अर्थ

विदेशी विनिमय सञ्चिति साढे २१ खर्ब पुग्यो

वैदेशिक व्यापार खुम्चिँदा विदेशी विनिमय सञ्चिति करिब साढे २१ खर्ब रूपैयाँ पुगेको छ। मुलुकको आन्तरिक अर्थतन्त्र समस्यामा रहेको भए पनि अर्थतन्त्रको बाह्य सूचक मजबुत देखिएका छन्।

आयातमा गिरावट र विप्रेषण आप्रवाहमा वृद्धि भए पनि विदेशी विनिमय सञ्चिति बढेको हो। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आवको भदौ मसान्तमा सञ्चिति ५.५ प्रतिशतले वृद्धि भई २१ खर्ब ५२ अर्ब ५३ करोड रूपैयाँ पुगेको छ।  

दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।  

२०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रूपैयाँ बराबर थियो। यसरी हेर्दा दुई महिनामा विदेशी विनिमय सञ्चिति १ खर्ब ११ अर्ब ४३ करोड रूपैयाँले बढेको छ। अमेरिकी डलरमो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५.० प्रतिशतले वृद्धि भई १६ अर्ब ४ करोड पुगेको छ।  

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रूपैयाँ रहेकोमा भदौ मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई १९ खर्ब २८ अर्ब ९९ करोड रूपैयाँ पुगेको छ।  

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रूपैयाँ रहेकोमा भदौ मसान्तमा १६.१ प्रतिशतले वद्धि भई २ खर्ब २३ अर्ब ५३ करोड रूपैयाँ कायम भएको छ। आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो। यो दुई महिनामा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्घि भई दुई खर्ब ६२ अर्ब ५४ करोड रूपैयाँ पुगेको छ।  

विदेशबाट आउने रेमिटेन्स आप्रवाह पोहोरको तुलनामा भने घटेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण आएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ। गत भदौ महिनामा दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको छ। गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो। गत साउन महिनामा एक खर्ब ३६ अर्ब ९३ करोड विप्रेषण भित्रिएको थियो।  

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या ७६ हजार चार सय ८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार पाँच सय ८३ रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार चार सय ५५ र ३२ हजार चार रहेको थियो।

चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको छ। समीक्षा अवधिमा चालु खाता ४९ अर्ब ६९ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोड रूपैयँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १८ करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३७ करोड १ लाखले बचतमा रहेको छ। खुद पुँजीगत ट्रान्सफर १ अर्ब २० करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) २ अर्ब ७१ करोड रहेको छ।  

अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर ८५ करोड ८ लाख रूपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) ३ अर्ब रहेको थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोड रूपैयाँले बचतमा रहेको थियो।  

तथ्यांकमा महँगी घट्यो

बजारमा उपभोक्ताले अनुभूति गर्न नपाए पनि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार महँगी घटेको छ। राष्ट्र बैंकका अनुसार भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेकोे छ। साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१ प्रतिशत थियो। गत वर्षको भदौमा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको थियो। यसरी हेर्दा पोहोरको तुलनामा महँगी घटेको छ।

चालु आवको दोस्रो महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो। भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २.७५ प्रतिशतले घटेको छ। गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.३८ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ४.५८ प्रतिशत र सुर्तीजन्य पदार्थको ३.५२ प्रतिशतले बढेको छ भने बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांकमा परिवर्तन भएको छैन।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.२८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.०३ प्रतिशतले बढेको छ। प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत, मधेस प्रदेशको ४.१७ प्रतिशत, बागमती प्रदेशको ३.४९ प्रतिशत, गण्डकी प्रदेशको ३.९० प्रतिशत, लुम्बिनी प्रदेशको ३.८१ प्रतिशत, कर्णाली प्रदेशको ३.४६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६९ प्रतिशत रहेको छ।

प्रकाशित: ३० आश्विन २०८१ १४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App