अर्थ

अर्गानिक चिया चिन्दैन सरकार

इलामको जस्बिरेमा चिया टिप्दै किसान। तस्बिर: भीम/नागरिक

अर्गानिक तयारी चियाको तेस्रो मुलुक बजार सम्भावना उच्च रहेपनि यो क्षेत्र वर्षाैंदेखि सरकारी बेवास्तामा छ। अर्गानिक चिया उत्पादनको लहर चलेको डेढ दशक बितिसक्दा पनि उत्पादक र व्यवसायी अझै पुरानै चुनौती सामना गरिरहेका छन्।

बर्सेनि चार अर्ब हाराहारी विदेशी मुद्रा आर्जन गरिरहेको चिया क्षेत्र, त्यसमा पनि अर्गानिक चिया चाहिँ अहिलेसम्म सरकारले चिन्न नसकेको उनीहरूको गुनासो छ। जति कराएपनि, जति प्रयास गरेपनि सरकारले सिंगो कृषि र चिया क्षेत्रलाई कहिल्यै प्राथमिकता दिन नसकेकामा किसान, उद्योगी र व्यवसायी चिन्तित छन्।

व्यापार र आम्दानीमात्र होइन, विश्वमा नेपालको नाम चिनाउनेसमेत सम्भावना रहेको अर्गानिक चियालाई अहिलेसम्मका कुनैपनि सरकारले पहिचानै गर्न नसकेको लामो समयदेखिको गुनासो छ।  

‘कृषिप्रधान देश’ को सरकार अर्गानिक चियाबारे सरकार यति बेखबर छ कि, यो चिया अर्गानिक हो वा होइन भनेर गुणस्तर छुट्याउने विश्वसिलो प्रयोगशालासमेत देशभित्र छैन। किसान र उद्योगीले मेरो चिया अर्गानिक हो भन्ने प्रमाणित गर्नमात्र पनि विभिन्न देशका प्रयोगशालामा हजारौं रुपैयाँ खर्चिनुपरिरहेको छ।

नेपाली अर्गानिक चिया अहिले पनि विश्वका डेढ दर्जनभन्दा बढी देशमा निर्यात हुन्छ। त्यो पनि उच्च मूल्यमा। तर, प्रोत्साहन नहुँदा अर्गानिक चिया उत्पादन नै ज्यादै थोरै छ। देशभरबाट पौने तीन करोड किलो तयारी चिया निर्यात हुँदा पहाडी अर्थाेडक्स चियाको परिमाण ७० लाख किलो हारहारी छ।

त्यसमा पनि अर्थाेडक्स अर्गानिक चिया तीन लाख किलोमात्रै। उत्पादन न्यून रहेको यही अर्गानिक अर्थाेडक्स चियाको माग जहिले पनि उच्च हुन्छ तेस्रो मुलुकमा। यो वर्ष पनि उत्पादकले धान्न नसक्नेगरीको माग छ। तर, उत्पादनमा लगानी गर्न सरकारले प्रोत्साहन नगर्दा किसान र उद्योगीको बलबुताले मात्रै भ्याउने अवस्था छैन।

चिया उद्योगी तथा प्राविधिक सरद सुब्बा तेस्रो मुलुकबाट आफूले धान्नै नसक्नेगरीको तयारी चिया माग भएको बताउँछन्। ‘मलाई तेस्रो मुलुुकका व्यापारीले ठूलो परिमाणको स्पेसल चिया माग गरेका छन् तर परिमाण पुग्दैन,’ उनी भन्छन्, ‘सरकारले पनि सहयोग गरे सालैपिच्छे उत्पादन बढाउन सकिन्छ, सरकारले विशेषगरी चिया किसानलाई चाहिँ सहयोग गर्नुपर्छ, अनि गुणस्तरीय उत्पादन बढ्छ ।’ आफूहरूले वर्षाैंदेखि प्रयास गर्दा पनि सरकारी निकायले चाहिँ अर्गानिक उत्पादनमा प्रोत्साहन नै गर्न नसकेको सुब्बाको गुनासो छ।

इलामे चियाबारीको सौन्दर्य देख्दा जति आकर्षक छ, पछिल्लो समय यसबाट हुने आम्दानी पनि उसैगरी बढ्दो छ। किसान र उद्योगीले आफ्नै बलबुतामा इलामे अर्गानिक अर्थाेडक्स चिया विश्वका लाखौं उपभोक्ताको गिलाससम्म पुर्‍याउन प्रयत्न गरिरहेका छन्।

उनीहरूकै प्रयासमा जसरी नेपाली चियाले विश्वमा चर्चा कमाउँदैछ, यसबाट अवसर र सम्भावना उसैगरी झाँगिदैछन्। हरियो चियाको गुणस्तर बढाउन किसान कम्मर कस्दैछन्, उद्योगी तयारी चियामा बासना भर्न र बजार बढाउन किसानसँग काँध मिलाउँदैछन्।

कुनैपनि कृषिउपज उपभोक्ताले जिब्रो पड्काउने स्वाद र त्यत्तिकै गुणस्तरको बनाउन थोरै मेहनतले सायदै सम्भव हुन्छ। अझ नेपालमात्र नभई युरोप, अमेरिकाका दर्जनौं बजारमा खोजी–खोजी विक्री हुने कृषिउपज तयार गर्न यहाँका किसान–उद्योगीको संघर्ष धेरैका लागि अनुकरणीय पनि छ।

अर्गानिक चियाको अभियानमा दिलोज्यान दिनेमध्ये उद्योगी उदय चापागाईंको नाम अग्रस्थानमा आउँछ। सूर्याेदय नगरपालिका–९, सुन्दरपानीमा १५ वर्षअघि उनले चलाएको ‘अर्गानिक चिया अभियान’ जिल्लाभर फैलियो। तर, सरकारी बेवास्ताले सिथिल हुने अवस्था आइरहेको उनको गुनासो छ। उनी उद्योगीमात्र होइन, उनले छ सय रोपनी आफ्नै जग्गामा चिया खेती गरेका छन्। उनीकहाँ अहिले पनि तीन सहकारीले हरियो चियापत्ती प्रशोनधन लागि ल्याउँछन्। किसानलाई हरियोपत्तीको प्रतिकिलो सय रुपैयाँभन्दा बढी दिन्छन्।

अहिले गोर्खा टी स्टेटको तयारी चिया जर्मनीका एक सय २५ सहरमा विक्री हुनेगरेको चापागाईंले सुनाए। ‘उद्योगको हरेक वर्षको लेखापरीक्षण सार्वजनिक छ, कतिमा किनेको चिया कतिमा बेच्छु भन्ने सबै किसानलाई थाहा भएर नै उहाँहरूले विश्वास गर्नुभएको छ,’ चापागाईंले भने, ‘त्यसैले म यो उद्योग मेरोमात्रै भन्दिनँ, यो त हामी सबै किसानको उद्योग हो । हाम्रो सहकारी हो यो । चिया अर्गानिक बनाउने अभियान हो।’

गोर्खा टी उद्योगसँगै प्रत्यक्ष–अप्रत्यक्ष सहयोग लिएर, सिको गरेर अर्गानिक चिया उत्पादन गर्ने, विश्व बजारमा पुर्‍याउने किसान–उद्योगी पनि जिल्लामा छन्। किसानको चिया अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त गुणस्तरको बनाउन गोर्खा टीले सेतुको काम गरिरहेको किसान दोर्जे लामा बताउँछन्।

‘किसानको मात्रै प्रयासले यहाँको चिया अर्गानिक प्रमाणीकरण हुने सम्भावना थिएन,’ उनले भने, ‘उद्योगमार्फत् किसानलाई आफ्नो उत्पादन विश्वमा चिनाउने पहुँच बनाइदिएको छ।’  

गोर्खाले २०६७ सालयता आफूसहित किसानको चिया अर्गानिक प्रमाणित गराएको हो। गोर्खा टीले बर्सेनि ७० हजार किलो हाराहारी तयारी अर्गानिक अर्थाेडक्स चिया उत्पादन गरिरहेको छ।

गोर्खासहित पूर्वीपहाडी जिल्लाको उत्पादनको मुख्य बजार जर्मनी नै हो। जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्सलगायत देशका व्यापारी हरेक वर्ष तयारी चिया किन्न यहीं आइपुग्छन्।  

सरकारी क्षेत्रले अर्गानिक चियालाई उपेक्षा गरेको उनको गुनासो छ। ‘चिया अर्गानिक बनाउँदा मात्रै यसको भविष्य सुनिश्चित हुन्छ,’ उनी भन्छन्, ‘तर, विडम्बना यस्तो छ कि, सरकारसँग नेपालमा अर्गानिक चिया कति उत्पादन हुन्छ भन्नेसम्मको तथ्यांकसमेत छैन।’

सरकारले चियामात्रै सुनेको र यसको गुणस्तर, सम्भावना र भविष्यबारे कुनै कदम नचालेको उनले बताए। ‘सरकारले अर्गानिक र अरू चियालाई एउटै डालोमा हालेर बुझेकैले यसप्रति किसान निरास छन्,’ उनले भने, ‘रासायनिक मल खरिद गर्न अर्बाैं रुपैयाँ खर्च गर्ने सरकारले अर्गानिक उत्पादनलाई कुनै ध्यान दिएको छैन। किसानलाई उत्साहित गरेको छैन।’  

चियाको भविष्य उज्वल बनाएर विदेशी मुद्रा आर्जनको गतिलो स्रोत बनाउन किसान, उद्योगी र व्यापारीबीच समन्वय हुनुपर्ने उनले बताए । ‘जबसम्म उद्योगी र व्यापारीले किसानसँग हातेमालो गर्दैनन्, तबसम्म न गुणस्तरीय चिया उत्पादन हुनसक्छ, न किसान र व्यापारी दुवै उक्सिन सक्छन्,’ उनले भने, ‘अर्गानिक उत्पादनलाई व्यापारका रूपमा मात्र होइन, अभियानका रूपमा अघि बढाउन सक्नुपर्छ ।’

विभिन्न तयारी वस्तु निर्यातमा सरकारले नगद प्रोत्साहन (इन्सेन्टिभ) दिने व्यवस्था पनि छ । कृषि क्षेत्रमा चाहिँ सरकारले केही वर्षअघिसम्म तेस्रो मुलुक निर्यात भएको तयारी चियालाई मात्रै निर्यातबाट आएको आम्दानीको पाँच प्रतिशत निर्यातकर्तालाई यस्तो प्रोत्साहन दिनेगरेको थियो । पछि भारत निर्यात हुने चियालाई समेत यो सुविधा दिने प्रावधान ल्याइयो । तर, दुई वर्षयता यो प्रोत्साहन रकम नपाएको उद्योगीको गुनासो छ । ‘सरकारले कृषि क्षेत्रलाई गन्दैगन्दैन,’ एक चिया उद्योगी आक्रोशित हुँदै भन्छन्, ‘अरू वस्तु निर्यात गर्ने, विभिन्न निकायमा (सेटिङ ?) मिलाउनेलाई तुरुन्त इन्सेन्टिभ दिइयो, कृषिलाई गन्दै गनिएन ।’

किसान–उद्योगीका अनुसार ठूलो सम्भावना भएर पनि तयारी चिया निर्यातमा बारम्बार समस्या आउँदा सरकार मूकदर्शक बनिदिन्छ । अर्गानिक चियालाई सधैं गुणस्तरीय मल–बीउ अभाव हुन्छ तर सरकारले रासायनिक मलमा अर्बाैं रुपैयाँ खर्च गर्दा अर्गानिक उत्पादनमा गरेको बेवास्ता ज्यादै दुःखदायी रहेको उनीहरू बताउँछन् । ‘अर्गानिक कृषि उत्पादन त सरकारको सिस्टमले हुनुपर्ने हो तर सरकार फेरिँदैपिच्छे हामीले उसलाई शून्यदेखि नै कुरा बुझाउनुपर्छ,’ उद्योगी चापागाईं भन्छन्, ‘अब त कुरा बुझे होला भन्ने भएपछि सरकारै ढल्छ, हाम्रो सबै प्रयास शून्यमा झरिहाल्छ ।’

गतवर्ष इलामकै फाकफोकथुम गाउँपालिका–६ स्थित तीनजुरे चिया उद्योगले गुणस्तरमा विश्वमै नामी र ‘ब्रान्ड’बनिसकेका देशलाई समेत उछिन्यो । टी मार्केटिङ एसोसिएसन अफ् चाइनाले गरेको तयारी ब्ल्याक टीको गुणस्तर परीक्षणमा तीनजुरेको पर्ल गोल्डेन टीले ग्रान्ड गोल्ड मेडल हात पारेको थियो ।  

नेपालसहित चिया उत्पादनमा मुख्य मानिने केन्या, श्रीलंका, चीन र भारतका अरू चियाभन्दा तीनजुरेको चिया सर्वाेत्कृष्ट गुणस्तरको हुनु नेपालका लागि गौरव हो । तीनजुरेले पर्ल गोल्डेन, नर्मल गोल्डेन र कर्ली गोल्डेन चियाको नमुना पठाएकामा नर्मल गोल्डेनले पनि सिल्भर मेडल पायो । त्यसबेला नेपालका विभिन्न उद्योगका १० खाले चियाले सर्वाेत्कृष्टसहित उत्कृष्ट स्थान पाए । एउटा नमुनाले ग्रान्ड गोल्ड मेडल, पाँच वटाले गोल्ड मेडल र चार नमुनाले सिल्भर मेडल पाएका थिए ।  

किसानको इमान्दारी र प्राविधिकको मेहनतकै कारण नेपालको चिया विश्वले चिन्न पाएको सहकारी अध्यक्ष ऋतुकान्त खनाल बताउँछन् । ‘इलामका उच्च भौगोलिक क्षेत्रमा उत्पादित चियाको गुणस्तर निकै राम्रो हुन्छ,’ उनले भने, ‘चियामा गाई–भैंसीको गोबर नै राम्रो मल हुन्छ, ‘विषादीका रूपमा पनि गाई–भैंसीको गहुँत नै प्रयोग गरिरहेका छौं ।’ उनले सरकारले अर्गानिक उत्पादनमा सहयोग गर्नुपर्ने बताए ।

किसान पनि सरकारी उपेक्षाका कारण आफूहरू चियाखेतीप्रति निराश हुनुपरेको बताउँछन् । उनीहरू प्रधानमन्त्री, मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई बारम्बार आफ्नो समस्या सुनाइरहेका छन् । तर, समस्या वर्षाैंदेखि उस्तै छ । अधिकतर चिया किसान सरकारले चियाखेतीका लागि ऋण सहुलियतसमेत नदिएको गुनासो गर्छन् । कोल्बुङका अर्गानिक चिया किसान माधव निरौला किसानलाई चाहिँ ऋण नपत्याउने, ठूला–ठूला व्यापारी र उद्योगीलाई मात्रै पत्याउने बैंकको नाम नै कृषि विकास बैंक हुनु विडम्बना भएको बताउँछन् । ‘अर्गानिक चिया त झन् सरकारले गणनै गर्दैन,’ उनी भन्छन्, ‘सरकार निकै संघर्ष गरेर अर्गानिक चिया उत्पादन गर्ने किसान पनि उही, रासायनिक मल र विषादी ओइराएर चिया उत्पादन गर्ने पनि उही ड्याङमा गन्छ, यो निकै दुःखद् छ ।’ अर्गानिक उत्पादक किसान आफूहरूले अनुदानमात्र खोजेको चियाखेतीको लगानीमा सहयोग गर्न आग्रह गरेको बताउँछन् । ‘सबै किसानले अनुदानमात्र खोजेका होइनन्,’ अर्का किसान सोनाम तामाङ भन्छन्, ‘‘किसानलाई सहुलियत ऋण, हरियोपत्तीको मूल्य राम्रो दिने व्यवस्था हुनुपर्छ ।’ सरकारले चिया किसानका लागि दिने सहुलियतसमेत किसानसम्म आइनपुगेको उनीहरूको भनाइ छ । ‘किसानका लागि तोकिएको सुविधासमेत बिचौलियाको हातमै हराइरहेको छ,’ उनले भने, ‘सरकारी निकायले किसानलाई दिने सुविधा सोझै किसानको हातमा पुगोस्, बिचौलियालाई मालामाल बनाउने होइन ।’  

चिया उद्योगीले किसानको हरियोपत्ती उत्पादन गर्न र स्थानीय उत्पादनलाई स्थानीयस्तरमै प्रशोधन गर्न उद्योग खोलेपनि सरकारको बजेट, नीति र कार्यक्रममा चियालाई सम्बोधन नै नगरिएको उनीहरू सुनाउँछन् । किसान र उद्योगीले चिया बालीको बिमा गर्ने व्यवस्था, श्रमिकले सहज ढंगले काम गर्ने वातावरण मिलाउन र चियाखेतीको प्राविधिक पक्षमा आफूहरूलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।

सूर्याेदय नगरपालिकाले भने अर्गानिक चिया उत्पादनका लागि कानुन नै बनाएर लागु गरेको छ । नगरले २०७५ सालमा गुणस्तरीय चिया उत्पादनसम्बन्धी ऐन नै बनाएको छ । तर, किसान, उद्योगी, व्यवसायीबीचकै समन्वय अभावले ऐन कार्यान्वयन फितलो बनिरहेको छ । गुणस्तरीय चियाको बजार व्यवस्थापनका लागि नगर कोशी प्रदेश सरकारको साझेदारीमा कन्यामा टि टेस्टिङ एन्ड प्रोमोसन सेन्टर निर्माण भएको छ । चालु वर्षदेखि प्रयोगमा आउने यो सेन्टरमा देशभरका चियाको गुणस्तर विश्वभरका चिया व्यापारी र चियाविज्ञ (इन्स्पेक्टर) चाख्न, खरिद गर्न पाउने मेयर रणबहादुर राई बताउँछन् ।

नेपालबाट बर्सेनि सवा तीन अर्ब रूपैयाँको तयारी चिया निर्यात हुन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार इलाममा सरकारी र निजी गरी १६, झापामा ६९, धनकुटामा छ ठूला उद्योग छन् । बोर्डका अनुसार देशभर एक१ सय आठ ठूला चिया उद्योग र बगान छन् । चिया खेती गर्ने किसानको संख्याका आधारमा इलाम देशमै पहिलो हो । तर, झापामा सबैभन्दा बढी चिया उत्पादन हुन्छ । अध्ययनअनुसार इलाममा पाँच हजार पाँच सय ८२ साना किसान (देशकै ६०.६ प्रतिशत) छन् । झापामा ७० प्रतिशत र इलाममा ६४ प्रतिशत चिया किसानको मुख्य आम्दानी नै चियाबाट भइरहेको छ।

प्रकाशित: १९ श्रावण २०८१ २१:०१ शनिबार