अर्थ

मोदीले ‘उद्घाटन समय’ नदिँदा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपूर्ति अन्योलमा

नेपाल आयल निगमको अमलेखगञ्ज डिपो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटनका लागि समय नदिँदा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणबाट पेट्रोल र मट्टितेल आपूर्ति गर्ने प्रक्रिया अन्योलमा परेको छ।

नेपाल आयल निगमले सबै तयारी पूरा गरिसकेको भए पनि भारतीय पक्षबाट सहकार्यको अभावले पाइपलाइन सञ्चालन अनिश्चित बनेको हो।

नेपाल आयल निगमका मधेस प्रादेशिक कार्यालय प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पाइपलाइनबाट परीक्षणस्वरूप यसअघि नै पेट्रोल र मट्टितेल सफलतापूर्वक ल्याइएको थियो।

‘दोस्रो चरणमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपूर्ति सुरु गर्न नेपाल–भारत दुवै देशका प्रधानमन्त्रीको संयुक्त उद्घाटन आवश्यक पर्छ।’ उनले भने।

गत असोजमा ५,५०० किलोलिटर पेट्रोल र मंसिरमा १,००० किलोलिटर मट्टितेल पाइपलाइनमार्फत ल्याई सफल परीक्षण गरिएको थियो। निगमले चार अर्ब रुपैयाँको लगानीमा अमलेखगञ्ज डिपोमा भण्डारण क्षमता विस्तार, अटोमेसन प्रणाली, र नयाँ ल्याब निर्माण गरेको छ।

यस परियोजनामा भारतीय आयल कर्पोरेशनले एक अर्ब र नेपाल आयल निगमले तीन अर्ब रुपैयाँ लगानी गरेको छ। पाइपलाइन सञ्चालनले वार्षिक १ अर्ब ८० करोड रुपैयाँको बचत हुने निगमका अधिकारीहरूको दाबी छ।

भारतका प्रधानमन्त्रीले उद्घाटनका लागि समय नदिएका कारण पाइपलाइनमार्फत नियमित आपूर्ति कहिले सुरु हुने स्पष्ट छैन। प्रमुख आचार्यले भने, ‘यही पुसको अन्तिम साताबाट पाइपलाइन सञ्चालन हुने अपेक्षा गरिएको थियो, तर अनिश्चितताका कारण माघसम्म ढिलाइ हुन सक्नेछ।’

पाइपलाइन सञ्चालनपछि इन्धन चोरी, मिसावट, र ट्रक ट्याङ्कर दुर्घटनामा कमी आउने र वातावरणीय प्रदूषणसमेत नियन्त्रण हुने विश्वास छ।

दोस्रो चरणअन्तर्गत अमलेखगञ्ज डिपोमा चार नयाँ भर्टिकल ट्याङ्क, दुई ट्रान्समिक्स ट्याङ्क, र अग्नि नियन्त्रण प्रणाली जडान गरिएको छ। २४ वटा पूर्ण स्वचालित लोडिङ–वे तयार गरिएका छन्।

६९.२ किलोमिटर लामो मोतिहारी–अमलेखगञ्ज पाइपलाइनमा भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६.२ किलोमिटर रहेको छ। विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो चरणको पाइपलाइन संयुक्त रूपमा उद्घाटन गरेका थिए।

अमलेखगञ्ज डिपो हाल १५,११० किलोलिटर पेट्रोल, २४,८१० किलोलिटर डिजेल, र २,२७० किलोलिटर मट्टितेल भण्डारण क्षमतासहित सञ्चालनमा छ। यहींबाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरका डिपोहरूमा इन्धन आपूर्ति भइरहेको छ।

प्रकाशित: १३ पुस २०८१ १९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App