अर्थ

वैदेशिक व्यापार ३० अर्बले संकुचन

मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएका कारण वैदेशिक व्यापारमा संकुचन आएको छ। पोहोरको तुलनामा वैदेशिक व्यापारमा ३.४७ प्रतिशतले गिरावट आएको छ। गत आवको तुलनामा चालु आव २०८०/८१ मा वैदेशिक व्यापारमा ३० अर्ब ३३ करोड रूपैयाँले संकुचन भएको छ।

गत आवको ६ महिनामा आठ खर्ब ७३ अर्ब ४७ करोडको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा आठ खर्ब ४३ अर्ब १३ करोड रूपैयाँ रहेको छ। वैदेशिक व्यापार ३.४७ प्रतिशतले घटेको छ।

अर्थतन्त्रका बाह्य सूचक सकारात्मक भए पनि आन्तरिक अर्थतन्त्रमा सुधार नआउँदा उपभोग घटेपछि आयात घटेको छ। त्यसैगरी, निर्यातमा पनि भारी गिरावट आएको छ।

 स्वदेशमा खपत हुने वस्तुको उत्पादन बढाउन नसक्दा मुलुकको व्यापार घाटा करिब सात खर्ब रूपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड रूपैयाँ रहेको छ।

विभागका अनुसार आयात ३.०९ प्रतिशत, निर्यात ७.२३ प्रतिशतले घटेको छ। यो अवधिमा सात खर्ब ६८ अर्ब १६ करोड रूपैयाँको वस्तु आयात भएको छ भने ७४ अर्ब ९६ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। पोहोर सोही अवधिमा सात खर्ब ९२ अर्ब ६६ करोड रूपैयाँको वस्तु आयात भएको थियो भने ८० अर्ब ८० करोड रूपैयाँको वस्तु निर्यात भएको थियो।

६ महिनामा सबैभन्दा बढी ६६ अर्ब ४९ करोड रूपैयाँको डिजेल आयात भएको छ। त्यसैगरी, अहिले ३३ अर्ब ९२ करोडको रूपैयाँको आयात भएको छ। सबैभन्दा धेरै फलामे पाता ६ अर्ब १४ करोड र प्रशोधित पाम तेल दुई अर्ब ९० करोड रूपैयाँको निर्यात भएको छ।

विदेशी विनिमय सञ्चिति, रेमिटेन्स आगमनमा वृद्धि, शोधनान्तरमा सुधार, कर्जा प्रवाह बढेर सुधारको संकेत देखिए पनि वैदेशिक व्यापार घट्नु चिन्ताको विषय हो। नेपालको अर्थतन्त्र आयातमा आधारित रहेकाले आयात घट्नु भनेको उपभोग घट्नु हो। यसको असर राजस्वमा पनि परेको छ।

वैदेशिक व्यापारमा गिरावट आउँदा सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। व्यापार घाटा कम हुनु राम्रो मानिए पनि उपभोक्ताको उपभोग क्षमतामा ह्रास आएका कारण आयात घटेको हो। स्वदेशमा उत्पादन बढेर आयात घटेको भने होइन। अर्थतन्त्रको आकार बढेसँगै निर्यात बढ्नुपर्नेमा त्यो पनि घटेको छ।

आयात र निर्यात दुवै घट्नु अर्थतन्त्रका लागि राम्रो होइन। यो अर्थतन्त्र सुस्ताएको संकेत हो। अर्थतन्त्रमा विस्तारै सुधार होला भन्ने अपेक्षा छ। आयात घट्दा राजस्वमा पनि असर गर्छ। नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ।

भारतसँग चार खर्ब २४ अर्ब ४४ करोड रूपैयाँको व्यापार घाटा छ। यो अवधिमा भारतबाट चार खर्ब ७४ अर्ब ८९ करोड रूपैयाँ बराबरको आयात भएको छ भने ५० अर्ब ४४ करोड रूपैयाँको मात्र सामान निर्यात भएको छ। त्यसैगरी, चीनसँग एक खर्ब ४५ अर्ब ७९ करोड रूपैयाँ व्यापार घाटा छ।

प्रकाशित: ८ माघ २०८० ०२:३७ सोमबार

मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या वैदेशिक व्यापारमा संकुचन निर्यातमा पनि भारी गिरावट