अर्थ

द्वन्द्वपीडित किसानको बगानमा रहरलाग्दा सुन्तला

इलाम नगरपालिका ५, बरबोटेका सामवेद चापागाईको बगानमा फलेका सुन्तला। तस्बिर : नागरिक

आँखाले भ्याएजतिमा लटरम्म सुन्तला। माघ पहिलो साता बित्दा ज्यादै गुलियो भरिएको सुन्तला बारी हेर्न र बोटैबाट टिपेर खान दिनहुँजसो मानिसको भिड।

इलाम नगरपालिका ५, बरबोटेका किसान सामवेद चापागाईं र उनी पत्नीलाई ‘सुन्तला पर्यटक’ को घुइँचो व्यवस्थापन गर्न भ्याइनभ्याइ हुन्छ। पुस पहिलो सातादेखि अहिलेसम्म उनको घरवरिपरि पहेंलपुर सुन्तलाको भिडियो क्लिप्स बनाउने, फोटो खिच्ने र सुन्तलाबारीमै रमाउनेको आउ–जाउ बाक्लो छ।

इलाम नगरपालिकाका मेयर केदार थापासहितका जनप्रतिनिधिमात्र होइन, विभिन्न दलका नेता, क्यापसका प्राध्यापक, पत्रकारदेखि सबैजस्तो क्षेत्रमा मान्छे उनको सुन्तला बगान पुगिरहेका छन्।

इलाम बजारबाट करिब ६ किलोमिटरमा मात्रै रहेको चापागाईंको सुन्तला बगानमा सामाजिक सञ्जाल र मिडियामा तस्बिर र भिडियो हेरेर विराटनगर, झापा र सुनसरीदेखिका मान्छेसमेत आइरहेका छन्।

यसरी सुन्तला उत्पादन गर्ने किसान सामवेद सशस्त्र द्वन्द्वका पीडित हुन्। उनका बुबा लेखनाथको सशस्त्र द्वन्द्वकालमा हत्या भएपछि सामवेदको परिवार जिल्लाकै नामसालिङ गाउँबाट बरबोटे आएको हो। नामसालिङमै हुँदा पनि सुन्तला खेतीमा रमाएको परिवार २० वर्षयता बरबोटेमा पनि सुन्तलामै सफलता हासिल गरिरहेको छ।

२० रोपनीमा फैलिएको उनको सुन्तला बगान यो साल जिल्लाकै ठूलो बगान पनि हो। कुनै वर्ष ३ हजार रुपैयाँमा बिक्री भएको सुन्तला किसान चापागाईंले यो साल १० लाख रुपैयाँमा बेचेका छन्, त्यो पनि फल पाकिनसक्दै।

उनको बगानले चर्चा पाएपछि इलाम नगरपालिकाका मेयर थापासहित वडाध्यक्षहरूसमेत बगान अवलोकनका लागि गएका छन्। ‘आफ्नै पालिकामा जिल्लाकै ठूलो बगान देखेर चकित भएँ’, बगानमै भेटिएका मेयर थापाले पत्रकारसँग भने, ‘किसान, त्यसमा पनि सशस्त्र द्वन्द्वका पीडितले गरेको यो मेहनत सबैका लागि अनुकरणीय छ।’  

मेयर थापाले नगरले किसानका लागि विभिन्न अनुदान र सहयोगका कार्यक्रम वास्तविक किसानसम्म पुर्‍याउने प्रतिबद्धता गरे। ‘सरकारले दिने अनुदान पनि वास्तविक किसानसम्म पुग्यो भनेमात्रै कृषिमा प्रोत्साहन हुन्छ’, उनले भने, ‘इलाम नगरले किसानका लागि विभिन्न कार्यक्रम ल्याएको छ। दूध, चिया, अलैंचीजस्तै सुन्तला पनि किसानको निकै सम्भावनायुक्त खेती हो भन्ने उदाहरण यो बगानले देखाएको छ।’

मेयरसँग बगान पुगेका इलाम उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण पौडेलले चापागाईंजस्ता मेहनती किसान सबैका लागि प्रेरणा भएको बताए। ‘हामी उपभोक्ताले पनि स्थानीय उत्पादनलाई नै प्राथमिकता दिने हो भने किसानलाई निकै ठूलो सहयोग पुग्छ’, उनले भने, ‘फलफूलका रूपमा पनि आयातितलाई भन्दा स्थानीय उत्पादन नै उपभोग गर्नुपर्छ भन्ने चेतना विकास गर्नु आवश्यक छ।’

चापागाईंको बगानमा बोटदेखि भुइँसम्म सुन्तलाका दाना लत्रिएका छन्। २०६० सालमा सुन्तला खेती थालेका थिए। ‘सुन्तला लगाएको पहिलो वर्ष तीन हजार रुपैयाँमा बिकेको थियो’, किसान चापागाईंले सम्झिए, ‘यो साल सबैभन्दा बढी १० लाख रुपैयाँमा बेच्न सफल भएको छु।’

सबैतिर सुन्तला मासिएर अहिले चापागाईंको जस्तो बगान भेट्न गाह्रो पर्दैछ। गतवर्ष चार लाख रुपैयाँमा बिकेको थियो यो बगान। ‘अहिले फल निकै राम्रो छ’, उनले भने, ‘धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन्।’

चापागाईं बिहान उज्यालो नहुँदै सुन्तला स्याहार्न पुग्छन्। साँझसम्म पनि सुन्तलाको स्याहारसुसारमै बिताउँछन्। सुन्तलामा लाग्ने कीरा नियन्त्रणका लागि उनले बेग्लै ‘प्रविधि’ निर्माण गरेका छन्। उनको बगान हेर्दा सफाचट देखिन्छ। बेला–बेला सिँचाइसमेत गर्नुपर्छ। ‘अहिले हामीलाई सुन्तलाको कोल्डस्टोर अति आवश्यक छ’, उनले भने।

२० रोपनी हाराहारीमा सुन्तला लगाएका उनले बगानमा केही पुराना बोट मरे पनि नयाँ थपेको बताए। यतिबेला सुन्तलाको मुख्य सिजन पनि हो। कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य प्रतिकिलो एक सय २० देखि डेढ सय रुपैयाँ छ। तर, धेरैजसो बगान बोट सुकेर रित्तिइसकेका छन्। वर्षैपिच्छे बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन्।

यो वर्ष गतवर्ष भन्दा निकै कम फल लागेको किसान बताउँछन्। पाँच–छ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेंलो हुने, भित्रभित्रै कीरा पर्ने र बोटै पहेंलो भएर सुक्ने भएपछि त्यसको उपचार गर्नै नसकिएको किसानको गुनासो छ।

इलामस्थित कृषि ज्ञान केन्द्रले पनि चापागाईंको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुन सक्ने जनाएको छ। केन्द्रले किसानलाई सुन्तला खेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको जनाएको छ।

कार्यालयका अनुसार यो वर्ष इलाममा विगतको तुलनामा सुन्तला उत्पादन घटेको छ। आव ०८०-८१ मा इलाममा दुई सय ७८.५ हेक्टरमा मात्र सुन्तला खेती भएको छ। गत आव ०७९-८० मा दुई सय ८० हेक्टरमा सुन्तला खेती थियो। त्यसबाट दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। आव ०८०-८१ मा दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको जनाइएको छ।

इलाम नगरपालिका ५, माइजोगमाईको नामसालिङ, रोङको वडा नं ६ लगायत क्षेत्रमा सुन्तला उत्पादन भएको छ। पुरानो बोट, रोग–कीरा, मौसम परिवर्तन, समयमा छाँटकाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिएको केन्द्रले जनाएको छ।

प्रकाशित: ८ माघ २०८० ०६:१० सोमबार

द्वन्द्वपीडित किसानको बगान सुन्तला बारी इलाम नगरपालिकाका मेयर केदार थापा सुनसरी झापा विराटनगर