मोरङका उद्योगीहरूले सरकारले अवसर नै नदिएको गुनासो गरेका छन्। उच्च स्तरीय आर्थिक सुधार आयोगले आइतबार विराटनगरमा आयोजना गरेको छलफल तथा अन्तर्क्रियामा उद्योगीहरूले सरकारले अवसर नै नदिएको गुनासो गरेका हुन्।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका उपाध्यक्ष प्रकाश मुण्दडाले सरकारको नीतिले नै उद्योग व्यवसाय बिस्तारमा अवरोध गरिरहेको गुनासो गरे। मुण्दडाले सरकारको नीति निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने र उद्योग व्यवसायमा सहयोग पुग्ने हुनुपर्ने तर, नेपालमा उल्टो अवस्था रहेको बताए।
मुण्दडाले भने, ‘उद्योगीलाई अवसर दिनुहोस् अनि हेर्नुहोस् देशको आर्थिक अवस्था कहाँ पुग्दो रहेछ।’ मुण्दडाले सरकारको नीतिले देशको आर्थिक वृद्धिलाई अवरोध गरिरहेकाले उच्च स्तरीय आर्थिक सुधार आयोगले उद्योग व्यापारका अवरोधलाई हटाउने गरी सरकारलाई सुझाव दिन आग्रह गरे। मुण्दडले अहिले नेपालमा अधिक उत्पादनको अवस्था रहेको बताए। युवाहरू विदेशीने क्रम बढेसँगै नेपालका उद्योगहरूको उत्पादनले बजार पाउन छाडेको उनले बताए। १२ कक्षा पास गरेपछि नेपाल नै नबस्ने प्रवृत्ति बढ्दै जाँदा युवा पलायनका कारण समग्र अर्थतन्त्र नै प्रभावित भइरहेको उनको भनाई छ।
एकातर्फ युवाहरूको पलायन र अर्कोतर्फ सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको आकर्षणले नेपाली उत्पादनले निरन्तर बजार गुमाइरहेको मुण्दडाले बताए। उनले सीमावर्ती भारतीय बजार मूल्यलाई आधार मानेर नेपालमा करका दरहरू निर्धारण गर्न र लचिलो कर नीति अवलम्बन गर्ने व्यवस्था गर्न सुझाव दिए।
विराटनगरका वरिष्ठ उद्योगी महेश जाजुले सरकारलाई सुझाव दिनु अँध्यारोमा ढुङ्गा हान्नु जस्तै भएको टिप्पणी गरे। जाजुले जतिसुकै सुझाव दिए पनि सरकारको व्यवहारमा परिवर्तन कहिल्यै नआएको गुनासो गरे। उनले भने,‘सरकारका मन्त्री, कर्मचारी, प्रधानमन्त्री सबैलाई बारम्बार सुझाव दिए पनि उद्योगीको सुझावलाई जहिलै बेवास्ता गरिएको छ।’ सरकारले विदेशी मुद्राको सञ्चिति बढेको अर्थतन्त्रमा सुधार आएको राम्रो तथ्याङ्क देखाउने गरेको भए पनि वास्तविकता सरकारले देखाएजस्तो नभएको जाजुले बताए।
जाजुले अवैध आयात र सीमावर्ती क्षेत्रमा हुने तस्करी नरोकेसम्म नेपालको अर्थतन्त्रमा सुधार आउनै नसक्ने ठोकुवा गरे। उनले करका दरलाई चर्को बनाएर धेरै राजस्व उठाउने सरकारको ध्येय नै उचित नभएको बताए। जाजुले चर्को कर लिएर धेरै राजस्व उठ्ने नभई उपभोक्ता भारतीय बजारतर्फ पलायन भई उठ्नुपर्ने राजस्वसमेत नउठ्ने अवस्था रहेको बताए। जाजुले नेपालको करको दर लचिलो बनाउन सुझाव दिए। उनले भारतको करको दरलाई आधार मानेर नेपालको पनि करको दरलाई परिमार्जन गर्न सुझाव दिए। जाजुले सरकारले नेपाली उत्पादन निर्यात गर्न सरकारले सहजीकरण नगरेको गुनासो गरे। उनले उद्योगीहरूले विदेशका ‘ट्रेड फेयर’मा आफ्ना उत्पादन प्रदर्शनी गर्न जाँदासमेत सरकारले स्टल राख्न पनि कुनै सहयोग नगरेको बताए। ‘आफ्नो पैसा लगानी गरेर विदेशी फेयरमा स्टल राख्नसमेत सरकारले सहयोग गर्दैन’ जाजुले भने‘निर्यातका लागि सरकारले अरु के सहयोग गर्ला?’
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले सरकारले नेपालको उद्योग व्यापार क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्था नै नगरेको आरोप लगाए। उनले परम्परागत रुपमा भएका नीतिहरू समय सान्दर्भिक नबनाएसम्म नेपाली उद्योग व्यापार क्षेत्रले फड्को मार्न नसक्ने स्पष्ट पारे। सारडाले भारतको व्यापार नीति हेरेर नेपालले पनि आवश्यक नीति तय गर्न सुझाव दिए। उनले भारतीय बजारसँगै धेरै मूल्य फरक नपर्ने गरी करका दरहरू परिमार्जन गर्ने र जुनसुकै वेला करको दरहरू परिमार्जन गर्न सकिने गरी कर नीतिलाई लचिलो बनाउनुपर्ने सारडाको धारणा छ।
प्रकाशित: ९ मंसिर २०८१ १७:२९ आइतबार