अर्थ

सावित्री र मुकाबिलामा दाना नलागेपछि चिन्तित चितवन

धानको बालामा दाना नलागेपछि चितवनका किसान चिन्तित बनेका छन्। राम्रो उत्पादन हुने आसमा सावित्री र मुकाबिला जातका धान लगाएका किसान बालामा दाना नलागेपछि चिन्तित बनेका हुन्।

पूर्वी चितवनमा सावित्री र पश्चिम चितवनमा मुकाबिला जातको धानका बालामा दाना नलागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जनाएको छ । मुकाबिला जातको धान पश्चिम चितवनका किसानले पहिलोपटक लगाएका हुन्। यो जातको धान खेतीका लागि नेपाल सरकारले सिफारिस नगरे पनि किसानले बढी फल्ने आशामा लगाएका हुन्। सावित्री धान भने किसानले पहिलादेखि रोप्दै आएका छन्।

भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका रामबहादुर बोटेले राम्रो उत्पादन हुने आसमा १३ कट्ठामा मुकाबिला जातको धान रोपेका छन्। उनका अनुसार पसाउने बेलासम्म बाला राम्रै देखिएको तर काट्ने बेलामा दाना लागेको छैन।

‘एक ठाउँमा १० र अर्को ठाउँमा तीन कट्ठामा मुकाबिला जातको नयाँ धान रोपेका थियौं,’ उनले भने, ‘काट्ने बेलामा त बालामा दाना नै छैन।’ उनले नजिकैको एग्रोभेटबाट धानको बिउ ल्याएर रोपेका थिए।

बोटेको मात्र होइन, सोही ठाउँका विजय घलेले पनि मुकाबिला जातको धानको बालामा दाना नलागेको बताए। राम्रो उत्पादन गर्ने लक्ष्यका साथ लगाएको नयाँ जातको धानको बालामा दाना नलागेपछि आफू चिन्तित भएको उनले बताए। ‘मैले १० कट्ठामा लगाएको मुकाबिला जातको धानको बालामा दाना लागेको छैन,’ उनले भने, ‘पश्चिम चितवनमा मुकाबिला जातको धानको बालामा दाना लागेको छैन। यो सबैको समस्या हो।’

बाली काट्ने बेलामा बालामा दाना नदेखिएपछि कृषि प्राविधिकलाई समेत देखाएको तर समस्या समाधान हुन नसकेको उनले बताए। ‘देखिने रोग केही छैन। बाला राम्रै देखिन्छन्’, उनले भने, ‘छाम्दा दाना छैन।’

मुकाबिला जातको धानमा दाना नलागेपछि यसलाई काटेर अन्य बाली लगाउने तयारीमा उनी छन्। जीविकाको मुख्य स्रोत रहेको धानमा दाना नलागेपछि आफूहरू जस्ता साना किसान समस्यामा परेको उनले बताए।

धानखेत पहेंलो देखिन थालेको छ। टाढाबाट हेर्दा जो कोहीलाई पनि धान राम्रोसँग पाकेको जस्तो लाग्छ। तर नजिकै पुगेर हेर्दा भने बालामा दाना नै देखिँदैन। विशेषगरी पूर्वी चितवनका कुमरोज, कठारमा साबित्री र सावा मन्सुली तथा पश्चिम चितवनमा मुकाबिला जातको धानको बालामा दाना नलागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले बताए।

उनका अनुसार साबित्री र सावा मन्सुली धानखेतीमा डटी प्यानिकल ( ढुंसी र फंगस संक्रमण) रोग लागेको छ। यसको उपचार तत्काल सम्भव नरहेको उनले बताए। ‘पानी परेपछि चर्को घाम लाग्दा डटी प्यानिकल जीवाणुको विकास हुन्छ र हावा चलेपछि यो धानखेतीमा फैलिन्छ’, उनले भने।

रेग्मीका अनुसार यो रोग चितवनमा २०५७ सालतिर पनि देखापरेको थियो। त्यतिखेर सिएच ४५, बिजी १४ जातका धानमा यो रोग देखिएको थियो। अहिले यो संक्रमण देखिएका ठाउँमा १५ प्रतिशत हाराहारी धानमा क्षति पुगेको उनले बताए।

पश्चिम चितवनमा भने बीउकै कारण धानमा बाला नलगोको उनले बताए। ‘पश्चिम चितवनको अमृतनगरमा किसानले नयाँ जातको धान ल्याएर लगाउनुभएको रहेछ’, धानखेतमै भेटिएका रेग्मीले भने, ‘यो रोगको समस्या बीउमा नै हो।’ उनका अनुसार मुकाबिला जातको धान लगाउन सरकारले किसानलाई सिफारिस गरेको छैन।

चितवनमा २२ हजार नौ सय हेक्टरमा धान खेती हुँदै आएको छ। बर्सेनि धानमा विभिन्न रोग लाग्दा किसान समस्यामा पर्दै आएका छन्। यसअघि चितवनमा धान बालीमा शीत ब्लाइट (पातको फेद डडुवा), नेक ब्लास्ट (घाँटी मरुवा), ह्वाइट फ्लाई (सेतो झिंगा) घाँटीमरुवा रोग देखिएको थियो।

प्रकाशित: १ कार्तिक २०८१ ०७:१४ बिहीबार

#Anxious Chitwan #Savitri and Mukabila varieties of rice