अर्थ

सहकारीपीडित प्रहरी सम्पर्कमा

सहकारी संस्थाले बचत रकम हिनामिना गरिदिएको र आफुहरू ठगिएको भन्दै बाँकेका पीडितहरू धमाधम प्रहरी सम्पर्कमा आउन थालेका छन्। सहकारीका सञ्चालक तथा कर्मचारीलाई कानुनी कारबाही र आफरूहरूको रकम फिर्ता गरिनुपर्ने पीडितको माग छ।  

बाँकेमा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरेका दुईवटा सहकारी संस्थाविरुद्ध कानुनी कारबाही र बचत रकम फिर्ता गरिदिनुपर्ने मागसहित बचतकर्ताहरू सम्पर्कमा आएको बाँके प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीले गितेन्द्र बाबु राई समूहको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड र केदारनाथ शर्मा नेतृत्वको शिव शिखर कृषि सहकारी संस्था लिमिटेडविरुद्ध धमाधम जाहेरी दरखास्त प्राप्त भइरहेको बताए।  

उनका अनुसार राईको समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले अहिलेसम्म जाहेरी दिइसकेका छन्। उक्त सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीले ठगी गरेको भन्ने ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानका लागि ती जाहेरी दरखास्तहरू आएको डिएसपी डाँगीले बताए। उक्त सहकारी संस्थामा जम्मा भएको बचतकर्ताको रकम ठगी गरेको भन्ने ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानका लागि हालसम्म ३२ जनाको जाहेरी दरखास्त प्राप्त हुन आएको उनले जनाए।  

यस्तै शिव शिखर कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष शर्मा समेत भएको उक्त सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको रकम संस्थाका सञ्चालक तथा कर्मचारीले ठगी गरेको भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।  

उक्त ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानका शिलशिलामा हालसम्म ३ हजार ४ सय २९ जाहेरी दरखास्त प्राप्त हुन आएको डिएसपी डाँगीले जानकारी दिए। ‘दुवै सहकारी संस्थाबाट ठगिएर जाहेरी दरखास्त दिन छुट्नु हुने अन्य बचतकर्ता सम्पूर्णमा उक्त संस्थामा रकम जम्मा गरेको प्रमाण कागजातसहित कार्यालयमा जाहेरी दरखास्त पेस गर्न हामीले अनुरोध गरेका छौं,’ उनले भने।

बाँकेमा एकपछि अर्को सहकारी संस्थाले बचतकर्ताका रकम अपचलन तथा ठगी गर्न थालेपछि बचतकर्ताहरू चिन्तामा छन्। यसले गर्दा जिल्लामा कारोबार गरिरहेका अन्य सहकारी संस्थाप्रतिको विश्वास सर्वसाधारणबाट क्रमशः गुम्दै गइरहेको छ। सहकारी संस्थालाई सरकारी स्तरबाट नियमन र कारबाही नहुँदा बचतकर्ताहरू ठगिने क्रम बढेको सर्वसाधारणको बुझाइ छ। 

प्रकाशित: १४ पुस २०८० ०३:२६ शनिबार

सहकारी