अर्थ

हेंवाखोलामा अस्थायी डाइभर्सन बनाउन सुरु, भोलिबाट एकतर्फी आवागमन सुरु गर्ने तयारी

पाँचथरको हेंवाखोलामा अस्थायी डाइभर्सन बनाउने काम सुरु भएको छ।

मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडक खण्ड अन्तर्गत पर्ने हेंवाखोलामा अस्थायी डाइभर्सनमार्फत सोमवारबाट साना सवारीसाधनको एकतर्फी आवागमन सुरु गर्नेगरी काम सुरु भएको हो।

तमोर करिडोर अन्र्तगत नावाखोलामा समेत अस्थायी डाइभर्सनको काम अघि बढेकोले सवारीसाधन अब ताप्लेजुङसहित पाँचथरको हेंवाखोला वारीका बासिन्दालाई तराई झर्न सजिलो हुने पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए।

सडक डिभिजन कार्यालय इलामका ईञ्जिनियर सरोज सुवेदीका अनुसार हेंवाखोलामा अहिले अस्थायी डाइभर्सन बनाउने काम तीव्र गतिमा अघि बढाइएको छ। दुबैतर्फबाट स्काभेटरमार्फत पानीको सतह फराकिलो बनाउने काम भइरहेको र त्यसपछि ह्युमपाइम बिछ्याउने काम अघि बढाइने सुवेदीले जानकारी दिए।

उनका अनुसार त्यहाँ ८ मिटर लम्बाई र ५ मिटर चौडाँईका १६ वटा ह्युमपाइप अस्थायी डाइभर्सनस्थलमा ल्याइएको छ। ‘कार्यस्थलमा इन्धनको समस्या नभए सोमवारबाट हेंवाखोलाबाटै साना सवारीको एकतर्फी यात्रा सुरु गर्ने सम्भावना बढ्दै गएको छ’यातायात समस्याको समाधानको विकल्प खोज्न ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यको नेतृत्वमा हेंवाखोला पुगेको टोलीसँग पाँचथरका प्रमुख जिल्ला अधिकारी कोईरालाले भने।

प्रजिअ आचार्यको शनिवार अपरान्ह नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, ताप्लेजुङ उद्योग वाणिज्य संघ, जिल्ला रेडक्रस सोसाईटी, पत्रकार महासंघ र होटल व्यवसायी संघका प्रतिनिधि सम्मिलित टोली पाँचथरको हेंवाखोला पुगेको थियो।

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले इलाम र पाँचथरको फिदिम भन्दा उताको मेची राजमार्ग खण्डमा सडक अवरोध नभए अब हेंवाखोलाको अस्थायी डाइर्भसनमार्फत यातायात सुरु हुन धेरै कठिनाई नरहेको बताए।

‘त्यहाँ इन्धनको समस्या भए त्यसको समाधान गरी तत्काल अस्थायी डाइभर्सनको काम पूरा गराउनु पर्छ’ थापाले भने, ‘त्यही समस्या समाधानका लागि पाँचथर र ताप्लेजुङका सरोकारवालाको निरन्तर छलफल र सम्वाद चलिरहेको छ।’

नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले मेची राजमार्गको इलाम–फिदिम खण्डमा सडक अवरुद्ध हुन नपाए हेंवाखोलाको अस्थायी डाइभर्सनमार्फत साना सवारीको आवागमनमा अप्ठेरो नहुने अवस्था देखिएको बताए।

तमोर करिडोर(चतारा–मूलघाट–सुभाङखोला) सडक योजना कार्यालयका अनुसार तमोर करिडोर अन्र्तगत पाँचथरको नावाखोलामा देखिएको समस्या हल गर्ने प्रकृया अघि बढेको छ।

योजना प्रमुख प्रदीप निरौलाका अनुसार नावाखोलामा अस्थायी डाइभर्सन बनाउने कार्यका लागि ह्युमपाइप र मेसिन तयारी अवस्थामा राखिएको छ। त्यहाँ अहिले १० वटा ह्युमपाइप रहेका छन्। खोलामा पानीको सतह फराकिलो बनाइ ह्युमपाइप बिछ्याउने कार्य सुरु गरिने उनले जानकारी दिए।

नावाखोलाको समस्या हटे मूलघाट हुँदै तमोर करिडोरमार्फत पाँचथरको जोरसाल हुँदै हेंवाखोलाको अस्थायी डाइभर्सन तरेर मेची राजमार्ग हुँदै ताप्लेजुङतर्फको यात्रा तय गर्न सकिन्छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी कोइरालाले हेंवाखोलामा सुरुमा फड्के, दोस्रोमा अस्थायी डाइभर्सन र तेस्रो तथा अन्तिमा स्थायी समाधान स्वरुप पक्की वा बेलिब्रिज निर्माणको कार्य अघि बढाउने गरी कार्यसूची तयार भएको बताए। ‘हामी त्यही कार्ययोजना अनुसार दोस्रो विकल्पको समाधानउन्मुख छौं,’उनले भने।

नावाखोलासहितको तमोर करिडोर सडक खण्डको अवस्था र त्यहाँ देखिएको समस्या समाधानका उपाय केलाउन ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्व टोली आज बिहानै त्यसतर्फ लागेको छ। 

प्रकाशित: २० आश्विन २०८१ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App