अर्थ

कोरियाका लागि मागको १२ गुना बढीको आवेदन

काठमाडौं – देशमा बेरोजगारीको समस्या दिन प्रतिदिन कसरी चुलिँदो छ भन्ने पछिल्लो उदाहरण कोरिया जानका लागि संकलन भएको आवेदनलाई लिन सकिन्छ।

कोरियामा थ्रिडी अर्थात डर्टी, डेन्जरस र डिफिकल्ट मानिँदै आएको काममा जान यसपटक ८२ हजार दुई सय ६४ ले आवेदन दिएका छन् । जुन संख्या अहिलेसम्मकै सबभन्दा बढी हो । आवेदन दिनेमा १२ हजार आठ सय ७७ महिला छन्।

कोरियाले सन् २००७ देखि सुरु गरेको रोजगार अनुमति प्रणाली अन्तर्गत भाषा परीक्षामा सहभागी हुन अघिल्लो वर्षको तुलनामा यसपटक १४ हजार बढी आवेदन परेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ । यद्यपि गत वर्ष कोरिया सरकारले त्यहाँ लैजाने नेपाली कामदारको संंख्या यसपटकको भन्दा करिब पाँच् हजारले बढी तोकेको थियो।

सन् २०१९ मा कोरियाको कृषि लगायतको काम गर्नका लागि सात हजार एक सयजनाको कोटा निर्धारण गरेको छ । इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले आवेदन दिएका सबैको भाषा परीक्षा जेठ २६ र २७ गते काठमाडौं र पोखराका केन्द्रमा हुने जानकारी दिए । भाषा परीक्षाको नतिजा असार १६ गते प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।रोजगारीका लागि कोरियाप्रति आकर्षण बढिरहेको बेला पछिल्ला वर्षमा भने कोरिया मोह झनै चुलिँदै गएको पाइएको छ।

कोरिया गएका कतिपय व्यक्तिले त्यहाँ निकै निकै कडा काम गर्नुपर्ने भएकाले आत्महत्याका घटना वृद्धि भइरहेको गुनासोबीच नेपालमा भने कोरिया मोह बढेपछि सरकारी निकायलाई युवायुवती स्वदेशमै बस्न लायक बनाउन थप चुनौती देखिएको छ । ग्रामीण भेगका कतिपय बस्तीमा श्रम गर्न सक्ने युवायुवतीको अभाव छ । अर्थविदरूले सरकार र आफूलाई अब्बल ठान्ने निजी क्षेत्रले स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न नसक्दा विदेश मोह बढिरहेको बताउँदै आएका छन्।

कोरिया जानका लागि आवेदन शुल्क मात्र २४ अमेरिकी डलर (करिब दुई हजार पाँच सय रुपैयाँ) बुझाउनु पर्ने व्यवस्था छ । जुन रकममध्ये ६ अमेरिकी डलर भाषा परीक्षा सञ्चालन र अन्य प्रशासनिक खर्चका लागि इपिएस शाखालाई उपलब्ध गराइन्छ भने बाँकी रकम कोरिया जान्छ।

सन् २०१९ का लागि आवेदन भरेका युवायुवतीबाट मात्र साढे २० करोड रुपैयाँ संकलन भएको छ । सन् २००७ यता जोड्ने हो भने आवेदन शुल्कको एक अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम कोरिया पुगेको छ । त्यस्तै शाखाले आवेदक शुल्क बुझाउनका लागि एकमात्र बैंक ग्लोबल आइएमई बैंकलाई चयन गरेका कारण युवायुवतीले सास्ती खेप्नु परेको थियो । दरखास्त दिने अवधि शनिबार मध्यरातिदेखि सकिएको छ ।
कोरिया छनोटको प्रक्रिया
कोरिया छनोटको पहिला आधार भाषा परीक्षा उत्तीर्ण गर्नु हो । उक्त भाषा परीक्षामा जसले सबभन्दा बढी अंक ल्याउँछन् ती युवायुवतीको नामावली रोस्टर सूचीमा राखेपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन् । भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरियामा रोजगारीको ग्यारेन्टी हुँदैन।

भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए त्यस्ता युवायुवती कोरिया जान पाउँदैनन् । दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए भाषा परीक्षा उत्तीर्ण गर्नेको नाम रोस्टर सूचीबाट हट्छ । र, त्यस्ता युवायुवती कोरिया जान अयोग्य हुन्छन् । सन् २००८ यता नेपालबाट ५० हजार चार  सय २४ युवा कोरिया गइसकेका छन् । भाषा परीक्षा भने ६२ हजार चार सय ७३ ले उत्तीर्ण गरेका छन्।

 सन् २०१८ मा १० हजार एक सय कोटा तोकेको कोरियाले सन् २०१७ का लागि तीन हजार एक सय कोटा निर्धारण गरेको थियो ।   सन् २०१८ को लागि १० हजार एक सय कामदारको सिलिङ दिएको कोरियाले १२ हजार एक सय आठजना परीक्षार्थीलाई भाषा परीक्षामा उत्तीर्ण गराएको थियो । भाषा परीक्षामा सहभागी हुनेको उमेर १८–३९ हुनुपर्छ।
 

 

प्रकाशित: २० चैत्र २०७४ ०२:०७ मंगलबार

कोरियाका लागि मागको १२ गुना बढीको आवेदन