अर्थ

सडक निर्माणमा ढिलाइ

धनगढी – व्यापारिक दृष्टिले निकै महत्वपूर्ण मानिएको धनगढीको मोहनापुलदेखि अत्तरिया सम्मको ‘छ लेन‘ सडक निर्माण समयमै पूरा नहुने देखिएको छ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी गतवर्ष जेठ महिनामा निर्माण कम्पनीसँग सम्झौता भएको उक्त सडकको निर्माणको एक वर्ष अवधि पुग्न लाग्दा झण्डै १२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।

सडक क्षेत्रभित्र बनाइएका घर लगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादका साथै बालुवा, ढुंगा, गिट्टी लगायतका नदीजन्य साम्रगी समयमा उत्खनन गर्न नपाइएको, चुनावको समयमा काम हुन नपाएको जस्ता कारण निर्धारित समयभित्र निर्माण हुननसक्ने देखिएको मोहनापुल अत्तरिया सडक आयोजना कार्यालयका सव इञ्जिनियर भूपेन्द्र वडालले बताए।

“निर्माण पूरा हुन तोकिएको समयभन्दा बढी समय लाग्ने देखिएको छ,” उनले भने, “निर्माणाधीन सडकमा गाडिएका बिजुली र टेलिफोनका साविकका खम्बा स्थानान्तरण गर्न बाँकी नै छ।”

सडक क्षेत्रमा परेका घर लगायतका संरचना सर्वोच्च अदालतको आदेशपछि हाल सम्बन्धित घर धनीले भत्काएर सडक क्षेत्र खाली गरिहरहेका छन्। घर संरचना मुआब्जाबिना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका १३ घरधनीले मुद्दा दिएकोमा सर्वोच्च अदालतको आदेशपछि हाल त्यस्ता घर संरचना हटाउन थालिएको हो।

सडक ऐन, २०३१ ले सडकको चौडाइ ८२ फिट (२५मिटर) तोकेको भए पनि तत्कालीन धनगढी नगरपालिकाले ७५ फिटमा घरको नक्सापास गरेका कारण ट्राफिक चौराहादेखि बोराडाँडी सम्मको करिब दुई किलोमिटर लामो सडकको भागमा ६ लेन सडक निर्माण गर्न तीन महिनासम्म समस्या भएको थियो।

धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदाबरी नगरपालिकाको अत्तरिया बजार सम्मको १४ किलोमिटर लामो सडकमध्ये बजार क्षेत्रको १० किमि लामो भागमा ‘छ लेन‘ र ग्रामीण क्षेत्रको चार किलोमिटर लामो भागमा ‘चार लेन‘ सडक निर्माण गर्ने लक्ष्य छ।

कूल लागत १ अर्ब ५० करोड रहेको सो सडक निर्माणका लागि चालु आवमा  ५० करोड ८० लाख बजेट विनियोजन गरिएको छ। तीनवटा प्याकेजमा निर्माण हुनलागेको उक्त सडकको मोहनापुलदेखि बोराडाँडी सम्मको चार दशमलब पाँच किलोमिटर लामो भागको सडक निर्माण शर्मा अमर नागार्जुन जेबिले, बोराडाँडीदेखि गेटाको आरपी प्लोर मिलसम्मको ४ दशमलब ५ किमि लामो सडकको लामा राजेन्द्र डाँफे जबि र प्लोर मिलदेखि अत्तरिया बजारसम्मको ५ दशमलब १९७ किमि सडकको लामा राजेन्द्र डाँफे जेबिले निर्माणको ठेक्का पाएको छ।

प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीमा सडक सञ्जालको विकासका लागि पहिलो पटक ठूलो बजेट रकमसहित छ लेन सडक निर्माणाधीन भएबाट यस क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास गरिएको छ।     (रासस)

प्रकाशित: २६ वैशाख २०७५ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App