अर्थ

आन्तरिक पर्यटक वृद्धिको योजनामा भक्तपुर

पर्यटकीय नगर भक्तपुरले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पछिल्लो समय आन्तरिक पर्यटन प्रवर्द्धनको योजना बनाएको बताए।

‘विदेशी पर्यटकमा मात्रै निर्भर हुँदा कहिले विदेशी पर्यटक नआएर ठप्प हुन्छ भन्नै नसकिने भयो’ कोरोना कालको अनुभव सुनाउँंदै उनले भने। यसअघि विदेशी पर्यटकको मात्रै भर परेका बेला उनीहरू नआएका बेला नगरपालिकाको आम्दानी नभएर समस्या परेको सुनाए।

‘त्यो बेला विदेशी पर्यटक ठप्प भएर आम्दानीको स्रोत सुक्खा जस्तै भएको थियो’, उनले भने, ‘कोरोनाको त्यो कालमा नगरपालिकासँग पैसा थिएन, त्यस्तो अवस्थामा नगरबासीका लागि नभई नहुने अक्सिन प्लान्ट बनाउन समस्या परेको थियो।’

समस्याको बेला जनताका लागि जनतासँगै चन्दा मागेर एक महिनामै साढे ६ करोड चन्दा संकलन गरी अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको उनले सुनाए। त्यसपछिबाट हालसम्म नगरबासीलाई निः शुल्क रूपमा अक्सिजन सेवा प्रदान गर्दै आइरहेको उनले सुनाए।

कोरोनाकालको त्यही अवस्थाबाट शिक्षा लिएर विदेशी पर्यटकमा मात्रै निर्भर नभई स्वदेशी पर्यटक भित्र्याउने योजना रहेको उनले सुनाए। स्वदेशी पर्यटक मात्रै भित्र्याउन सके पनि स्थानीय जनतालाई सहयोग पुग्ने उनको विश्वास थियो। स्वदेशी पर्यटकले पनि घुम्न आउँदा खर्च गर्ने भएकाले त्यसबाट स्थानीय जनतालाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुग्ने उनको भनाइ थियो।

भक्तपुर नगरपालिकाले नगर घुम्न आउने विदेशी (सार्क र गैर सार्क राष्ट्र) का पर्यटकसँग छुट्टाछुट्टै रूपमा प्रवेश शुल्क उठाउँदै आएको छ। नगरका विभिन्न ठाउँमा काउन्टर राखेर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटकसँग प्रवेश शुल्क उठाउँदै आएको हो।

त्यो बेला विदेशी पर्यटक नआएर नगरपालिकाको आम्दानी हुन सकेको थिएन नगरप्रमुख प्रजापतिले भने। विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाको सहकार्य र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा ‘भक्तपुरको पर्यटन: विगत, वर्तमान र भविष्य’ विषयक बिहीबार भक्तपुरमा भएको अन्तरक्रिया कार्यक्रममा उनले भने यही घटनाबाट पाठ सिकेर हामीले आन्तरिक पर्यटन प्रवद्र्धनको योजना अगाडि सारेका हौं। भक्तपुर नगरपालिकाको आम्दानीका विभिन्न स्रोतहरूमध्ये विदेशी पर्यटकबाट उठ्ने प्रवेश शुल्क मुख्य स्रोतमध्ये पर्दछ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले देशको आर्थिक समृद्धिमा पर्यटनको भूमिका उल्लेखनीय रहेको बताउँदै विभिन्न देशको पर्यटनबारे पनि नेपालले अध्ययन गर्दै अगाडि बढ्नु प्रभावकारी हुने बताए।

नेपालमा पर्यटनको सम्भावनालाई राम्रोसँग अध्ययन गरी त्यसको विकासतर्फ ध्यान दिनुपर्ने बताउँंदै उनले पर्यटन विकासमा संस्कृति, पर्यटन मन्त्रालय र पुरातत्त्व विभागको प्रभावकारी भूमिका रहने बताए। साथै उनले पर्यटन उद्योगीहरूले विदेशबाट सिकेर नेपालको विकासमा योगदान पुर्‍याउन जरुरी रहेको समेत बताए।

कार्यक्रममा भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समिति एवम् वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, सामाजिक अभियन्ता अनिल चित्रकार, भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, निवर्तमान अध्यक्ष रामसुन्दर भेले, पूर्व अध्यक्ष नवलकिशोर राजभण्डारी, संस्थापक अध्यक्ष निलकृष्ण ताम्राकार, टुर्गानका प्रतिनिधि थानेश्वर देवकोटालगायतको सहभागिता रहेको थियो।

उनीहरूले भक्तपुरको पर्यटन प्रवद्र्धनमा भक्तपुर नगरपालिका र पर्यटन विकास समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेको हुँदा नगरभित्र पुरानो शैलीमा घर निर्माण गर्न नगरबासीहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए।

साथै उनीहरूले नेपाल भ्रमण गर्ने पर्यटकको बसाइ लब्याउने योजनाहरू आवश्यक भएको र भक्तपुरको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न भक्तपुर पर्यटन विकास समितिको भूमिकाबारे प्रष्ट पारे। कार्यक्रममा पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधिहरूले भक्तपुरको पर्यटन प्रवद्र्धनबारे आआफ्नो सझुाव तथा धारणा व्यक्त गरेका थिए।

प्रकाशित: ११ आश्विन २०८१ ११:०२ शुक्रबार

# Tourist town Bhaktapur # Promotion of domestic tourism