अर्थ

सैलुनबाट स्वरोजगार

हटियामा ग्राहकको कपाल काट्दै नरेन्द्रबहादुर राई। तस्बिर सौजन्य : इन्द्र कसजू

खोटाङ – काम सानो वा ठूलो हुँदैन। कामलाई विभेद नगरे आफ्नै गाउँमा स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सोलुखुम्बु सोताङका नरेन्द्रबहादुर राई। सोताङ गाउँपालिका–३ सोताङ खहरेका ६३ वर्षीय राईले घरैमै सैलुन व्यवसाय सञ्चालन गरेर आम्दानी गरिरहेका छन्।

१६ वर्षअघि केयर नेपालबाट कपाल काट्ने तालिम लिएका राई निरन्तर सैलुन व्यवसायमा संलग्न छन्। राईले घरमा बाहेक हरेक शुक्रबार सोताङबजारको शिवटारमा लाग्ने हटियामा समेत एक दिन सैलुन व्यवसाय सञ्चालन गर्छन्। घरको सैलुनबाट भन्दा हटियाबाट बढी आम्दानी लिने गरेको उनी बताउँछन्।

सामान्यतः उनको घरमा विभिन्न उमेर समूहका गाउँले कपाल छोट्याउन र मिलाउन आउँछन्। विवाहका लागि बेहुला बन्ने ठिटो वा शुभकार्यमा सहभागी हुनेक्रममा कपाल मिलाउन आउने स्थानीय पनि उत्तिकै हुन्छन्। ‘तर, सैलुनबाट राम्रो आम्दानी आउने स्रोत भने शुक्रबारे हटिया नै हो,’ उनी भन्छन्। सोताङ, बुङ, छेस्काम, गुदेल, पावै लगायत वडाका स्थानीयको जमघट हुने हटियामा उनले सोचेजति ग्राहक पाउँछन्।

हटियाको छाप्रोभित्र कुर्सी, भित्तामा ऐना, कैंची, काँगियो, ब्लेड, तौली लगायत सामग्री लिएर उनी ग्राहकको प्रतिक्षामा बस्छन्। हटियाका दिन सधैंजसो दिनभर कपाल काट्नमै व्यस्त रहन्छन् उनी। हरेक हटियाका दिन कपाल काटेर सात–आठ सय रुपैयाँ आम्दानी हुने गरेको राई बताउँछन्। ‘गाउँमै सेवा दिन पाएको छु, आम्दानी पनि राम्रै छ,’ राईले भने, ‘आफ्नै ठाउँमा केही गर्दा आत्मसम्मान मिलेको छ।’

सैलुन व्यवसायको आम्दानीबाट सन्तुष्टी मिलेको राई बताउँछन्। वरपर अन्य सैलुन नभएकाले पनि राईले राम्रो आम्दानी हुने गरेको बताउँछन्। राईको सैलुनको विकल्पमा सो क्षेत्रबाट हुंगा खोला र दूधकोसी पार गर्दै सल्लेरी पुगे मात्र अरु सैलुन भेटिन्छ।

प्रकाशित: १० वैशाख २०७५ ०६:१२ सोमबार

सैलुनबाट स्वरोजगार