नेपालका प्रमुख १० भन्सारमध्ये कपिलवस्तुको कृष्णनगर भन्सारमा मालबाहक सवारी साधनमा भएको मालसामानको वास्तविक तौलभन्दा कम देखाइ भन्सार पास गरिने गरेको तथ्य बाहिरिएको छ।
भारतबाट आयत गरिने मालबाहक सवारी साधनमा रहेको सामानभन्दा कम तौल देखाइ भन्सार पास गरिने गरेको हो। भारतबाट पैठारी भई आउने मालसामानको न्यून बिजकमा कम तौल देखाएर बढी मालसामान पठाइने गरेको कृष्णनगर क्षेत्रका ब्यापारीहरू बताउँछन्। भन्सारको यार्डमा रहेको तौल मेसिन बिग्रेकाले मर्मतसमेत नगराउने र ओभरलोड गाडीलाई कम तौल देखाएर पठाउने गरिएको ब्यापारी बताउँछन्।
दुई सताअघि डिजेल जेनेटर लोड गरेको भारतीय नम्बर प्लेटको गाडी एनएल ०१ एएच ५१८९ ले गर्दा दुम्कीबासमा रहेको पुल नै भासिएको घटना बाहिरिएको थियो। उक्त गाडी कृष्णनगर भन्सारबाट जाँचपास भई गएको र ओेभरलोडले गर्दा पुल भासिएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जनाएका थिए। ७२ चक्के र सय टनभन्दा बढी भार भएकाले पुल भासिएको कुरा सार्वजनक भएको थियो।
माघ ४ गते बिहान १० बजेतिर भन्सार पास भई कृष्णनगरबाट सिद्रा माछा बाकेर चन्द्रौटातर्फ जाँदै गरेको ५३ एफटी ६८६९ नम्बरको मिनी ट्रकलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले जाँच गर्दा त्यहाँ पनि वास्तविकभन्दा कम तौल देखाइएको पुष्टि भएको थियो।
भर्पाइमा दुई हजार ६ सय २६ किलो देखाइए पनि तौल गर्दा दुई हजार आठ सय ३० केजी माछा देखिएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए। भर्पाइमा भन्दा दुई सय पाँच केजी माछा कम देखिएको अधिकारीले बताए।
माछा प्रतिकेजीको पाँच सयका दरले कुल १४ लाख पन्ध्र हजार र गाडीको ३५ लाख गरी कुल ४९ लाख ५० हजार कायम गरिएको छ। सो गाडीका चालक भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना साहेजनवा ग्राम केशवापार बस्ने वर्ष ४७ को शिवशंकर रायले कपिलवस्तु शिवराज नगरपालिका ७ बस्ने दुर्गाप्रसाद यादवलाई सो माल गाडीसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले बताए।
भन्सारमा भन्सार एजेन्टसँग मिलेमतो गरी कम भन्सार देखाउने गरिएको ब्यापारीको भनाइ छ। भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ भट्टराईले भन्सारमा सय टनसम्म तौल गर्ने धर्मकाँटा मात्र रहेको बताए।
आफूहरूले ब्यापारीहरूले देखाउने बिलकै आधारमा भन्सार गर्ने गरेको दाबी गरे। सामान्यभन्दा बढी नै फरक देखिने गरी मालसामान भएको शंका लागे मात्रै तौल गर्ने गरिएको उनले बताए।
‘हामीले ब्यापारीहरूले देखाएको बिलकै आधारमा भन्सार पास गर्दै आएका छौं’, उनले भने, ‘यसमा हाम्रो अरू कुनै संलग्नता छैन’, उनले भने। भन्सारमा मूल्य र तौलको गरी दुई किसिमको भन्सार गर्ने गरिएको बताए।
भन्सार प्रमुख फणिन्द्र खतिवडाले सडकको क्षमता र ओभरलोड भन्दा आफूहरूले सामानको मूल्यांकन गरेर भन्सार पास गर्ने गरेको बताए। ‘ब्यापारीहरूले देखाउने मालसामान र त्यसको मूल्यका आधारमा भन्सार गर्छौं, हाम्रो नियम यही हो’, उनले भने। सडकको भारको विषय आफूहरूको नभएको उनले बताए।
प्रकाशित: ७ माघ २०८१ ०८:३८ सोमबार