अर्थ

एक खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकहरूमा धेरै तरलता भएपछि नेपाल राष्ट्र बैंकले करिब एक अर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको छ। राष्ट्र बैंकले सूचना प्रकाशित गरी बोलकबोल विधिबाट एक खर्ब रूपैयाँ निक्षेप संकलन गर्न लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २१ दिनका लागि सूचना प्रकाशित गरी निक्षेपका लागि आह्वान गरेको छ। राष्ट्र अन्तर बैंक ब्याजदरलाई तीन प्रतिशतको सीमा राख्नुको साथै बैंकमा अधिक तरलता भएर हुन सक्ने अन्धाधुन्ध कर्जा लगानीलाई रोक्न राष्ट्र बैंकले तीन प्रतिशतसम्म ब्याज दिँदै निक्षेप संकलन गर्न लागेको हो।

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो। यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ। 

जसबाट तरलता प्रशोचन हुन जान्छ। बोलकबोल नगरी निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ। निक्षेपबापत राष्ट्र बैंकमा जम्मा गर्न लागेको रकम र ब्याजदरका विषयमा बोलकबोल विधिबाट प्रस्ताव पेस गर्न क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले आह्वान गरेको छ। 

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ब्याजदर करिडोर सम्बन्धी नीतिलाई नियमित रूपमा कार्यान्वयन गराउने प्रयास गर्दै आएको छ। ब्याजदर करिडोरको सिद्धान्त अनुसार अन्तरबैंक ब्याजदर बैंक दरभन्दा माथि पुगेको अवस्थामा राष्ट्र बैंकले नीतिगत दरमा रिपो जारी गर्ने तथा अन्तरबैंक ब्याजदर निक्षेप संकलन दरभन्दा कम भएको अवस्थामा राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्छ।

प्रकाशित: ३१ भाद्र २०८१ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App