अर्थ

विराटनगर महानगरको बजेट साढे ४ अर्ब

विराटनगर– विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७५/७६का लागि करिब साढे ४ अर्बको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार विराटनगरमा आयोजित दोस्रो नगरसभामा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ४ अर्ब ४७ करोड८ लाख ४९ हजारको  बजेट सार्वजनिक गरेका हुन्। 

जसमा चालु खर्च तर्फ ३३ करोड ६८ लाख ५२ हजार, भौतिक पूर्वाधार निर्माणतर्फ ३ अर्ब २५ करोड ३ लाख रुपैया“ विनियोजन गरिएको छ। यस्तै सामाजिक सुरक्षा भत्ता तर्फ २० करोड, वातावरण तथा सरसफाई, विपद व्यवस्थापन, सूचना तथा प्रविधि व्यवस्थापन, संस्थागत विकास र सेवा प्रवाह र सुशासनका लागि ५ करोड ९३ लाख ३० हजार बजेट विनियोजन गरिएको छ। यस्तै सामाजिक विकास महिला तथा बालबालिका, स्वास्थ्य शिक्षा,कृषि तथा पशुपंछी कार्यक्रमको लागि ६२ करोड ४३ लाख ३४ हजार विनियोजन गरिएको पराजुलीले जानकारी दिए। 

मेयर पराजु्लीले आगामी आर्थिक वर्ष ०७५/७६का लागि महानगरपालिकातर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र क्षेत्रीय सहरी विकास परियोजनातर्फ १ अर्ब ९४ करोड २५ लाखको  अनुमानित बजेट प्रस्तुत गरिएको बताए। अनुमानित रकम मध्ये महानगरको आन्तरिक स्रोतबाट ५४ करोड ३ लाख, राजस्व बा“डफाँटबाट ३७ करोड ५ लाख ४ हजार रहेको छ। यस्तै, संघीय र प्रदेश सरकार वित्तीय समानिकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार, संघीय सरकार सशर्त अनुदान विषयगत कार्यालयतर्फ ४४ करोड ९६ लाख रहेको छ। 

यस्तै संघीय सरकार समपूरक र विशेष अनुदान १० करोड, संघीय सरकार सशर्त अनुदान ३६ करोड १५ लाख, वैदेशिक र अन्य संघ संस्था अनुदानबाट ४ करोड ४६ लाख ५० हजार प्राप्त हुने अनुमान छ। यस्तै जनसहभागिताबाट ३ करोड ५० लाख, नगरविकास कोष ऋण सहयोग १ करोड ८० लाख, महानगरपालिका मौज्दात ७ करोड रहेको छ।  

प्रकाशित: १० असार २०७५ १६:०८ आइतबार

विराटनगर महानगरको बजेट साढे अर्ब