अर्थ

पोखरा सडक महोत्सवः पाँचलाख पाहुनाको अपेक्षा

<br>

पोखरामा हुने सडक महोत्सवबारे सोमबार जानकारी दिँदै आयोजक। तस्बिरः नागरिक

आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रीय पोखरा सडक महोत्सवको २५ औं संस्करणको तयारी सुरु भएको छ। अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतार्थ हरेकवर्ष पोखरामा यो महोत्सव हुने गर्छ। पोखरामा भईरहेको यो महोत्सव विगत २५ वर्षदेखि निरन्तर छ।  

हरेक पटक एकै समय र अवधिका लागि रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले यो महोत्सव आयोजना गर्दै आएको छ। यो वर्ष पुस १३ देखि १७ गतेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव चल्नेछ। पाँचदिने यो महोत्सव लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा संचालन हुने आयोजकले सोमबार पत्रकार भेटघाट गरेर जानकारी दिएको छ।  

रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले यो पटकको मेलामा आन्तरिक र बाह्य गरि करिब ५ लाख पाहुना आउने अपेक्षा रहेको बताए। उनका अनुसार पाँचदिन अवधिमा स्थानीय पाहुनाको पनि लेकसाइड क्षेत्रमा पर्याप्त आउजाउ हुन्छ।

‘स्थानीयको आउजाउका साथै आन्तरिक र बाह्य गरि पाँचदिनको मेला अवधिमा करिब पाँचलाख पाहुना यो पटकको मेलामा आउने अपेक्षा हो,’ अध्यक्ष पौडेलले भने, ‘योपटक आन्तरिक पाहुनाबाट अलि बढी नै अपेक्षा छ। अघिल्ला वर्ष पनि आन्तरिक पाहुनाको आगमन पर्याप्त थियो।’

पछिल्लो समय राजमार्गको आउजाउमा केही असहज हुँदा गत दसैं तिहारताका आन्तरिक पाहुना प्रभावित हुँदा पर्यटन क्षेत्र केही चिन्तित थियो। दसैं अघिको वर्षाका कारण राजमार्गमा अवरोध निम्तिँदा आन्तरिक पाहुनाको हिडडुल प्रभावित भएको अवस्थामा अहिले केही सहज रहेकोले आन्तरिक पाहुनाको आगमन हुने अपेक्षा रहेको उनले बताए।

‘पोखरासँग पहुँचको समस्या हो। यतिबेला आउजाउ केही सहज भएकोले आन्तरिक पाहुना दसै तिहारको बेलामा भन्दा बढी आउने अपेक्षा गर्न सकिन्छ,’ उनले भने।

आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ को रुपमा पोखराको प्रर्वद्धन गर्न पनि यो कार्यक्रमले सघाउने उनले बताए। ‘सडक मै खाउ, सडक मै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना गर्न गइरहेको यो महोत्सव आफैमा एउटा गर्विलो इतिहास बनेको उनले बताए।  

महोत्सवमार्फत कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारको पहुँच दिलाउन, प्रचार प्रसार गर्न र व्यापार बढाउन सघाउने उनले बताए। सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान बनाउने माध्यम बनेको पनि आयोजकको भनाई छ। यो बेला भित्रिने विदेशी पर्यटकका कारण विदेशी मुद्राको पनि आर्जन हुने उनले सुनाए।  

मेला संयोजक विकास भट्टराईले पोखरामा सडक महोत्सव आयोजना गर्नु अघि अंग्रेजी नयाँवर्ष मनाउन धेरै नेपाली नागरिक विदेश जाने गरेकोमा अहिले महोत्सवका कारण रोकिने गरेको बताए। नेपालमा कुनैपनि आकर्षक कार्यक्रम नहुँदा घुम्न आएका विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कने गरेकोमा अहिले पोखरामै रोकिने गरेको उनले बताए।  

विगत २५ वर्ष देखिको निरन्तरको महोत्सवले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँवर्ष पोखरामा मनाउने वातावरण सिर्जना गराएको उनले बताए। उनका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन लगायतका गतिविधि पनि हुनेछन्।  

प्रकाशित: २४ मंसिर २०८१ १७:०६ सोमबार

पोखरा सडक महोत्सव रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखरा