अर्थ

खाद्यवस्तुमा दुई प्रतिशतभन्दा बढी ‘ट्रान्स फ्याट’ भए कारबाही गरिने

खाद्यवस्तुमा दुई प्रतिशतभन्दा बढी ट्रान्स फ्याट (खाद्य पदार्थमा पाइने एक प्रकारको चिल्लो पदार्थ) भए सरकारले कारबाही गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले खाद्यपदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा तोक्ने मापदण्ड स्वीकृत गरेसँगै अब खाद्यवस्तुमा चिल्लो पदार्थ दुई प्रतिशतभन्दा बढी राखे कारबाहीको दायरामा ल्याइने भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको ट्रान्स फ्याटको अधिकतम सीमा निर्धारणसम्बन्धी मापदण्ड स्वीकृत भएको छ। यो मापदण्डमा खाद्यवस्तुमा चिल्लो पदार्थ दुई प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ।

‘मन्त्रिपरिषद् बैठकले खाद्यपदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा तोक्ने मापदण्ड स्वीकृत गरेको छ,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले भनिन्, ‘विभागले अब यसलाई कार्यान्वयनमा ल्याउँछ।’

ट्रान्स फ्याटको अधिकतम सीमा निर्धारणसम्बन्धी मापदण्डमा खाद्यवस्तुमा चिल्लो पदार्थ दुई प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख छ।

एक ग्रामको खाद्यवस्तुमा दुई प्रतिशतभन्दा बढी चिल्लो पदार्थ हुनु हुँदैन भन्ने यो मापदण्डले मान्यता राख्दछ। तर, बिस्कुटमा करिब १० प्रतिशतसम्म ट्रान्स फ्याट हुन्छ। त्यसलाई नियन्त्रण गर्न विभागले औद्योगिक ट्रान्स फ्याटको गुणस्तरमा मापदण्ड बनाएको हो।

ट्रान्स फ्याट खानामा पाइने एक प्रकारको चिल्लो पदार्थ हो। मानव स्वास्थ्यका दृष्टिकोणले ट्रान्स फ्याट चिल्लो पदार्थमध्येको एक हानिकारक पदार्थ हो। खानामा यो चिल्लोको मात्रा धेरै भए मुटुरोग लगायत अन्य स्वास्थ्यसम्बन्धी समस्याहरू देखापर्ने वैद्यले बताइन्।

‘ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरी दुई किसिमका स्रोतबाट प्राप्त हुन्छ,’ उनले भनिन्, ‘राँगा, भैंसी, खसीबोका आदिको रातो मासु तथा जनावरको दूध ट्रान्स फ्याटका प्राकृतिक स्रोत हुन्।’

चिकित्सकका अनुसार ट्रान्स फ्याट अत्यन्तै खराब चिल्लो पदार्थ हो। यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ। असल कोलेस्ट्रोलको मात्रा घटाउँछ। रक्त नलीको भित्री भागमा नकारात्मक असर पारी त्यहाँ रगतको थेग्रा जम्ने सम्भावनालाई बढाउँछ। रक्तन ली साँगुरिने क्रम बढाउँछ।

मुटुको धमनीको रोग, हृदयाघात र मस्तिष्कघात हुने सम्भावनालाई बढाउने चिकित्सक बताउँछन्। ट्रान्स फ्याट मुटु र रक्तनलीहरूका लागि अत्यन्तै हानिकारक छ। दुब्ला मान्छेको तुलनामा मोटा मान्छेलाई ट्रान्स फ्याटले अझ बढी हानि गर्ने स्वास्थ्यकर्मी बताउँछन्।

मोटा मान्छेलाई ट्रान्स फ्याटको असरबाट मुटु रोगका अतिरिक्त, मधुमेह, बाथआदि स्वास्थ्य समस्या उत्पन्न हुने खतरा बढ्छ। नयाँ अध्ययनले ट्रान्स फ्याटबाट कोलोनको क्यान्सर, अल्जाइमर तथा महिलामा स्तनक्यान्सरको जोखिम बढ्छ भन्ने तथ्य पनि देखाएको विभागले जनाएको छ।

अहिले बजारमा बिक्री भइरहेका अधिकांश खाद्यवस्तुमा तोकिएको मापदण्डभन्दा बढी चिल्लो पदार्थ भएकाले विभागले नयाँ मापदण्ड तयार गरेको हो। विभागले नमुना संकलन गरेर परीक्षण गर्दा औद्योगिक ट्रान्स फ्याटको मात्रा २० देखि ३० प्रतिशतसम्म पाइएको जनाएको छ।

मापदण्ड नहुँदा उद्योगहरूले यसप्रति ध्यान नदिई मानवस्वास्थ्यमा असर पर्ने चिल्लो पदार्थ प्रयोग गर्दै आएका थिए। ट्रान्स फ्याटको मात्रा आँखाले नदेखिने भएकाले उपभोक्ताले मन्द विषको रूपमा यसको उपभोग गर्दै आएका छन्।

 ‘ट्रान्स फ्याटले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले लामो समयदेखि मापदण्ड बनाउने प्रयास गरेका थियौं,’ महानिर्देशक वैद्यले भनिन्, ‘मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। अब राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनमा लैजान्छौं।’

रातो मासुमा पाइने चिल्लोमा ट्रान्स फ्याटको मात्रा ३ देखि ९ प्रतिशत हुन्छ। यस्तै प्रकारले जनावरको दूधको चिल्लोमा २ देखि ६ प्रतिशत ट्रान्स फ्याट हुन्छ। प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याटले स्वास्थ्यमा नकारात्मक असर पार्दैन। वनस्पति तेललाई तताएर त्यसलाई आंशिक रूपमा हाइड्रोजिनेसन गरी वनस्पति घिउ तयार गर्दा औद्योगिक ट्रान्स फ्याट उत्पन्न हुन्छ।

यसरी कृतिम तरिकाले उत्पन्न भएको औद्योगिक ट्रान्स फ्याट स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने उनले बताइन्। ‘यसले खानेकुराको स्वाद तथा रूप बढाउने कार्य गर्दछ,’ उनले भनिन्।

नेपालमा वनस्पति घिउ प्रयोग गरी तयार गरिने खाद्य पदार्थमा बेकरी सर्टनिङ, बिस्कुट, केक, तयारी चाउचाउ, मार्गरिन, फ्रोजेन डेजर्ट, बेकरी उत्पादनहरू, आलुचिप्स, वनस्पति घिउ वा तेलमा तारेका खानेकुरामा ट्रान्स फ्याटको मात्रा हुन्छ। थोरै मात्रामा खाँदा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याटले स्वास्थ्यमा नकारात्मक असर नपर्ने विज्ञहरू बताउँछन्।

दुब्ला मान्छेको तुलनामा मोटा मान्छेहरूलाई ट्रान्स फ्याटले अझ बढी हानि गर्ने स्वास्थ्यकर्मी बताउँछन्। मोटा मान्छेलाई ट्रान्स फ्याटको असरबाट मुटु रोगका अतिरिक्त, मधुमेह, बाथआदि स्वास्थ्य समस्या उत्पन्न हुने खतरा बढ्छ। नयाँ अध्ययनले ट्रान्स फ्याटबाट कोलोनको क्यान्सर, अल्जाइमर तथा स्तनक्यान्सरको जोखिम बढ्छ भन्ने तथ्यहरू पनि देखाएको विभागले जनाएको छ।

वनस्पति तेललाई जति धेरै पटक ततायो, त्यति नै त्यसमा ट्रान्स फ्याटको मात्रा बढ्दै जान्छ। यस्तो तेलमा पकाएको पकौडा, समोसा, चाउचाउ, आलु, चिकेन, अन्य तारेका खानेकुरा स्वादिलो भए पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२३ को डिसेम्बरसम्ममा संसारबाट ट्रान्स फ्याटलाई हटाउन सिफारिस गरेको भए पनि नेपालमा कार्यान्वयन भएको छैन।

विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिका, डेनमार्क, थाइल्यान्ड, युरोपियन युनियन, जापान, भारतलगायत ६० भन्दा बढी मुलुकले ट्रान्स फ्याटसम्बन्धी नीति तथा कानुन कार्यान्वयनमा ल्याइसकेका छन्।

नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएका नाताले नेपालले विश्व स्वास्थ्य संगठनको ट्रान्स फ्याटसम्बन्धी सिफारिसलाई कार्यान्वयन गरेको हो।

ट्रान्स फ्याटबारे गरिएका विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानका अनुसार मान्छेले दैनिक खाने चिल्लो पदार्थको एक प्रतिशतभन्दा बढी ट्रान्स फ्याट भएमा यो स्वास्थ्यका लागि हानिकारक हुन्छ।

वैज्ञानिक अध्ययनले सिफारिस गरेबमोजिम मान्छेलाई दैनिक आवश्यक पर्ने कुल ऊर्जा (क्यालोरी) को एक तिहाई ऊर्जा चिल्लो पदार्थबाट प्राप्त हुनु पर्छ। दैनिक क्यालोरीको  १० प्रतिशत स्याचुरेटेड फ्याटबाट र एक प्रतिशतभन्दा कम ट्रान्स फ्याटबाट प्राप्त भएको भए राम्रो मानिन्छ। खानामा ट्रान्स फ्याट शून्य भए सबैभन्दा उत्तम हुन्छ।  

प्रकाशित: २२ पुस २०८० ०२:५३ आइतबार

मन्त्रिपरिषद् बैठक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नेपाल संयुक्त राष्ट्रसंघ