अर्थ

विदेशबाट फर्केर फुलेका पौरखीहरू

अचेल धेरैले सबै विदेश गए देशमा काम गर्ने कोही भएनन् भन्ने गुनासो गरेको सुनिन्छ । तर, विदेशमा श्रम गरेर फर्केपछि ल्याएको सिप, पैसा र जाँगरले देशमै उद्यमतर्फ आकर्षित हुन पनि उत्तिकै प्रेरणा दिइरहेको छ । 

वैदेशिक रोजगारीबाट फर्केका केही उदाहरणीय व्यक्तिको उपलब्धि हेर्दा पानीको गिलास आधा रित्तो मात्र छैन आधा भरिएको पनि छ ।

वैदेशिक रोजगारीका लागि २०७४ सालमा विनोद मंग्राती साउदी अरेबिया पुगेका थिए । तर, विदेशी मरुभूमिमा काम गर्नका लागि उनको ढोका सधैँका लागि बन्द भयो । साउदी भूमिमा पाइला परेको २० दिन नहुँदै सडक दुर्घटनामा परेर उनी नेपाल फर्किनु पर्‍यो । 

सडक दुर्घटनामा परेर उनले आफ्नो एक खुट्टा गुमाए । उनको सहारा भनेकै अहिले बैसाखी हो ।

परिवारको खुसी खोज्दै बिदेसिएका उनी नेपाल फर्केर २ वर्षसम्म आफ्नो उपचार खर्चको दौडधुपमा हुन्छन् । 

काठमाडौंमा छोराछोरीलाई डेरामा छाडेर कमाउन बिदेसिएका विनोदले परिवारकै भरमा उपचार गराइरहेका थिए । उनको दिन सधैँ उस्तै रहेन । 

दिनचर्या कसरी चलाउने भन्दै चिन्ताले घेरिएका विनोदको भेट पौरखी नेपालसँग भयो । काठमाडौंमा छोराछोरीलाई पढाउँदै आएका विनोद आफ्नो परिवारप्रति निकै चिन्तित रहेको पौरखी नेपालाई बताउँछन् ।   

कोभिड–१९ अघि नै नेपाल फर्किएका उनी पौरखी नेपालको सल्लाहअनुसार आफूले जानेको मोबाइल मर्मतको काममा लागे । वैदेशिक रोजगारीले अङ्गभङ्ग भएका विनोद मोबाइल मर्मत मात्र गर्दैनन्, उनी खाली समयमा चार पांग्रे स्कुटरमा पठाओको काम पनि गर्छन् । 

‘विदेश फापेन त्यसैले नेपालमै केही गर्छु भनेर मोबाइल मर्मतको काम थालेँ,’ उनले भने, ‘कोभिड–१९ पछि बजार अलि खस्केको छ । जसले गर्दा काठमाडौं जस्तो ठाउँमा बस्न र परिवार पाल्न धेरै गाह्रो भएपछि पठाओको काम पनि थालेको छु ।’

वैदेशिक रोजगारीका क्रममा अपाङ्ग बनेको शरीर लिएर उनी काठमाडौंको गल्ली गल्लीमा ‘राइडर’ को काम गर्छन् । जसले गर्दा उनको आर्थिक सहयोग अलि बलियो भएको छ । 

‘काम गरेर परिवार पाल्नै प¥यो,’ उनी भन्छन्, ‘मोबाइल मर्मतको काम सकेपछि पठाओ गर्छु । चार पाङ्ग्रे स्कुटरमा मसँगै बैसाखी पनि हुन्छ ।’ 

आफू अशक्त भए पनि सपाङ्ग सरह काम गरिरहेका उनी आफैँमा खुसी खोजिरहेका छन् । 

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगको संयोजकत्वमा पौरखी नेपालले सञ्चालन गरेको कामदारको सुनुवाइ कार्यक्रममा बिहीबार विनोदले यी प्रेरक अभिव्यक्ति दिएका थिए ।  

वैदेशिक रोजगारीको सिलसिलामा १० वर्ष लेबनान बसेर फर्केपछि अचार व्यवसायमा रमाइरहेकी काभ्रेकी मिङमा तामाङको कथा पनि कम्ती रोचक छैन । २०७२ सालमा साउदी अरेबिया पुगेकी मिङमा काठमाडौं जोरपाटीमा ‘मिङमाको अचार’ ब्रान्डको व्यापार गरिरहेकी छिन् । 

उनले ‘अचार खायो भने पेट दुख्छ’ भन्नेहरूलाई नखाई नहुने परिकारका रूपमा प्रस्तुत गरिरहेकी छन् । । उनको अचारले पेट दुख्दैन बरु शरीरका निम्ति नभई नहुने कतिपय तत्त्व प्राप्त हुने विश्वास दिलाउने गरेकी छन् । उनी जस्तो पायो त्यस्तै अचार बनाउँदिनन् । उनी मासुको अचारसमेत बनाएर भिन्न स्वाद पस्किन थालेकी छन् । 

‘सुरुमा मासुको अचार आफैले खान बनाएकी थिएँ,’ उनले भनिन्, ‘तर, घरबेटी र साथीभाइलाई चाख्न दिएपछि मैले बनाएको मासुको अचारको महत्त्व थाहा पाएँ । अरूले यो अचार बजारमा पु¥याउने हो भने सबैको मुख मिठो हुन्छ भन्न थालेपछि मैले अचार व्यवसाय सुरु गरेको हो ।’

उनले मासुको अचारमा जिरा, मेथी, तोरी, ल्वाङ र सुकमेलसमेत राखेर बनाउने गरेकी छन् । वैदेशिक रोजगारीबाट फर्किएकी उनी अहिले जोरपाटीमा रहेको आफ्नो मिङमा अचारमा व्यस्त छन् । आफ्नो व्यवसाय बढाउन सरकारले केही आर्थिक सहयोग गरे देशको नाम राख्ने चाहना उनको छ ।  

विनोद र मिङमा जस्तै वैदेशिक रोजगारीको सिलसिलामा दश वर्ष लेबनानमा बिताएर देश फर्के लगतै आफ्नै व्यवसायमा रमाएकी म्याग्दीकी सुजना राणा पनि एक हुन् । काठमाडौं सामाखुसीमा सय रुपैयाँमा सादा खाना बेचिरहेकी सुजना आफ्नै व्यवसायमा सहर्ष व्यस्त छिन् । विदेशमा काम गरेर बिताउने समयले नेपालमा केही गर्नुपर्छ भन्दै फर्किएको उनले बताइन् । 

‘विदेशमा दुःख गर्ने समय नेपालमै खट्न सकिन्छ,’ उनले भनिन्, ‘विदेशमा भाडा माझ्ने देखि शौचालय सफाइ र अन्य काम गर्न लाज मान्दैनन् । तर, त्यही काम नेपालमा गर्न पछि पर्छन् । मलाई ठुलो नोकर हुनु भन्दा सानो मालिक हुनुमा गर्व छ ।’ उनी अहिले सानै व्यवसाय भए पनि आफू मालिक भएको बताउँछिन् । 

‘साउदीमा दश वर्ष भान्छामा काम गरेर आएकी हुँदा यहाँ काम गर्न सजिलो भएको छ । विदेशमा दश वर्ष सिकेको सीपलाई नेपालमा लगानी गरेको फाइदा भएको छ । सय रुपैयाँमा सस्तो, सफा र मिठो खाना बनाएर बेचेपछि ग्राहकको दिनहुँ घुइँचो हुन्छ । बिहान बेलुका निकै व्यस्त हुन्छु,’ उनले भनिन् ।

आफै मालिक आफै कामदार भएकोमा सबै चकित हुने गरेको अनुभव उनको छ । 

‘म आफै खाना बनाउँछु र अरूलाई पस्किन्छु पनि गर्छु । त्यति मात्रै नभएर भाडा माझ्ने सरसफाइमा ध्यान दिने र शौचालय चिटिक्क पार्ने काम गर्छु । मेरो खाना पसलमा कोही कामदार राखेकी छैन,’ उनले पनि सुनुवाइ कार्यक्रममा भनिन् । 

यस्ता आर्थिक गतिविधिका लागि पौरखी नेपालले प्रोत्साहन गरेका सुजनाले बताइन् । विनोद र मिङमा जस्तै सरकारले विदेशबाट केही गर्छु भनी फर्किएका कामदारलाई आर्थिक सहयोग जुटाइदिए हुन्थ्यो भन्ने चाहना सुजनाको पनि छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले विदेशबाट फर्केर देशमै उद्यम गरिरहेका व्यक्तिको कामप्रति खुसी व्यक्त गरे । देशमै स्वरोजगार हुने लक्ष्य लिएर आएका कामदारका लागि सरकारले आवश्यक पहल गर्ने विश्वास उनले दिलाए ।  

विदेशबाट फर्केका श्रमिकले ल्याएका संस्कार, ज्ञान र सीपले देश बन्ने धारणा मन्त्री भण्डारीको थियो । ‘वैदेशिक रोजगारीबाट फर्केर आएका श्रमिकले मात्र यो मुलुक बनाउन सक्छन्,’ उनले भने, ‘बिदेसिएका जति पनि श्रमिकले काम गर्नु पर्छ भन्ने संस्कार सिकेर आएका हुन्छन् । विदेशको संस्कार, पुँजी र सीप यो देशको सम्पत्ति हो ।’

देशमा भएको श्रोत र साधनको सही सदुपयोग हुन नसकेको अनुभव मन्त्री भण्डारीको छ । ‘७७ वटै जिल्लामा सवारी साधन पुगेका छन्,’ उनले भने, ‘तर, त्यसको सही सदुपयोग हुन सकेको छैन । सीप र ज्ञान भएका युवा वैदेशिक रोजगारीमा जानु राम्रै हो । तर, विना सीप बिदेसिनु राम्रो होइन । सीपयुक्त भएर युवा बिदेसिने हो भने श्रमिकले धेरै दुःख पाउने थिएनन् । त्यसैले सीप र ज्ञानलाई आधार बनाई वैदेशिक रोजगारी जाने गरौँ ।’

प्रकाशित: ५ पुस २०८१ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App