अर्थ

विराटनगरमा रोजगार मेला लाग्ने

विराटनगर – नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा तीन दिने रोजगार मेलाको आयोजना गर्ने भएको छ।

नेपाल घरेलु तथा साना उद्योग सो महासंघका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले सोमबार पत्रकार सम्मेलन गरेर वैशाख ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको जानकारी गराए।

आइएलओ, रोजगार विभाग, श्रम कार्यालय सूचना केन्द्र समेतको सहयोगमा एलिट क्लबको हाताभित्र सो मेलाको आयोजना हुने भएको छ।

रोजगार मेलामा रोजगारीको अवसर खोज्ने र रोजगारी दिन दक्ष कर्मचारीको खोजी गर्ने, संघसंस्थाबीच समन्वयकारी भूमिका खेल्दै एकापसमा मिलाउन पुलको काम मात्र गर्ने उहाँले जानकारी गराए।

मेलामा करीब २०० उद्योगीलाई सहभागी गराइने भएकाले त्यसबाट करीब ५०० बेरोजगार युवा लाभान्वित हुने अनुमान गरिएको बताइएको छ।    (रासस)

प्रकाशित: ४ वैशाख २०७५ ०५:४८ मंगलबार

विराटनगरमा रोजगार मेला लाग्ने