अर्थ

मस्कोमा नेपाली चियाको चर्चा

रुसको मस्कोमा जारी ‘अन्तर्राष्ट्रिय प्रो एक्स्पो–२०१८’ मा नेपालको अर्गानिक चिया ‘टेस्ट’ गर्नेक्रममा तेस्रो मुलुकका व्यापारी र नेपाली व्यवसायी। तस्बिर: उमेश खत्रीको फेसबुक

इलाम- नेपाली अर्थोडक्स अर्गानिक तयारी चिया रुसको राजधानी मस्कोमा भेला भएका विश्वभरका व्यापारी र उपभोक्ताको आकर्षण बनेको छ। यहाँ जारी अन्तर्राष्ट्रिय प्रो एक्स्पो–२०१८ इलामबाट प्रदर्शनीमा राखिएको नेपाली चिया रोजाइमा परेको हो।

इलामको साखेजुङ, चमैता, सूर्योदय नगरपालिका लगायतबाट लगेर प्रदर्शनीमा राखिएको नेपाली चियाले व्यापारी र उपभोक्ताको ध्यान खिचेको एक्स्पोमा सहभागी तीनजुरे चिया सहकारी संस्थाका सचिव सोम शर्माले जानकारी दिए। ‘यो पटक नेपाली चियाको लोगो पनि ब्यानरमा राखेर नेपाली अर्गानिक चिया प्रदर्शनी गरिरहेका छौं,’ उनले भने, ‘अन्य देशबाट मस्कोमा भेला भएका व्यापारीले नेपालको चिया निकै मन पराएका छन्।’

५ फरवरी सुरु एक्स्पो शुक्रबार (९ फरवरी) सकिँदैछ। एक्स्पोमा इलामबाट अर्गानिक ह्वाइट टी, ग्रिन टी, ग्रिन पर्ल, ब्ल्याक टी र गोल्डेन टीलगायत राखिएको उनले जनाए । ‘नेपाली चियाको एक्स्पोमा आएर चियाको स्वाद चाख्न व्यापारीले खुब रुचि देखाएका छन्,’ शर्माले भने, ‘केही व्यापारीले तयारी चिया अर्डरसमेत गरेर फर्केका छन्।’

सहकारी संस्थामार्फत उत्पादन गरेको नेपाली अर्गानिक तयारी चियाको विश्व बजारमा पहुँच बढाउने उद्देश्यले एक्स्पोमा चिया लिएर गएको उनले बताए। चिया तथा कफी विकास बोर्डका रघुपति चौधरीको नेतृत्वमा मस्को गएको टोलीमा शर्मासहित केन्द्रीय चिया सहकारी संघका योगेश्वर दाहाल, साखेजुङ टी स्टेटका उमेश खत्री, मातृभूमि टी इन्डस्ट्रिज प्रालि धनकुटाका नारायण राईलगायत सहभागी छन्।

चिया धेरै लैजान नसकेकाले नमुनाका लागि थोरै मात्र लगिएको सहभागीले जानकारी दिएका छन्। शर्माका अनुसार चिया बेच्नभन्दा विश्वमा बजार प्रवद्र्धनका लागि चाहिँ एक्स्पोमा नेपाली चिया राखिएको हो ।  नेपाली चिया उत्पादन भएको करिब डेढ सय वर्षपछि भर्खरै नेपाली चियाको लोगो स्वीकृत भएको थियो । यसको प्रयोग कार्यविधि जारी भएपनि प्रयोगमा भने आउन थालिसकेको छैन।

तर, कुनै ब्रान्डबाहेक पनि अन्तर्राष्ट्रिय बजारमा ‘उच्च गुणस्तर’का रूपमा ख्याती कमाएको नेपाली चियाको बजार भने उच्च छ । यहाँका व्यापारीले तेस्रो मुलुक पुर्‍याएर नेपाली चिया बिक्री गरिरहेका छन्। व्यवसायी तथा किसानले उत्पादन गरेको उच्च गुणस्तरको तयारी चिया सोझै तेस्रो मुलुकसम्म जाने गरेको छ । चियाविज्ञ तथा उद्यमी चन्द्रभूषण सुब्बाले जर्मनी, स्विट्जरल्यान्ड, अमेरिका, रुस, चीन, ताइवानलगायत देशमा नेपाली चियाको बजार उच्च रहेको बताए । ‘सुरुमा नेपाली चियाको प्रचार गर्न समय लाग्छ तर अहिले तेस्रो मुलुक गइरहेको नेपाली चियाको गुणस्तर कायम नै रहे केही वर्षपछि नेपाली चियाले विश्व बजारमा उच्च मूल्य पाउँछ।

                इलाम, पाँचथर र धनकुटाका उद्योगले अर्गानिक तयारी चिया उत्पाद गरिरहेका छन्। ठूलो परिमाणमा उत्पादन हुने अर्थोडक्स नन अर्गानिक चिया भारतको कोलाकातामा बिक्री हुन्छ।

 

 

प्रकाशित: २६ माघ २०७४ ०९:५३ शुक्रबार

मस्कोमा नेपाली चियाको चर्चा