अर्थ

विद्युतीय सवारीमा बढ्दो आकर्षण

पूर्वअर्थ सचिव रामेश्वर खनालले विद्युतीय सवारी साधन प्रयोग गर्न थालेको करिब एक दशक पुग्न थालेको छ। पेट्रोलियमको तुलनामा विद्युतीय सवारी खर्चका दृष्टिले सस्तो हुने र वातावरण मैत्री हुने भएकाले विद्युतीय सवारी साधन प्रयोग गरेको खनालले बताउँदै आएका छन्। पूर्वअर्थ सचिव खनालको अनुभवमा विद्युतीय गाडीको सञ्चालन खर्च निकै सस्तो छ।

भारतबाट पेट्रोलियम पदार्थ आयात गरेरर बिक्री गर्दै आएको नेपाल आयल निगमले समेत विद्युतीय सवारी साधन खरिद गरेर प्रयोगमा ल्याएको छ। तेलको खपत घटाएर स्वदेशमा उत्पादन हुने बिजुलीको खपत बढाउनु पर्छ भन्ने सन्देश दिन निगमले विद्युतीय सवारी किनेको हो।

विश्वव्यापी रूपमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा त्यसको प्रभाव नेपालमा पनि देखिएको छ । पछिल्लो वर्ष नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ। 

आर्थिक वर्ष २०७८/७९को बजेटमा विद्युतीय सवारी साधनमा जडान भएका ब्याट्रीको क्षमताअनुसार कम र बढी कर, महसुल लाग्ने व्यवस्था गरेपछि विद्युतीय सवारी साधनको आयात, बिक्री ह्वात्तै बढेको हो।

नेपालमा विद्युत् आपूर्ति सहज हुनु, चार्जिङ स्टेसनको व्यवस्था बढ्दै जानु र चार्जिङ खर्च कम हुँदै गएपछि विद्युतीय सवारी सबैको रोजाइ बन्दै गएको छ। गत आर्थिक वर्ष २०८०/८१मा ३० अर्ब ७७ करोड रूपैयाँका विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागले जनाएको छ। गत आवमा विद्युतीय थ्री ह्विलर भ्यान, जीप, कारसहित २३ हजार आठ सय ७२ सवारी साधन आयात भएका छन्। तीमध्ये एसेब्लिङ नभएका तीन पांग्रे सवारी तीन हजार एक सय १४, तीन पांग्रे विद्युतीय सवारी नौ हजार ५७, विद्युतीय कार, भ्यान, जीप ११ हजार सात सय एक थान आयात भएको भन्सार विभागले जनाएको छ।

अहिलेसम्म कुल १७ हजार विद्युतीय सवारी साधन आयात भएकोमा गत आर्थिक वर्ष एक वर्षकै अवधिमा करिब १२ हजार सवारी साधन आयात हुनुले विद्युतीय सवारी साधनप्रतिको क्रेज ह्वात्तै बढेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन्। ‘विद्युतीय सवारी साधनको अपरेसन र मेन्टिनेन्स कष्ट सस्तो भएकाले सबैको रोजाइ बनेको छ,’ गजुरेलले भने, ‘अझै बिक्री बढ्ने देखिन्छ ।’ गजुरेलका अनुसार पेट्रोलियम सवारी साधनको पेट्रोल खर्च प्रतिकिलोमिटर करिब २० रूपैयाँ छ भने विद्युतीय सवारीको प्रति किलोलिटर एक रूपैयाँ रहेको छ।

सुरुमा किन्दा महँगो र व्याट्री परिवर्तन गर्दा केही खर्चिलो भए पनि सबैको रोजाइमा परेको छ । लामो दूरीमा यात्रा गर्दा चार्जिङको केही समस्या भए पनि छोटो दूरीमा भने निकै उत्कृष्ट पाइएको छ। व्यक्तिगत रूपमा मात्र नभएर सार्वजनिक सवारी साधनहरू पनि विद्युतीय प्रयोग हुन थालेका छन्।

भाडामा चलाइने कालो प्लेटका ट्याक्सी पनि विद्युतीय प्रयोग हुन थालेका छन्। पेट्रोलको तुलनामा नगन्य खर्च हुने भएकाले विद्युतीय ट्याक्सी प्रयोगमा ल्याएको मनोज तामाङले बताए। ‘पेट्रोलबाट चल्ने टयाक्सी बेचेर बिजुलीबाट चार्ज गर्ने किनेको छु,’ तामाङले भने, ‘बिजुलीबाट चार्ज गर्दा निकै सस्तो पर्ने भएकाले गाडीको किस्ता तिर्न पनि सजिलो भएको छ।’

दुई पांग्रे, चार पांग्रे निजी सवारी मात्र नभएर सार्वजनिक यातायातमा पनि विद्युतीय सवारीको प्रयोग सुरु भएको छ । सार्वजनिक यातायातमा पनि विद्युतीय सवारीको प्रयोग बढ्न थालेको छ। साझा यातायातले विद्युतीय सवारी साधनबाट सेवा दिएको छ। साझा यातायातले ४० वटा विद्युतीय सवारीमार्फत सेवा दिएको छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारी चलाउँदै आएको साझाले अहिले विद्युतीयलाई प्राथमिकता दिएको छ।

त्यसैगरी, सुन्दर यातायातले पनि विद्युतीय सवारीबाट सेवा प्रदान गरेको छ । सुन्दरले अहिले ३५ वटा सार्वजनिक सवारीबाट यात्रु ओसार्ने काम गर्छ । तीमध्ये १६ वटा विद्युतीय ठूला सार्वजनिक यातायात छन् भने नौ वटा माइक्रो रहेका छन्। 

सुन्दर यातायातले काठमाडौं उपत्यकाका अतिरिक्त सिन्धुली, जनकपुर, दाङसम्म सेवा दिएको छ। लामो दूरीमा यात्रामा निस्किँदा पनि कम्पनीहरूले मुलुकका प्रमुख सहरमा चार्जिङ स्टेसन निर्माण गरेका छन्। नेपाल विद्युत् प्राधिकरणले पनि चार्जिङ स्टेसन निर्माणलाई तीव्रता दिएको छ। प्राधिकरणले मात्रै ६२ वटा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ। अहिले मुलुकभर करिब दुई सय चार्जिङ स्टेसन निर्माण भइसकेका छन्।

नेपालमा टाटा, बिवाइडी, हुन्डाई, सुजुकी, महिन्द्रा, किया, अवतार–११, जेक्को जे सिक्स , राडार आरडी सिक्स ,बीएडब्लू , एक्सपेङ, जिकर एक्स, डोङफेङ नामी–०१, लिपमोटर, जिएसी आयोन, अमोडा, काई, डिपल, सेरेस, एमजी, स्काइवेल, सिट्रोन, होजोन नेटा ब्रान्डका गाडी बिक्री हुन्छन्। 

तीमध्ये प्रायः सबैका इभी रहेका छन् । नेपाली बजारमा चीन, भारत, कोरिया, अमेरिका, फ्रान्स, जापान लगायत विभिन्न देशबाट विद्युतीय सवारी साधन आयात हुने गरेको छ। नेपालमा बिक्री हुने विद्युतीय कार, भ्यान लगायत अन्य सवारीसाधनमा सबैभन्दा बढी चिनियाँ ब्रान्ड रहेका छन्।

विद्युतीय सवारीको आकर्षण बढेसँगै मंगलबारबाट सुरु हुने नाडा अटो सो पनि विद्युतीय सवारीमय हुने भएको छ । नाडा अटो सोमा टाटा पन्च इभी, जेको जे सिक्स, अवतार–११, नामी–०१, लिपमोटर सी–१०, महिन्द्रा एक्सयुभी थ्री एक्सओ, ग्रेटवाल मोटर्स ट्यांक ५००, लिंकटुर एफ–१०, जीकर एक्स, चांगन लुमिन, हुन्डाई नयाँ क्रेटा फेसलिफ्ट, दिपल एल जेरो सेभेन, एमजी साइबरस्टर, बिएडब्लुको ब्रम्बी ह्याचब्याग, एक्सपेङ लगायत ब्रान्डका गाडी प्रर्दशनीमा राख्ने आयोजकले बताएका छन्।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै तीन सय ८१ वटा विद्युतीय सवारी साधन आयात भएको छ। भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रूपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको हो। जुन गत आर्थिक वर्षको साउन महिनाको तुलनामा ५५ करोड ६४ लाख रूपैयाँले बढी हो।

गत आर्थिक वर्षको साउनमा एक सय १० वटा मात्रै विद्युतीय सवारी साधन आयात भएको थियो । विभागका अनुसार ३४ करोड ६ लाख रूपैयाँको सवारी साधन आयात भएको थियो। चालु आर्थिक वर्षको साउनमा सबैभन्दा बढी ५१ किलोवाटदेखि सय किलोवाटसम्मका सवारी साधन आयात भएका छन्।

प्रकाशित: ११ भाद्र २०८१ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App