अर्थ

वैदेशिक व्यापारमा भएन सुधार: दुई महिनामै दुई खर्ब ३७ अर्ब व्यापार घाटा

अर्थतन्त्रका बाह्य सूचकमा सुधार आए पनि मुलुकको वैदेशिक व्यापारमा सुधार हुने संकेत देखिएको छैन। चालु आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा मुलुकको निर्यात व्यापारमा कमी आएको छ भने आयातमा पनि खासै वृद्धि भएको छैन।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको भदौसम्म निर्यात व्यापार ५.१२ प्रतिशतले गिरावट आएको छ भने आयात १.०८ प्रतिशतले मात्र सुधार भएको छ। दुई महिनामा मुलुकको व्यापार घाटा दुई खर्ब ३७ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।  

चालु आर्थिक वर्षको साउन र भदौमा दुई खर्ब ६२ अर्ब ५४ करोड रूपैयाँको वस्तु आयात भएको भने २५ अर्ब नौ करोड रूपैयाँको मात्र वस्तु निर्यात भएको छ। साउनमा एक खर्ब २८ अर्ब र भदौमा एक खर्ब ३४ अर्ब रूपैयाँको आयात भएको हो। भदौमा दसैं, तिहारका लागि सामान आयात हुने महिना भए पनि आयात १.०८ प्रतिशतले मात्र सुधार आएको छ। स्वदेशमा खपत हुने वस्तु यहाँ उत्पादन घटेको भने होइन।

वस्तु निर्यात निरन्तर बढ्दै जानुपर्नेमा घट्दै गएको छ। भन्सार विभागका अनुसार निर्यात घटेर २५ अर्ब नौ करोड रूपैयाँमा खुम्चिएको छ। पोहोरको भदौसम्म २६ अर्ब ४४ करोड रूपैयाँको वस्तु निर्यात भएको थियो।

मुलुकको समग्र वैदेशिक व्यापारमा सामान्य सुधार आए पनि उत्साहजनक छैन। चालु आवको भदौसम्म कुल वैदेशिक व्यापार दुई खर्ब ८७ अर्ब ६३ करोड रूपैयाँ रहेको छ। पोहोर सोही अवधिमा कुल वैदेशिक व्यापार दुई खर्ब ८६ अर्ब १९ करोड रूपैयाँ थियो।

नेपालमा धेरै आयात हुने पेट्रोलियम पदार्थको आयात घटेको छ। दुई महिनामा ४३ अर्ब २५ करोड रूपैयाँको डिजेल, पेट्रोल, मट्टितेल, ग्यास, हवाई इन्धन आयात भएको भन्सार विभागले जनाएको छ। पोहोर सोही अवधिमा ४४ अर्ब ६५ करोड बराबर पेट्रोलियम पदार्थ आयात भएको थियो। नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ। भारतबाट एक खर्ब ६० अर्ब रूपैयाँको वस्तु आयात भएको छ भने १५ अर्ब ९८ करोड रूपैयाँको मात्र निर्यात भएको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले १४ खर्ब ४० अर्बको व्यापार घाटा व्यहोरेको थियो। गत आवमा पनि आयात र निर्यात दुवै व्यापारमा संकुचन आएको थियो। निर्यात ३.०३ प्रतिशतले घटेको थियो भने आयात १.१६ प्रतिशतले घटेको थियो।

सरकारले स्वदेशमा खपत हुने वस्तुको उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउँदै लैजाने बताउँदै आए पनि व्यापार घाटा घट्न सकेको छैन। नेपालले ढेढ सय बढी मुलुकसँग व्यापार घाटा व्यहोर्दै आएको छ।

भौगोलिक सीमा जोडिएका छिमेकी मुलुक भारत र चीनसँग सबैभन्दा धेरै व्यापार घाटा रहेको छ। मुलुकमा व्यापार घाटाको खाडल ठूलो भएपछि विदेशबाट आउने रेमिटेन्सको ठूलो हिस्सा विदेशनै जाने गरेको छ।

नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमा इन्धन रहेको छ। डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, भटमासको कच्चा तेल, मोबाइल फोन, रेडिमेट गार्मेट, खाद्यान्न तथा तरकारी लगायतका वस्तुहरू विदेशबाट आयात हुन्छन्।

सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापारमा उत्साह आउन सकेको छैन। रसिया–युक्रेन युद्धले गर्दा विश्व अर्थतन्त्रमा देखिएको समस्याको कारण विदेशबाट सामानको माग नआएको व्यवसायी बताउँछन।

नेपालबाट प्रमुख निर्यात हुने वस्तुमा तेल, धागो, अलैंची, उनी गलैंचा कार्पेट, जुटबाट बुनिएका कपडा, चिया, फलफूल जुस लगायतका वस्तुहरू रहेका छन्। निर्यातलाई प्रोत्साहन गर्न सरकारले सिमेन्ट लगायतका करिब तीन दर्जन वस्तु निर्यातमा आठ प्रतिशतसम्म अनुदान दिने नीति लिएको छ। निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने व्यवस्था गरेपछि सिमेन्ट उद्योगीले गत वर्ष निर्यात सुरु गरेका छन्।

उच्च निर्यात गर्ने सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी लगायत निर्यात हुने विश्वास लिइएको छ। सरकारले करिब तीन दर्जन वस्तु निर्यातमा अनुदान दिने गरी कार्यविधि बनाएर प्रयोगमा ल्याएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि जारी गरिसकेको छ। स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर, जुत्ता लगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निकासी प्रवद्र्धन गर्ने योजना  बनाएको छ।

प्रकाशित: ८ आश्विन २०८१ ०८:३७ मंगलबार

# Baidesik Byaper #Aarthatantra