अर्थ

प्रदुषण बढेको भन्दै सिमेन्ट उद्योग बन्द गर्न माग

निगाले सिमेन्टमा आन्दोलनकारी । तस्बिर : नागरिक

धनकुटा – धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवा बजारमा सञ्चालित निगाले सिमेन्ट उद्योग बन्द गर्न माग गर्दै आन्दोलन सुरु भएको छ। स्थानीयबासीले निगाले सिमेन्ट उद्योगको गेटमा तालाबन्दी समेत गरेका छन्। आन्दोलनको कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्योगको सुरक्षा दिइरहेका छन्।

स्थानीयको विरोधका बीच सञ्चालनमा आएको सिमेन्ट उद्योगले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्न थालेको, खानेपानी प्रदुषण भएको, बाली विगार्न थालेको र पशुपन्छी विरामी हुन थालेका भन्दै उद्योग बन्द गर्न आन्दोलनमा उत्रेको स्थानीय भिष्म गुरुङले बताए।

सिमेन्ट उद्योगबाट निस्केको धुलोको असरले स्थानीय चियापत्ती टिप्न छाडेका छन्। टिपेपनि धुलैधुलो भएको हरियो पत्ति किन्दैनन्। भीष्म गुरुङको चियाबगानमा हरियो पत्ति नटिपेको ५ बर्ष भयो। सिमेन्ट उद्योगको प्रयोग भएको केमिकल मिसिएको पानीको प्रयोग गर्दा अलैची बगान मरेको छ। गाईबस्तु विरामी भएको गुरुङले बताए।

तरकारी उत्पादनको पकेट क्षेत्र सिधुवा आसपासका गाउँमा रायो साग, काउली र बन्दामा सिमेन्टको धुलो पत्रैपत्र भएर बस्छ। त्यसैले हाम्रो तरकारी बजारमा विक्न छाड्यो। विक्न छाडे पछि रायो साग र काउली रोप्नै छाड्यौं। अब बन्दा पनि विक्न छाडेको र किसानको उठिबास हुने अबस्था आएको अर्का किसान भुपालसिं थापाले बताए। सिमेन्ट उद्योगबाट निस्केको गन्धले गाउँका मान्छेको टाउको दुख्ने, बमित हुने गर्छ। सन्चो भएको मान्छे विरामी भएर अस्पताल हिड्नु परेको छ। त्यसैले सिमेन्ट उद्योग बन्द गराउन आन्दोलन सुरु गरेको थापाले बताए।

त्यस्तै घाँस र विरुवाको पातमा सिमेन्टको धुलो टाँसिएपछि गाई बस्तुले स्थानीय घाँस खान छाडेका छन्। पालेको गाईभैसीमा गर्भधान हुन छाडेको छ। गर्भधान भएपनि तुहिने गरेको नाम्जाङका किसान भद्रसिं थापाले बताए।

यो उद्योग आसपास रहेको नामजाङ, सल्ले, जोरपाटी, सिधुवाबजार, चपरीचौक लगायतका गाउँका बासिन्दालाई प्रत्यक्ष असर गरेको छ।  यो उद्यागको धुलोधुवाले लक्ष्मी माध्यमिक विद्यालय हात्तिखर्क, सरस्वती माध्यमिक विद्यालय परेवादिन, सगरमाथा बोर्डिङ, सरस्वती निम्न माध्यमिक विद्यालय मझुवा र श्री प्रा.वि नाम्जाङमा अध्ययन गर्ने विद्यार्थीलाई प्रत्यक्ष असर गरेको छ। यसका साथै स्थानीयबासीलाई स्वासप्रश्वासको रोग समेत देखिन थालेको सिधुवाबजारका दिवस खड्काले बताए।

त्यस्तै स्थानीय धोत्रे खोला, जम्ले खोला, बौलाह खोला, काली खोला र सिगाने खोलाको मुहान समेत दुषित भएको छ। सिमेन्ट उद्योगले पारेको समस्याको विषयमा स्थानीयबासीले सर्वोच्च अदालतमा मुद्दा समेत दर्ता गरेका थिए। उक्त मुद्दामा सर्वोच्च अदालतले २०७२ चैत्र २ गते गरेको फैसाला अनुसार यो उद्योगले मानव स्वास्थ्यमा असर पुगेको ठहर गर्दै तत्काल धुलोधुवा रहित बनाउनुपर्ने र आवश्यक परे उद्योगलाई अन्यत्र सार्नको लागि आदेश समेत दिएको थियो। अदालतको आदेशलाई समेत वेवास्ता गर्दै अहिलेसम्म धुलोधुवा रहित नबनाएको गुनासो स्थानीयबासीको छ। यसबाहेक स्थानीयले प्रधानमन्त्रीको कार्यालय, जनसंख्या तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनकुटामा समेत उजुरी दिएको थियो। तर स्थानीयबासीको मागको कुनै सुनुवाई भएको छैन।

निगाले सिमेन्ट उद्योग परेको असरको विषयमा छलफल गर्न गएका स्थानीयबासीले माघ १३ शनिबार ढुंगामुढा गरेका थिए। उनीहरुले उद्योगका प्रवन्धक निर्देशक दिनेश पौडेललाई हातपात समेत गरेका छन्। यही विषयमा सिधुवाबजारका ईन्द्र घिमिरे र भक्तबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई विनाशर्त रिहा गर्न स्थानीयले माग गरेका छन्।

प्रकाशित: १९ माघ २०७४ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App