अर्थ

आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच बीमा सम्झौता

काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडबीच संघसंग आबद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ। 

उक्त सम्झौतापत्रमा आइएमई इन्स्योरेन्सका नायब महाप्रबन्धक शरण रेग्मी र मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरे। सम्झौता पश्चात मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसंग आबद्ध सबै मौरीपालक कृषकको मौरीको बीमा हुनेछ। 

सोही अवसरमा आइएमई इन्स्योरेन्सका नायव महाप्रबन्धक शरण रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएतापनि आजसम्म खासै मौरीपालक कृषकहरुले आफ्ना मौरीहरुको बीमा गराइनसकेकोे अवस्थामा संघसंगको संझौताबाट थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफ्ना मौरीको बीमा गरी ढुक्कसंग आफनो व्यवसायलाई विस्तार गर्न उत्साह पुग्ने अपेक्षा गरे। 

उनले मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडले आफना सदस्य कृषकहरुको व्यावसायिक हितलाई सदैव ध्यानमा राखी सराहनीय कार्य गरेकोमा संस्थाका अध्यक्ष लगायत संचालक समितिलाई धन्यवाद दिए। संस्था तथा संस्थासंग आबद्ध सदस्यलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन उनले आह्वान गरे।

कम्पनीका नायव महाप्रबन्धक पवन थापाको उपस्थिती रहेको कार्यक्रममा नायव महाप्रबन्धक रेग्मीले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्दै कम्पनी अगाडि बढिरहेको जानकारी दिए। 

प्रकाशित: २६ चैत्र २०७४ ११:२२ सोमबार

आइएमई इन्स्योरेन्स मौरीपालन सहकारी संघबीच बीमा सम्झौता