतीय ठाउँमा धेरै गर्मी हुन्छ । गर्मी मौसम छल्न ती भारतीय सपरिवार नेपाल घुम्न आउने गर्छन्। भारतमा नैनीतालबोहक अन्य गन्तव्य नभएकाले प्रदेश ७ मा ती पर्यटक आउन सक्ने उनी बताउँछन्। कैलालीकै खानीडाँडा, डडेल्धुरा लगायत पहाडी जिल्लाका धेरै ठाउँ गर्मी छल्न सकिन्छ। यी ठाउँबाट थुप्रै हिमाल पनि हेर्न सकिन्छ । साथै पर्यटकलाई आनन्द र सुरक्षा पनि चाहिने उनले बताए।

धेरै पर्यटकीय स्थलको प्रचार भएको छैन। खप्तड लगायत अन्य पर्यटकीय स्थल पुग्न झन्झटिलो र त्यहाँ खान, बस्नको असुविधा रहेको उनको भनाइ छ। भारतीय पर्यटकलाई ट्राफिक प्रहरीले दुःख दिने लगायत समस्या रहेको पनि उनी बताउँछन्। यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाउनुपर्ने सासंद पूर्णा जोशी बताउँछन्। ‘अहिलेसम्म गुरुयोजना बनाएर काम नभएकाले धेरै सम्भावना भएर पनि पर्यटनको विकास हुन नसकेको हो,’ उनले भनिन् । पर्यटनको विकास मात्र गर्न सकेमा अहिलेसम्म मानव सूचकांक, गरिबी, पछौटेपनमा रहेको यो प्रदेशको काँचुली फेरिने पर्यटन व्यवसायी तथा सुदूरपश्चिम पर्यटन विकासका सचिव सञ्जय चौधरी बताउँछन्। ‘यहाँका सम्भावना उजागर गर्न सकेमा प्रत्येक वर्ष दसौं लाख भारतीय पर्यटक भिœयाउन सकिन्छ,’ उनले भने।

प्रदेश ७ मा पर्यटनको विकास मात्र गर्न सके आर्थिक रुपमा काँचुली फेरिने देखिन्छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यका महत्र्वपूर्ण पर्यटकीयस्थल यहाँ छन्। स्कन्द पुराणको मानस खण्डमा प्रदेश ७ मा रहेका घोडाघोडी, खप्तडदेखि कैलास सरोवरसम्मका धेरै स्थलको बर्णन गरिएको छ। ‘गोदावरी धाम, परशुराम धाम, दिल्पेश्वर धाम र वैद्यनाथ गरेर चार धाम यहीँ छन्। सात देवी बहिनीका मन्दिर यहीँ छन्,’ धार्मिक पर्यटन प्रवद्र्धनमा सक्रिय पदमराज जोशी भन्छन्, ‘धार्मिक पर्यटन विकासका लागि देवभूमि मार्ग बनाइनु पर्छ।’ विभिन्न ऐतिहासिक र धार्मिक स्थल छन्। प्राचीन महत्वका देवल यहीँ छन्। त्यस्तै अमरसिंह थापाले लडेको किल्ला र उनले लड्दा प्रयोग गरेका हातहतियार यहाँ छ। सांस्कृतिक पर्यटनको सम्भावना पनि उत्तिकै छ। साहसिक पर्यटनका लागि अपी, सैपाल लगायत हिमाल पर्वतारोहणको सम्भावना छ। मनोरञ्जनका लागि खप्तड, बढीमालिका, रामारोशन, शुक्लाफाँटा, वेदकोट ताल, घोडाघोडी ताल, टीकापुर पार्क, कर्णालीमा ¥याफ्टिङ आदि रहेका छन्। थारु समुदायको संस्कृति, सौका/ब्यासीको संस्कृति, गौरापर्व, विभिन्न भेषभूषा, मेला, पर्व पर्यटकका लागि आकर्षक हुन सक्छन्।

सांसद डिल्लीराज पन्त तीन तहका सरकारले समन्वय गरेर यहाँको पर्यटनको विकासमा ध्यान दिनुपर्ने बताउँछन्। भारतका उत्तर प्रदेशका लाखौं बासिन्दा प्रत्येक वर्ष मानसरोवर यात्रा गर्ने गर्छन्। भारतको गौरिफन्टा र बनबासादेखि उत्तरतर्फ बझाङ उरै भज्याङ नाका खोलेर सडक सञ्जालले जोडिनुपर्ने यहाँका बासिन्दाको जोड छ। ‘दक्षिणमा गौरिफन्टा नाका र उत्तरमा उरै भन्ज्याङ नाका खोलेर दुई देशका नाका जोडिएमा पर्यटक आवागमन, व्यापार र पारवहनबाट हामीले धेरै फाइदा लिन सक्छौं,’ नागरिक समाजका अगुवा पाठक भन्छन्। मानसरोवर जाने पर्यटकका लागि यो सडक धेरै छोटो पर्नेछ। उत्तर प्रदेशका लाखौं पर्यटकलाई प्रदेश ७ को रुट भएर मानसरोवर यात्रा गर्ने वातावरण बनाउन पनि यो नाका खोल्नुपर्ने स्थानीय बताउँछन्।

यकिन तथ्यांक नभए पनि तेस्रो मुलुक अमेरिका, बेलायत, फ्रान्स, जर्मनी लगायत मुलुकबाट खप्तडसँगै प्रदेश ७ पर्यटकीय क्षेत्र भ्रमणका लागि बर्सेनि करिब सयको संख्यामा पर्यटक आउने गरेको पर्र्यटन व्यवसायी बताउँछन्। यसमा पनि नेपालमा कूटनीतिक निकाय, गैरसरकारी संघ–संस्थामा काम गर्नेहरु बढी आउने गरेका छन्। अन्य गन्तव्यमा तेस्रो मुलुकबाट पर्यटक पुग्ने नगण्य रहेको छ। भारतका सीमावर्ती गाउँबाट परम्परागत रुपमा धनगढीका बेहेडाबाबा मन्दिर र महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा सयांै दर्शनार्थी आउने गरे पनि भारतबाट प्रदेश ७ का गन्तव्यमा आउने धार्मिक पर्यटक र अन्य पर्यटक पनि नगण्य छ।

पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीले प्रदेश ७ मा पर्यटनमा धेरै सम्भावना भएर उपलब्धि हात नलागेको स्वीकार गर्छन्। ‘अहिलेसम्म गुरुयोजना बनाएर काम नहुनु, पर्यटकीय स्थलमा भौतिक पूर्वाधार नहुनु, पर्यटन प्रवद्र्धन नहुनुले सम्भावना भएर पनि पर्यटक आउन नसकेका हुन्,’ उनले भने, ‘अब हामी भौतिक पूर्वाधार बनाउनेदेखि पर्यटकलाई यहाँ ल्याउन एक वर्षभित्रै देखिने गरी काम गर्छौं।’ भारतीय पर्यटक बढीभन्दा बढी भिœयाउने गरी योजना बनाइने उनको भनाइ छ। अहिलेसम्म भारतीय पर्यटकसँग जोडेर पर्यटन विकास गर्नेतर्फ नसोचिएको र पूर्वाधार पनि बनाउनतिर ध्यान नदिइएको उनले बताए। एक वर्षभित्रै धनगढीको विमानस्थल स्तरोन्नति गरेर भारतको दिल्ली, लखनउ लगायत सहरलाई हवाईमार्गमा जोड्ने उनले बताए । ‘एक वर्षमै प्रदेश ७ लाई भारतका विभिन्न क्षेत्र र देशका अन्य क्षेत्रलाई पनि हवाई मार्गबाट जोड्नेदेखि पर्यटन विकासमा देखिने गरी काम गर्छौं,’ उनले भने।

प्रकाशित: ६ श्रावण २०७५ ०४:४७ आइतबार

प्रचूर सम्भावना शून्य उपलब्धि