अर्थ

पूर्वमा आधा घट्यो हरियो चिया

इलामको तारगाउँमा चिया टिप्दै किसान। तस्बिर : भीम/नागरिक

इलाम - चियाको राजधानी मानिने इलामसहित पूर्वी जिल्लाहरूमा हरियो चियापत्ती उत्पादन ठूलो परिमाणले घटेको छ। हावापानीका असरका कारण पोहोरको तुलनामा योपटक चिया उत्पादन आधा घटेको उद्योगी र किसानले बताएका छन्।

इलाम, पाँचथर र झापाका चिया बगानको हरियोपत्ती उत्पादन ह्वात्तै घटेपछि किसान चिन्तामा छन्। कहिले हावापानी र कहिले आवश्यक मलजल अभावले चिया उत्पादन अनिश्चित हुँदा किसानले घाटा बेहोर्नुपरिरहेको छ । प्राविधिक ज्ञान अभावले पनि चिया उत्पादनमा असर पुग्ने गरेको किसान बताउँछन्। तर, यो वर्ष चाहिँ चाहिएका बेला वर्षा नहुनु, हुस्सु लाग्नु र अनावश्यक समयमा बढी वर्षा भएका कारण चिया उत्पादनमा असर पुगेको किसानको भनाइ छ । फस्ट फ्लस (पहिलो टिपाइ)मा राम्रै उत्पादन भएपनि दोस्रो टिपाइदेखि उत्पादन आधाभन्दा कममा झरेको किसानले बताए । कतिपय किसानको बगानमा पहिलो टिपाइयता पत्ती नै पलाउन सकेको छैन भने कतिपय बगानमा थोरैमात्र पत्ती पलाएको छ।

पोहोर यतिबेला दिनहुँ ४ हजार किलो हरियोपत्ती प्रशोधन गर्ने इलामको साखेजुङस्थित हिमालयन सांग्रिला टि प्रोड्युसर्स प्रालिमा अहिले दिनको २ हजार किलो मात्रै प्रशोधन भइरहेको छ। उद्योगलाई हरियो पत्ती अभाव हुँदा क्षमताअनुसार उत्पादन गर्न नसकेको उद्योग सञ्चालक कमल मैनालीले बताए। कारण के हो भन्ने थाहा भएन तर आधाभन्दा बढी नै उत्पादन घटेको छ,’ उनले भने, चाहिएका बेला पानी पर्दैन, नचाहिएका बेला पानी बढी पर्दा पनि हरियो पत्तीलाई असर पुगिरहेको छ।’ उनले सधैं चैत–वैशाखमा पहिलो टिपाइ र जेठमा दोस्रो हुने गरेकामा यो पटक साउनतिर मात्रै दोस्रो टिपाइ हुने सम्भावना रहेको बताए । पहिलो टिपाइको चिया वर्षकै सबैभन्दा गुणस्तरीय र दोस्रो टिपाइको चिया त्योभन्दा केही कम गुणस्तरको मानिन्छ।

सूर्याेदय नगरपालिकाका चिया किसान सनम राईले हरियो चियापत्ती यो वर्ष पोहोरभन्दा आधाभन्दा कम भइसकेको बताए । कहिले यसरी ह्वात्तै उत्पादन घट्छ, कहिले अलि–अलि बढ्छ, यो वर्ष धेरै नै घट्यो,’ उनले भने, किन यसरी हरियो पत्ती ह्वात्तै घट्छ भन्ने प्राविधिक ज्ञान पनि छैन हामीलाई । जति उत्पादन हुँदैछ, त्यतिमै चित्त बुझाउनुपरेको छ।’

देशभरका किसानले अहिले हरियो पत्ती उत्पादन घटेको बताएको केन्द्रीय चिया सहकारी संघले जनाएको छ। संघमा आबद्ध किसान र कारखानाले यो वर्ष पोहोरभन्दा थोरै पत्ती प्रशोधन गरिरहेका छन्। संघ अध्यक्ष गोविन्द दाहालले आफ्नै ग्रिनहिल सहकारी चिया प्रशोधन उद्योगमा यो वर्ष हरियो चिया प्रशोधन घटेको बताए। किसानले चिया पलाएकै छैन भन्छन्, हरियो पत्ती उत्पादन ह्वात्तै घटेको छ,’ उनले भने, हाम्रोतिर चाहिँ वर्षा बढी भएकाले चिया पलाउन नसकेको हो।’ उनले पहिलो टिपाइयता दोस्रो टिपाइ हुन धेरै समय लागेकाले उत्पादन घटेको जनाए।

संघमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, झापालगायत जिल्लाका १ सय सहकारी आवद्ध छन्। ती सहकारीमा ३० हजार व्यावासायिक चिया किसान संलग्न रहेको संघको तथ्यांक छ। अहिले सबै जिल्लातिर चिया उत्पादन पोहोरभन्दा घटेकै तथ्यांक आइरहेको छ,’ अध्यक्ष दाहालले भने, 'हावापानी नमिल्दा चियापत्ती पलाउन समस्या पर्छ, यो वर्ष पनि त्यही भएको हो।’

जिल्लाको पूर्वी क्षेत्रका चिया उद्योगमा हरियो पत्ती उत्पादन अझ घटेको छ। गतवर्ष यतिबेला १८ हजार किलो हरियो पत्ती प्रशोधन गर्ने सूर्याेदय नगरपालिकास्थित इलाम टी प्रोड्युसर्स प्रालिमा अहिले दिनको ७ देखि ९ हजार किलो मात्रै प्रशोधन हुँदैछ। 'पोहोरभन्दा आधाले नै उत्पादन घटेको छ,’ प्रालिका कर्मचारी हेमचन्द्र चापागाईंले भने, 'बोटमा पत्ती नै कम पलाएको छ, यो वर्ष हामीले गुणस्तर पनि अलि बढाएकाले पत्ती कम भएको हुनसक्छ।’ उनले वर्षा र हुस्सुले पनि हरियो चियालाई असर पु-याएको बताए। श्रीअन्तुस्थित इलाम टि प्रशोधन उद्योगमा आउने हरियो पत्ती पनि यो वर्ष आधाले कम छ। गतवर्ष सबैभन्दा थोरै हुँदा पनि यतिबेला दैनिक ११ हजार किलो हरियोपत्ती उद्योगमा प्रशोधनका लागि आउन गरेको थियो। अहिले त्यही ठाउँमा दिनको ६ हजार किलो मात्रै उत्पादन भइरहेको उद्योगले जनाएको छ।

झापामा पनि यो वर्ष हरियो चिया उत्पादन करिब आधाले घटेको छ। टोकला चिया बगानमा गतवर्षको यही सिजनमा दैनिक १८ हजार किलो हरियोपत्ती उत्पादन हुने गरेकामा यो वर्ष १३ हजार किलोमात्रै भइरहेको बगानले जनाएको छ। बगान प्रबन्धक राजु सिनाले हावापानीकै असरले यो वर्ष चिया प्रशोधन घटेको बताए। 'गतवर्ष टिपेकै क्षेत्रफलमा यो वर्ष आधा मात्रै उत्पादन भइरहेको छ,’ उनले भने, 'हावापानीकै सबैभन्दा ठूलो असर हुनसक्छ।’ झापाका हल्दीबारी र अन्य चिया बगानमा पनि चिया उत्पादन घटेको किसानले बताएका छन्।

पाँचथरका किसान र उद्योगीले पनि यो वर्ष हरियो चिया पत्ती उत्पादन घटेको जनाएका छन्। हिउँदमा प्रसस्त वर्षा नभएको र वर्षामा हुस्सु बढी लागेकाले उत्पादनमा असर पुगेको हो । गतवर्षहरूको तुलनामा यो वर्ष पहिलो चिया टिपाइ पनि ढिलो भएको थियो । हिउँदमा सुक्खा र चैत–वैशाखमा मौसम धुम्म भएकाले हरियो पत्ती बेला पलाउन सकेको थिएन।

पुस–माघमा पानी नपरेर चियाको हरियो पत्ती पलाउन ढिलो भएको थियो । फागुन अन्तिमतिर चाहिँ पानी परेर मौसम नखुलेकाले हरियो पत्तीमा असर पुगेको उद्योगी र किसानले बताएका छन्। पोहोर फागुन अन्तिममा चियाको पहिलो टिपाइ सुरु भएपनि यो वर्ष वैशाख सुरुमा मात्रै भएको थियो। चमैतास्थित तीनजुरे चिया कृषक सहकारीका सरद तिम्सिनाले यो वर्ष चिसो बढी भएकाले पत्ती नपलाएर टिपाइ नै ढिलो भइरहेको बताए। 'बेलामा वर्षा भएन, पहिलो टिपाइमा घाम लागेन,’ उनले भने, 'मौसम नमिलेर उत्पादन ढिलो भइरहेको छ।’ सहकारीको उद्योगमा गतवर्ष २७ हजार किलो हरियो पत्ती उत्पादन भएको थियो।

केन्द्रीय चिया सहकारी संघले देशका कम उचाई भएका स्थानमा समयमा वर्षा अभावले चिया टिपाइ टिपाइ ढिलो भएको जनाएको छ। संघका महासचिव रविन राईले औलाली भेगमा टिपाइ ढिलो भएपनि लेकाली भेगमा चिया टिप्ने समय हुँदैगरेको बताए। 'छिटफुट सहकारीका किसानले चिया टिप्न थालेका छन्, धेरैले टिप्न थालेका छैनन्,’ उनले भने, 'वर्ष वर्षा कम भएकाले उत्पादनमा असर पुग्ने सम्भावना छ ।’ नेपाल चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ४१ करोड ३ लाख ११ हजार रुपैयाँको तयारी चिया विदेश निर्यात भएको थियो। कुल उत्पादनमध्ये अर्थाेडक्सको ५५ लाख र अर्गानिकको हिस्सा ३ लाख किलो छ।

प्रकाशित: १० असार २०७५ ०६:०५ आइतबार

पूर्वमा आधा घट्यो चिया