अर्थ

भक्तपुरकै ठूलो होटल विवादमा

भक्तपुर नगरपालिका १० कमलविनायकस्थित यचु होटल ।

भक्तपुर - पर्यटकीय नगर भक्तपुरको सबैभन्दा ठूलो भनिएको एउटा होटल सञ्चालनमा आएपछि विवादमा तानिएको छ । भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले सञ्चालनमा ल्याएको होटल यातु (अहिलेको नाम होटल यचु) विवादमा तानिएको हो।

विवरण अनुसार महासंघका पूर्वउपाध्यक्ष ताम्राकार, सरु महत र होटेल डे कोर्टियार्डको संयुक्त लगानी रहने गरी २०७३ फागुनमा होटल यातुको नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको विवरणमा ताम्राकारको ५२ प्रतिशत, सरु महतको २४ प्रतिशत र होटेल डे कोर्टियार्डको २४ प्रतिशत सेयर रहने गरी उल्लेख छ । कुल पुँंजी दुई करोड गरी होटल यातुको नाममा कम्पनी दर्ता गरिएको थियो । तर ताम्राकारले होटल यचुको नाममा होटल सञ्चालनमा ल्याएपछि विवाद सुरु भएको हो ।

विवरण अनुसार ताम्राकारले एक्लै होटल चलाउन ६ वर्ष लगाएर भवन निर्माण सम्पन्न गरेका थिए । त्यसपछि ताम्राकार आफैं अध्यक्ष हुने गरी मनसुनविक्रम शाहले साझेदारका रुपमा प्रस्ताव राखेपछि ताम्राकार राजी भएका थिए । कम्पनी दर्ता प्रक्रियाको क्रममा मनसुनविक्रम शाहले आफू जापानी नागरिक भएका कारण आफ्नो नाम नभई श्रीमती भनी सरु महत र होटेल डे कोर्टियार्डलाई हिस्सेदार बनाएका थिए ।

सोही आधारमा आ–आफ्नो सेयर लिने कबुल अनुसारको हिस्सा रकम कम्पनीमा जम्मा गर्ने मौखिक समझदारीमा कम्पनी रजिस्ट्रारको कार्यालयको सेयर दर्ता किताबमा दर्ता गरिएको हो ।अन्य लगानीकर्ताले लगानी गर्न छाडेर होटल अलपत्रमा परेपछि ताम्राकार एक्लैले पैसा राखेर होटलको नाम अर्कै (यचु) राखी सञ्चालनमा ल्याएका थिए । होटल सञ्चालनमा ल्याएपछि विवाद सुरु भएको हो ।

होटलका मुख्य लगानीकर्ता ताम्राकारले होटल यातुको नाममा त्यति धेरै पैसा लगानी गरिसकेको अवस्थामा अन्य लगानीकर्ताले लगानी गर्न छाडेपछि होटेल यचुुको रुपमा अर्काे कम्पनी दर्ता गरेर होटल सञ्चालनमा ल्याएको जनाए । ताम्राकारले भक्तपुरकै ठूलो होटल बनाउने तयारी थालेसँंगै दुईजना पार्टनर आएपछि आँखा चिम्लेर पार्टनर बनाउँदा समस्या भएको सुनाए।

भक्तपुर नगरपालिकाको स्वीकृतिमा दुईवटा भवन र आफू बस्न अर्काे एउटा भवन २०७१ सालमै निर्माण गरी २०७२ सालमा भक्तपुर नगरपालिकाबाट निर्माण सम्पन्न प्रमाणपत्रसमेत प्राप्त गरिसकेको ताम्राकारले बताए । भक्तपुरको मौलिक परम्परालाई जगेर्ना गर्ने हेतुले भवनहरु निर्माण सम्पन्न गरेको उनले जनाए ।

उनका अनुसार भवनमा मासिक चार लाख भाडा तिर्ने मौखिक सहमति भएको थियो । मासिक भाडा चार लाखका दरले एक वर्षको एकमुष्ठ रकम ४८ लाख अग्रिम भुक्तानी गर्नुपर्ने प्रावधान सम्झौतापत्रमा उल्लेख छ । दोस्रो वर्षदेखि मासिक भाडा पाँच लाख बुझाउनुपर्ने र बाँकी तीन वर्षको लागि प्रत्येक वर्ष वार्षिक १० प्रतिशतका दरले वृद्धि गरी बहाल बुझाउने सम्झौतापत्रको बुँदामा उल्लेख गरिएको उनको भनाइ छ । तर सम्झौतापत्रमा हस्ताक्षरका लागि मुख्य व्यक्तिको रुपमा शाहकी श्रीमती भनिएकी सरु महतको र साक्षीको रुपमा मनसुनविक्रमको नाम उल्लेख गरिएको थियो ।

कति कारणले हो शाहले उक्त सम्झौतापत्रमा परिचय खुल्ने गरी हस्ताक्षर गर्न मानेनन् र अग्रिम बहाल रकम भुक्तानी गरी सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्ने विषयमा आफूले पटक–पटक अनुरोध गर्दासमेत आफ्नो पैसा नेपाल राष्ट्र बैंकले रोकेको भन्ने बहानामा सम्झौतापत्रमा हस्ताक्षर नै नगरेपछि समस्या भएको उनले सुनाए । अर्का लगानीकर्ता सरु महतले आफूहरुलाई जानकारी नै नदिई अर्कै नाममा होटल दर्ता गरी सञ्चालनमा ल्याएकाले विरोध रहेको जनाइन् ।
 

 

प्रकाशित: १४ असार २०७५ ०२:१६ बिहीबार

भक्तपुरकै होटल विवादमा