अर्थ

धान उत्पादन दशकयताकै उच्च

मुलुकमा चामल आयात बढिरहेको बेला यो वर्ष एक दशकयताकै बढी धान उत्पादन भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको हो, जुन आव २०७०/७१ यता तुलनात्मक रूपमा बढी हो।

तथ्यांकअनुसार नेपालमा आव २०७७/८८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीका अनुसार धान उत्पादन सम्भवतः अहिलेसम्मकै सबैभन्दा धेरै हो।

आव २०७९/८० मा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो। यसपालि पोहोरभन्दा २ लाख ७६ हजार ८१३ मेट्रिक टन बढी धान फलेको हो।

उन्नत जातको धानको बिउको उपलब्धता र प्रयोग, रोग र किराको प्रकोपमा कमी, बाढीपहिरोबाट धान बालीमा पर्न जाने नकरात्मक असरमा कमी भएकाले उत्पादन बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले बताए।

‘मलखादको उपलब्धतामा सुधार आएको छ,’ सचिव शर्माले भने, ‘कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलताले पनि उत्पादन वृद्धिमा सघाउ पुग्यो।’ हाइब्रिडको प्रयोगले उत्पादन र उत्पादकत्व बढेको पनि उनले बताए। धान उत्पादन वृद्धि हुँदा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पुग्छ,’ शर्माले भने, ‘चामल आयात प्रतिस्थापन हुन्छ।’

धान उत्पादन वृद्धि हुँदा मुलुकको आर्थिक वृद्धिमा टेवा पुग्छ भने चामल आयातमा प्रतिस्थापन हुन्छ। यसले मुलुकको अर्थतन्त्रलाई सकारात्मक योगदान पुर्‍याउँछ।

मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएकाले समग्र मधेस प्रदेशमा उत्पादन र उत्पादकत्वमा गत आवको तुलनामा ह्रास आए पनि अन्य प्रदेशको उत्पादन वृद्धिले समग्र उत्पादन बढेको हो।

प्रदेशगत आधारमा हेर्दा कोसीमा धान उत्पादन उच्च र कर्णालीमा न्यून छ। कृषि मन्त्रालयले सातै प्रदेशका कृषि मन्त्रालयबाट जिल्लागत रूपमा प्राप्त भएका आँकडा, इसिमोडसँगको सहकार्यमा स्याटेलाइट इमेजको प्रयोगबाट तराईका जिल्लामा लगाइएको धान बालीको क्षेत्र, चालु आवमा भएको रोपाइँको आँकडालाई प्रमुख आधार मानेर धानको उत्पादन अनुमान गरिएको मन्त्रालयको भनाइ छ।

उन्नत जातको बिउ उपलब्धता र प्रयोग, रोग र किराको प्रकोपमा कमी, बाढीपहिरोबाट बालीमा पर्न जाने नकरात्मक असरमा कमी, मलखादको उपलब्धता, कृषि औजार र प्रविधिको प्रयोग, मौसमी अनुकूलताका कारण धान उत्पादन बढेको हो।

–गोविन्दप्रसाद शर्मा, सचिव,कृषि मन्त्रालय

आव २०७०/७१ मा ५० लाख ४७ हजार ४७ मेट्रिक टन, २०७२/७३ मा ४२ लाख ९९ हजार १०० मेट्रिक टन, २०७३/७४ मा ५२ लाख ३० हजार मेट्रिक टन, २०७४/७५ मा ५४ लाख मेट्रिक टन, २०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

त्यसैगरी आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन, २०७७/८८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन, २०७८/७९ मा ५१ लख ३० हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको थियो।

धान लगाउने क्षेत्रफल घटे पनि धान उत्पादनमा भने वृद्धि भएको छ। गत आवमा १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा चालु आवमा १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। धान रोपाइँको क्षेत्रफल घटे पनि धान उत्पादन ४.३३ प्रतिशतले वृद्धि भएको हो।

विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो। धानको औसत उत्पादकत्व प्रतिहेक्टर ३.९८ टन छ।

कोसी प्रदेशमा पोहोरभन्दा १०.१७ प्रतिशत, लुम्बिनीमा १३.७१ प्रतिशत, सुदूरपश्चिममा ५.७३ प्रतिशत, गण्डकीमा ४.५१ प्रतिशत, कर्णालीमा ३.२८, बागमतीमा १.८८ प्रतिशतले धानको उत्पादत्व बढेको छ। मधेसमा भने ३.६८ प्रतिशतले उत्पादनमा कमी आएको छ। कोसी प्रदेशमा सबैभन्दा धेरै धान उत्पादन भएको छ।

चालु आवमा कोसीमा १४ लाख ३५ हजार ५७८ मेट्रिक टन, मधेसमा १३ लाख ३७ हजार ६७२, लुम्बिनीमा १३ लाख १० हजार ८२९, सुदूरपश्चिममा ५ लाख ९९ हजार १२४, बागमतीमा ५ लाख ४ हजार ३४४, गण्डकीमा ३ लाख ९१ हजार ६२४ र कर्णालीमा १ लाख ४५ हजार ६३ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ।

समयमा धान रोपाइँ, अनुकूल मौसम, पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था हुँदा धान उत्पादन वृद्धि हुने गरेको छ। गत आवमा २ खर्ब ४२ अर्ब रूपैयाँका कृषि तथा पशुजन्य वस्तु आयात भएको थियो। आव २०७९/८० मा ५६ अर्ब ६२ करोड रूपैयाँको अनाज (चामल, मकै, गहुँ लगायत) आयात भएको थियो। यसमा सबैभन्दा धेरै चामलको हिस्सा रहेको छ। समग्र कृषि उत्पादनमा धानको योगदान सबैभन्दा धेरै छ।

प्रकाशित: २३ पुस २०८० ०१:०२ सोमबार

धान उत्पादन दशकयताकै उच्च गोविन्दप्रसाद शर्मा सचिव कृषि मन्त्रालय