अर्थ

फागुन पहिलो साता पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिको सुझाव

पोखरालाई फागुन पहिलो साता पर्यटकीय राजधानी घोषणा गर्न  अध्ययन समितिले सुझाएको छ। पोखरालाई पर्यटकीय राजधानी बनाउनेबारे अध्ययन गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति बनाएको थियो । त्यही समितिले प्रतिवेदन बुझाउँदै फागुन पहिलो साताको समय दिएको हो।

अध्ययन समितिले विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाएको प्रतिवेदनमा समयसीमा तोकेर काम गर्न पनि सुझाएको छ। समितिले पर्यटनको राजधानी बनाउन आवश्यक न्यूनतम आधारलाई केलाएको समितिले पर्यटकीय राजधानी घोषणा गर्नुअघि पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाहरुको छलफल र बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गराउन र गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रस्ताव पेश गर्न समितिले सिफारिस गरेको छ।

त्यस्तै पोखरा महानगरपालिका र आसपासका स्थानीयतहले पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गर्न पनि प्रतिवेदनमा सुझाइएको छ । यसरी आएको निर्णयका आधारमा गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले पोखरालाई पर्यटकीय राजधानी बनाउने निर्णय गर्न समितिले सुझाएको छ। प्रदेश सरकारको सो निर्णयलगत्तै सरोकारवाला तथा सर्वसाधारणहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रम गरेर पोखरालाई प्रदेशको राजधानी घोषणा गर्न प्रतिवेदनले सुझाएको पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न बनेको अध्ययन समितिका संयोजक एवम् प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले जानकारी दिए।

समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव पनि दिएको छ। समितिले बुझाएको प्रतिवेदनमा दुइवर्ष भित्रमा गरिने कामलाई अल्पकालीन, पाँचवर्षमभित्र गरिनुपर्ने कामलाई मध्यमकालीन र त्यसभन्दा बढी समय लगाएर गरिने कामलाई दीर्घकालीन योजनामा राखेर काम गर्न सुझाव दिएको हो।

जस अन्तर्गत अल्पकालीनमा निर्माणाधीन सडकलाई पूर्णता दिने, पर्यावरणमैत्री विकल्पसहित फेवालगायतका तालमा हुने बोटिङको संख्या बढाउने तथा गुणस्तरीय बनाउन, फेवाताल वरीपरी पैदल मार्ग निर्माणलाई पूर्णता दिन, हरित क्षेत्र तथा पार्कको व्यवस्था गर्न सुझाव दिएको छ। त्यसैगरि सबै खालका पर्यटकका लागि बसोबास गर्नसक्ने खालको बसोबासको व्यवस्था गर्न सुझाएको छ।

मध्यमकालीनमा पर्यटनलाई विशिष्टिकरण गर्न र बसोबासको विविधिकरण गर्न तथा दक्ष जनशक्तिको विकास गर्न समितिले सुझाएको छ। ‘यसका लागि हामीले होम–स्टे, टु–स्टार, थ्री–स्टार, फोर–स्टार, फाइभ–स्टार, सेभेन–स्टार गरेर बसोबासमा विविधिकरण गर्न भनेका छौं। व्यवसायिक जनशक्ति उत्पादन, टुरिजम हस्पिटालिटीलाई अहिलेको समयसापेक्ष बनाउन व्यवसायिक जनशक्ति बनाउनु पनि सुझाव दिएका छौं,’ उनले भने।  

त्यस्तै स्मार्ट प्रविधिको प्रयोगले पर्यटकको हिसाब राख्ने, उनीहरुको निगरानी गर्ने वातावरण बनाउन प्रतिवेदनमा सुझाइएको छ भने यी सबै कार्य गर्नका लागि क्षेत्रीय सहयोग जुटाउनका लागि पनि सुझाव दिइएको छ। प्रतिवेदनमा दीर्घकालमा निरन्तर पर्यटक आईराख्ने वातावरण बनाउन सुझाव दिइएको छ। जसका लागि पर्यटनको दीगोपन र समावेशीतालाई जोड दिन सुझाव दिइएको उनले बताए।

समितिले पोखरालाई पर्यटकीय राजधानी बनाउनका लागि २० वटा पूर्वाधारको पहिचान गरेको छ। जस अन्तर्गत पर्यटकलाई आकर्षित गर्ने खालको प्राकृतिक र भौतिक गन्तव्यको पहिचान, संरक्षण र सम्बद्र्धन गर्न भनेको छ। समितिले बुझाएको प्रतिवेदनमा सांस्कृतिक आकर्षण, साहसिक र मनोरञ्जनात्मक, यातायात पहुँचमा अभिवृद्धि गर्न भनिएको छ।

समितिले पर्यटकीय सुविधा थप्न भन्दै त्यसका लागि पर्यटकीय गतिविधि बढाउन, सेवा प्रदायकको अवस्थामा सुधार, कानूनी संरचना, सार्वजनिक सुरक्षाको प्रत्याभूति गर्ने वातावरण बनाउन सुझाव दिएको छ। त्यस्तै, अन्तर्राष्ट्रियस्तरको सहर, सभा सम्मेलन केन्द्रको अवस्था, स्याटलाइट सहरको विकास, नवप्रवर्तन विकास र सौन्दर्यकरण, रैथाने परिकार, मेला, महोत्सवको प्रवद्र्धनसँगै बजारीकरणमा लाग्नुपर्ने औंल्याएको छ।

समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछिको फाईदाका बारेमा पनि अपेक्षित प्रभाव भनेर विश्लेषण गरेको छ। ‘राजधानी घोषणा गर्ने वित्तिकै जनताको जीवनस्तर उकासिने वा ह्वात्तै पर्यटक बढ्ने भन्ने होईन, समिति संयोजक देवकोटाले भने, ‘पर्यटनको राजधानी घोषणा पछि पोखराको ब्राण्डिङमा सघाउँछ, तीनैतहको सरकारले बनाउने योजनामा पहिलो प्राथमिकता पाउँछ, अनि पोखराको बजारीकरण र प्रवद्र्धनमा पनि सघाउँछ।’ यसले पर्यटन व्यवसायी तथा स्थानियमा उत्साह छाउने र पर्यटनमा लगानीमैत्री वातावरण निर्माण हुने उनको दाबी छ।

समितिले राजधानी घोषणासँगै पर्यटकलाई आकर्षित गर्नका लागि फिर्केखोला करिडोर निर्माण, सेती नदी करिडोर निर्माण, बेगनास फेवाताल साईकल पथ निर्माण, आरोग्यधाम निर्माण, पञ्चासे जैविक विविधता संरक्षण तथा प्रवद्र्धन, बोटानिकल गार्डेन, पार्क निर्माण, गुणस्तरीय सडक स्तरोन्नती तथा सडक सञ्जाल बिस्तारका काम गर्न पनि सुझाएको छ। नयाँ पदमार्गको पहिचान, संरक्षण र प्रवद्र्धन गर्न पनि सुझाएको छ। 

समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक उडान, त्यहाँबाट सार्वजनिक सटल बस सञ्चालन गर्न, प्रदुषण कम गर्न विद्युतीय गाडीको प्रोत्साहन, पोखराका पर्यटकीय गन्तव्यको नाम र ठाउँबारे नेपाली र अंग्रेजी भाषामा डकुमेन्ट्री बनाउन तथा पोखरालाई छाडा चौपाया मुक्त बनाउन पनि सुझाव दिएको उनले जानकारी दिए।

दिइएका सुझावहरु कार्यान्वयनका लागि समितिले गण्डकी प्रदेश सरकार पोखरा महानगरपालिकालाई सहकार्य र समन्वय गर्न भनेको छ। संयोजक देवकोटाले भने, ‘प्रदेश र महानगरको आवश्यकता अनुसार छलफलबाट कार्यविभाजन गरेर काम गर्नुपर्नेछ। कुनैकुनै काम साझेदारीमापनि गर्न भनेका छौं।’

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समितिको प्रतिवेदनमा उल्लेख भएको समयसीमामा रहेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए। ‘पोखरा पर्यटकीय राजधानी नै हो,’ उनले भने, ‘यसलाई हामीले औपचारिक रुपमा पर्यटनको राजधानी घोषणा नगरेको मात्रै हो वा घोषणा गर्न नसकेको अवस्था थियो। तर अब औपचारिक रुपमै घोषणा गर्छौ।’ उनले प्रतिवेदन कार्यान्वयनका लागि पोखरा महानगरपालिका, पर्यटन सम्बद्ध संघसंस्था तथा वरीपरीका पालिकासँग सहकार्य गर्ने बताए।

प्रकाशित: २७ पुस २०८० ०८:५९ शुक्रबार

पोखरा पर्यटकीय राजधानी घोषणा