अर्थ

बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ। अनुकूल मौसम रसमयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो।

केन्द्र प्रमुख विनोद घिमिरेले किसानको मौसम अनुकूल भएकाले धानको उत्पादन बढेको तर यसलाई मापन गर्न ‘क्रस कटिङ’ को विधिअनुसार तथ्यांक आउनुपर्ने बताए।

उनले दसैंअघि नै त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए। ‘हामी फिल्डमा पुग्दा किसान उत्साहित देखिन्छन्, धानको उत्पादन पनि राम्रो भएको देखिएको छ’, उनले भने।

जिल्लाको ३४ हजार पाँच सय दुई हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ। यस वर्ष प्रति हेक्टर कम्तीमा ४–३ मेट्रिकटन धान उत्पादन हुने उनको अनुमान छ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका– ४ वैजापुरनिवासी हरेराम चौधरीले गत वर्षभन्दा यस वर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने बताए। उनले समयमा नै पानी परेको र समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने तर्क गरे।

–रासस

प्रकाशित: ३ कार्तिक २०८१ १३:२६ शनिबार