अर्थ

राष्ट्र बैंकमा कर्मचारीलाई ५ अर्बको बम्पर प्याकेज

काठमाडौं -  नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँबराबरको ‘बम्पर प्याकेज’ सुविधा दिने तयारी गरेको छ । राष्ट्र बैंक बैंकहरूको पनि बैंक हो ।राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रुपैयाँबराबरको बिनाब्याजी घरजग्गा सापटी रकमदेखि खाइपाई आएका सबै शीर्षकअन्तर्गत भत्तामा साढे १८ प्रतिशतको वृद्धिसमेत समेटेको छ ।

हाल बैंकमा १ हजार २ सय ५० कर्मचारी छन् । घरजग्गा सापटी रकम नयाँ कर्मचारीका लागि एकमुष्ठ हो भने पुरानाका लागि थप २७ लाख रुपैयाँ लिन पाउने आकर्षक सुविधा हो । घरजग्गा सापटीसहित भत्ता वृद्धिसमेत जोड्दा राष्ट्र बैंकलाई एकैचोटि ५ अर्ब रुपैयाँबराबरको व्ययभार पर्नेछ ।
केन्द्रीय बैंकका कर्मचारीआबद्ध तीनवटा युनियनसँग छलफल गरेपछि बैंक सञ्चालक सदस्य रामजी रेग्मी संयोजक रहेको समितिले उक्त बम्पर प्याकेज सुविधा कार्यान्वयनका लागि मंगलबार सञ्चालक समितिमा सिफारिस गरेको छ । यो समितिले गत पुस दोस्रो सातादेखि सुविधा वृद्धिबारे छलफल गर्दै आएको थियो ।

सञ्चालक समितिले रेग्मीको संयोजकत्वमा गठन गरेको उक्त समितिमा दुई डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायणप्रसाद पौडेल तथा जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक उपेन्द्रकुमार पौडेल सदस्य छन् । समितिको मंगलबार बसेको १०औं बैठकले यस्तो सिफारिस गरेको हो ।नेपाली कांग्रेस कोटाबाट राष्ट्र बैंक सञ्चालक सदस्य नियुक्त रेग्मी बैंककै पूर्वकार्यकारी निर्देशक हुन् । सुविधा वृद्धि सिफारिस गरेलगत्तै मंगलबार राति रेग्मी दुई साताका लागि अस्ट्रेलिया उडेका छन् भने डेपुटी गभर्नर शिवाकोटी दक्षिण कोरिया गएका छन् ।

‘सञ्चालक समिति सदस्य रामजी रेग्मीको समितिले कर्मचारीलाई बम्पर आर्थिक प्याकेज सुविधा सिफारिस गरेको छ,’ राष्ट्र बैंक उच्च स्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘समितिले आगामी वर्ष वैशाखबाट उक्त प्याकेज लागू गर्न सिफारिस गरेको छ ।’स्रोतका अनुसार यो बम्बर आर्थिक प्याकेज सिफारिसमा सञ्चालक समितिका सबै सदस्यको ‘सहमति’ रहेको छ । सञ्चालक सदस्यहरूले कतिसम्म बठ्याइँ गरेका छन् भने सबै कर्मचारीलाई भारी प्याकेज दिने र सोहीबराबरको गाडी सुविधा आफूहरूले पनि पाउने तयारी गरिरहेका छन् ।

‘मुलुकको वित्तीय क्षेत्र सुधार्ने जिम्मेवारी बोकेको र बैंक तथा वित्तीय क्षेत्रको एकमात्र नियामक निकाय राष्ट्र बैंकले चालेको यो कदमबाट अर्थतन्त्रमा अस्वाभाविक सन्देश जाने छ,’ स्रोतले भन्यो, ‘न अहिले सरकारले तलबभत्ता बढाएको छ, न यो कुनै सुविधा बढाउने समय हो । त्यसकारण बम्पर आर्थिक प्याकेज तयारीबाट बैंकिङ क्षेत्रलाई थप गतिहीन बनाउने निश्चित छ ।’

स्रोतका अनुसार घरजग्गा सापटी रकम पाउने रकमको बिमा गर्नुपर्ने हुन्छ । यस्तो बिमावापतको प्रिमियम राष्ट्र बैंकले अग्रिम चुक्ता गरिदिने छ भने कर्मचारीले महिनैपिच्छे प्रिमियम तिर्नुपर्ने छ भने सापटी रकम भने जागीर अवधिभर तलबबाट कट्टा हुँदै जाने छ ।‘नाममात्र घरजग्गा सापटी रकम हो, किन्नैपर्छ भन्ने छैन,’ स्रोतले भन्यो, ‘कुनै एक वाणिज्य बैंकमा मुद्दति खातामा उक्त रकम राख्यो भने पनि औसत १० प्रतिशत वार्षिक ब्याज आउँछ । त्यही ब्याजले प्रिमियम तिर्न पुग्नेमात्र होइन उल्टै नाफासमेत हुन्छ ।’

सम्बघ स्रोतका अनुसार राष्ट्र बैंकले कर्मचारीलाई बम्पर आर्थिक प्याकेज दिने तयारी गरिरहेको सूचना अर्थ मन्त्रालयसम्म पुगेपछि अर्थले केही दिनअघि ‘वर्तमान अवस्थामा कर्मचारीको सेवा–सुविधा वृद्धि नगर्न÷नगराउन’ पत्र पठाएको थियो । तर, केन्द्रीय बैंकले त्यसलाई ठाडै बेवास्ता गरेको छ । अर्थको पत्रलाई बैंक सञ्चालक समितिदेखि कर्मचारी युनियनसम्मले ‘गुपचुप’ राखेका छन् ।अर्थ मन्त्रालयका एक उच्च अधिकारीले राष्ट्र बैंकजस्तो नियामक निकायले यसखालको सिफारिस गर्दा वित्तीय क्षेत्रमा नकारात्मक सन्देश जाने बताए । ‘त्यसमाथि सञ्चालक समितिले अनुमोदन नै गरिदियो भने अर्थतन्त्रमा कस्तो असर पर्ला ? एकैपटक ५ अर्ब रुपैयाँ बजारमा गयो भने त्यसले पनि समस्या नै पार्ने छ ।’

राष्ट्र बैंक कर्मचारीले खाइपाई आएको केन्द्रीय बैंक भत्ता, टेलिफोन सुविधा, इन्टरनेट सुविधा, पत्रपत्रिका सुविधा, खाजा, पोशाक, वार्षिक हिसाब मिलान, अर्धवार्षिक हिसाब मिलान, बैंकको वार्षिकोत्सव, दसैं पेस्की, स्वदेश तथा विदेशको दैनिक भ्रमण भत्ता सबैमा साढे १८ प्रतिशत वृद्धि गर्न रेग्मीको समितिले सिफारिस गरेको हो । ‘किरिया खर्च वापत पाइरहेको १५ हजार रुपैयाँलाई सतप्रतिशत वृद्धि गरी ३० हजार पुर्याउन पनि समितिले सिफारिस गरेको छ,’ स्रोतले भन्यो, ‘कर्मचारीले भत्तावापत महिनामा औसत २५ हजार रुपैयाँ पाइरहेका छन् ।’

कर्मचारीलाई बम्पर आर्थिक प्याकेज सिफारिस गरेको समितिका सदस्य तथा राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले कर्मचारी आबद्ध तीनवटा युनियनले लामो समयदेखि राखेको मागमा सहमति गरिएको तर त्यसखालको सुविधा वृद्धि नभएको जानकारी दिए ।

‘सहमति वा सिफारिस जे भए पनि अन्तिम निर्णय सञ्चालक समितिले गर्छ, यसमा काँटछाँट भइहाल्छ,’ पौडेलले बिहीबार नागरिकसँग भने, ‘केही सुविधामा कार्यविधि बनाएर कार्यान्वयन गर्ने भन्ने छ ।’
अर्थले पठाएको पत्रबारे पौडेलले ‘नयाँ भत्ता उपलब्ध नगराउनू’ भन्ने परिपत्र आएको बताए । यस्तो पत्र सबै सार्वजनिक संस्थानमा गएको उनको भनाइ छ । ‘कर्मचारीको सेवा सुविधा वृद्धि हाम्रै सञ्चालक समितिका एकल निर्णयबाट हुन्छ,’ उनले भने, ‘अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्दैन ।’

निजी क्षेत्रका बैंकलाई विभिन्न नियम लगाएर ‘कस्ने’ केन्द्रीय बैंकले आफ्ना उच्च अधिकारीलाई पर्याप्त सुविधा भने दिएको छ । सम्बद्ध स्रोतका अनुसार गभर्नर चीरञ्जीवी नेपाललाई ८० लाख रुपैयाँ मूल्य पर्ने र डेपुटी गभर्नरहरू शिवाकोटी र श्रेष्ठलाई ६० लाख रुपैयाँ मूल्य पर्ने दुई–दुई थान महँगा गाडी दिइएको छ । उनीहरूले एक–एक थान घरमा राखेका छन् भने बाँकी कार्यालय प्रयोजनमा प्रयोग गरिरहेका छन् ।

कार्यकाल सकिएपछि राष्ट्र बैंकले तीनैजनालाई घरमा दिएको गाडी उनीहरूकै नाममा दिने छ ।राष्ट्र बैंक सञ्चालक समिति सात सदस्यीय हुन्छ । अध्यक्षमा गभर्नर नेपाल तथा सदस्यमा डेपुटी गभर्नर शिवाकोटी, अर्को डेपुटी गभर्नर श्रेष्ठ र अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी एवं वाह्य क्षेत्रबाट त्रिभुवन विश्वविद्यालयका प्राध्यापक श्रीराम पौडेल, राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक रामजी रेग्मी र चार्टर्ड एकाउन्टेन्ट बालकृष्णमान सिंह छन् ।

प्रकाशित: २४ माघ २०७४ ०२:२४ बुधबार

राष्ट्र बैंकमा कर्मचारीलाई अर्बको बम्पर प्याकेज